सरकारले ढाकाको उद्गमस्थल तेह्रथुमलाई ढाकाको राजधानी घोषणा गरेको छ। नेपाली ढाकाको प्रवर्द्धनका लागि तेह्रथुमलाई ढाकाको राजधानी घोषणा गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव विमल प्रसाद बरालले जानकारी दिए।
नेपाली ढाका प्रवर्द्धन गर्न दीर्घकालीन योजना बनाएर अघि बढ्न लागेको उनको भनाइ छ। राजधानी घोषणा ढाका भएपछि प्रवर्द्धनमा तिनै तहका राज्यको चासो बढ्ने उनको भनाइ छ।
अहिले मन्त्रालयले ढाका उत्पादनका समस्याबारे क्षेत्रगत अध्ययन गरिरको छ। ढाकाको उत्पादन वृद्धि, बजारीकरण र प्याकेजिङमा सघाउन पुर्याउने सरकारको योजना छ।
नेपाली ढाका कपडा विदेशमा चिनाउन सहयोग पुर्याउन ट्रेडमार्क समेत लिइने योजना छ।
ढाका कपडाको अहिलेसम्म टेर्डमार्क छैन। यसमा कसैले पेटेन्ट पनि लिएका छैनन्। अब सरकारले नै ट्रेडमार्कका लागि सहयोग गरिदिने भएको हो।
हालसम्म ढाका कपडा उत्पादनमा परम्परागत सीप शैली डिजाइन प्याटर्नको मात्र प्रयोग भइरहेकोमा अहिले आएर यसका उत्पादनहरूमा बजारको माग तथा बदलिँदो परिवेश अनुसार उत्पादन विविधिकरण कार्यको थालनी भएको छ।
ढाका कपडा परापूर्वकालदेखि चलिआएको परम्परागत उद्योग व्यवसायहरू मध्ये नेपालको एक मौलिक उत्पादन हो। थोरै पुँजी, परम्परागत प्रविधि र स्थानीय जनशक्तिमा आधारित ढाका उद्योग व्यवसाय जुनसुकै स्थानमा पनि सजिलैसँग संचालन गर्न सकिन्छ।
ढाका उत्पादनमा सबैभन्दा बढी महिला सहभागी रहेको नेपाल ह्याण्डुलम तथा ढाका कपडा उद्योगी व्यवसायी संघले जानकारी दिए।
संघकाअनुसार देशभर १५ देखि २० हजार हाते तान छन्। त्यसले ५० हजारलाई रोजगारी दिएको छ भने अधिकांशमा महिलाले स्वामित्व लिएका छन्। अहिले झापा, मोरङ, तेह्रथुम र पाल्पामा बढी ढाका उत्पादन हुन्छ।
त्यसबाहेक, ताप्लेजुङ, पाँचथर, धनकुटा, झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, भोजपुर, रामेछाप, सिन्धुली, बुटवल, काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा, नुवाकोट, धादिङ, हेटौंडा, पोखरा, बाग्लुङ, म्याग्दी, सुर्खेत, सोलुखुम्बु, गुल्मीमा उत्पादन हुने गरेको छ।
ढाका नेपाली बजारमा खपत हुनुका साथै बाहिरी देशमा पनि निर्यात हुन्छ। अमेरिका, जापान, जर्मनी, क्यानडा, स्वीजरल्याण्ड, नेदरल्याण्ड लगायतका नेपाली बस्ने देशहरूमा ढाकाका उत्पादन निर्यात हुने संघले जानकारी दिएको छ।