क्लबहरूका थुप्रै आकर्षणमध्ये साउन्ड सिस्टम र लाइटिङ मुख्य हुन्। विभिन्न ब्यान्डका प्रस्तुतिले क्लब जानेहरूको उत्साह बढाउँछ। त्यसमा थप शोभा र जोस भर्छ, लाइटिङले। अर्थात् त्यहाँ हुने झिलीमिली बत्तीहरूले।
यी बत्तीहरू यसै बालिँदैनन्। कुन बत्ती कुन ठाउँमा, समयमा, कतिबेर र कुन शैलीमा बाल्ने भनेर निधो गरिएको हुन्छ। यो काम एक किसिमको डिजाइनिङ हो। त्यसैले यो काम गर्नेलाई भनिन्छ लाइट-डिजाइनर।
यस्तै लाइट-डिजाइनर हुन् २७ वर्षीय अर्पण घिमिरे। उनी काठमाडौंको चर्चितमध्येको क्लब लर्ड अफ द ड्रिंक्स (एलओडी) मा काम गर्छन्। ब्यान्डले गाउने गीतअनुसार, मानिसहरूको भीडअनुसार र क्लबको माहोलअनुसार रंगीचंगी बत्तीसँग खेल्छन् उनी। उनको कलाले क्लबमा पुग्नेहरूलाई नाच्न र रमाउन हौस्याउँछ।
'हामी पर्दापछाडि काम गर्नेहरू हौं,' अर्पण आफ्नो कामबारे भन्छन्, 'क्लबको माहोल रोमान्टिक, ऊर्जावान्, उदास, खुसी कस्तो बनाउने हो, क्लबमा बज्ने गीतसँगै त्यसमा हाम्रो उत्तिकै भूमिका हुन्छ।'
अर्पणले एलओडीको स्थापनाकालदेखि नै यहाँ लाइट-डिजाइनर भएर काम गरेका हुन्। सन् २०१८ बाट सञ्चालनमा आएको एलओडी हालै विश्वकै उत्कृष्ट क्लबको ५२ औं स्थानमा परेको छ।
क्लबमा बत्तीमा काम गर्ने अर्पणसँगै अरू चार जना छन्। उनी यो टिमका प्रमुख हुन्। उनीहरूले स्टेज उज्यालो बनाउनेदेखि पाहुना छिर्दा शान्त माहोल बनाउनेसम्म गरी दुई सयभन्दा बढी प्रकारका बत्ती चलाउँछन्। उनीहरूको कलाले क्लब झिलीमिली हुन्छ।
'लाइट हुँदैन थियो भने क्लबको महत्व कम हुन्थ्यो होला,' अर्पण भन्छन्, 'लाइटिङ, साउन्ड सिस्टम सबै हेर्नकै लागि पनि क्लबमा स्वदेशी र विदेशी पाहुनाहरू आउनुहुन्छ।'
अर्पण सुनसरीका हुन्। यो काममा आउनुका पछाडि उनको बाल्यकालदेखिको रहर जोडिएको छ।
उनलाई सानैदेखि झिलीमिली बत्ती मनपर्थ्यो। ती बलेका देख्दा मोहित हुन्थे। कक्षा सातमा पढ्दा नै गाउँमा सामान्य बिजुलीबत्तीको जडानमा काममा लागेका थिए। उनको गाउँका एक जना दाइ भारत, मुम्बईका क्लबमा लाइटिङको काम गर्थे। त्यो थाहा पाएर उनलाई पनि भविष्यमा बत्तीमै काम गर्ने रहर पलायो।
सन् २०११ तिरको कुरा हो, अर्पण एसएलसी सकेर बसेका थिए। एकदिन तिनै दाइले सामाजिक सञ्जालमा क्लबको झिलीमिलीको भिडिओ हाले। भिडिओ हेरेपछि त अर्पणले आफूलाई थाम्नै सकेनन्। बत्तीको उज्यालोमा तानिएका उनलाई त्यो झिलीमिली संसारमा घुल्ने हुटहुटी भयो।
'दाइहरूले मुम्बईमा बसेर खतरा ठाउँमा काम गर्नुहुने रहेछ भन्ने भयो। कलाकारहरूसँग पनि भेट हुँदो रहेछ। म पनि यस्तो काम गर्न पाए त भन्ने लागिरहन्थ्यो,' उनी उत्साहित हुँदै भन्छन्, 'त्यो देखेर दाइलाई म पनि त्यस्तै काम गर्छु नि भन्दै म्यासेज गरेँ। प्रतिक्रिया पनि राम्रो पाएँ।'
त्यसपछि उनले मुम्बई जाने सोचे। तर कसरी जाने? खल्तीमा पैसा थिएन। तिहारको बेला थियो। देउसी खेलेर जम्मा भएको चार हजार रूपैयाँ उनले सापटी लिए। घरमा सल्लाह गरेर उनी भारततिर लागे।
जानु जति सहज भयो, त्यहाँ आफूले भनेको काम पाउन उत्तिकै मुश्किल। सुरूमा गर्जो टार्न उनले होटलमा वेटरको काम गरे। बत्ती र झिलीमिलीमा रमाउँदै काम सिक्ने रनाह छँदै थियो। आठ महिना होटलमा काम गरेपछि उनी मुम्बईको करजतस्थित एक स्टुडियो पुगे। स्टुडियोमा लाइटिङको काम हुन्थ्यो।
स्टुडियो प्रवेशपछि उनी निकै उत्साहित भएको सुनाउँछन्।
'नेपाल हुँदा जे देखेको थिएँ, सोचेको थिएँ, बल्ल पूरा हुने भयो भन्ने अनुभूति हुन थाल्यो,' उनी भन्छन्, 'त्यहाँ मैले एक सिरियलमा काम गर्ने अवसर पाएँ।'
लाइटिङका विषयमा बुझ्ने र लाइट-डिजाइनर बन्ने उनको यात्रा यहीँबाट सुरू भयो। काम उनले सोचेजस्तो सजिलो भिएन। निखारिएका अनुभवीहरू हुन्थे। सँगै काम गर्नेले पनि सिकाउन झर्को मान्थे। अर्पण भने रातभर नसुतिकन बसेर हेर्थे। कहिलेकाहीँ त उनलाई दिक्क पनि लाग्थ्यो। रातभर सुत्न नपाइने, दिनभर पनि काममै हिँड्नुपर्ने। उनी हार नमानी अवसर पर्खेर बसे।
'उनीहरू मलाई प्रतिस्पर्धीका रूपमा हेर्थे। त्यसैले पनि सिकाउन चाहन्थेनन् होला,' ती दिन सम्झिँदै उनले भने, 'उनीहरूले नसिकाए पनि म स्टुडियोमा प्रत्यक्ष हेर्थेँ अनि इन्टरनेटमा खोज्दै सिक्थेँ।'
त्यहाँका लाइट-डिजाइनरसँगै अर्पण सुटिङमा जान्थे। रंगीन बत्ती थिएन। सादा बत्तीमा काम सिक्दै गए। दुइटा सुटिङमा काम गरे। अनि अवसर खोज्दै स्टार-लाइट नामक स्टुडियो पुगे।
'जे खोजिरहेको थिएँ, स्टार-लाइट पुगेर भेटेँ,' उनी सुनाउँछन्, 'सुरूमा लाइट छुट्याउनै गाह्रो भयो। कुन लाइटको लागि कहाँ के गर्ने, कसरी चिन्ने भनेर बुझ्नै तीन महिना लाग्यो।'
उनले स-साना कुरा सिक्दै गए। टिममै सुटिङमा हिँड्थे। कामका सिलसिलामा भारतका विभिन्न ठाउँ पनि पुगे।
सामान्य काम चल्दै थियो। उनलाई आफ्नो पढाइ भने छुटेको महसुस भयो। सँगै काम गर्नेहरू पढेलेखेका थिए। त्यसपछि उनी पनि पढ्न भनेर सुनसरी फर्किए। दुई वर्ष पढेर फेरि मुम्बई पुगे। लाइटिङको सामान्य ज्ञान लिइसकेका अर्पण त्यसपछि भने मुम्बईकै ठूलो र चर्चितमध्येको 'प्लानेट' नामको कम्पनी पुगे। यहाँ उनले लाइटिङ, साउन्ड र स्क्रिन प्रडकस्नको काम गरे।
'त्योभन्दा अघिसम्म जहाँ काम गरे त्यो कार्यक्रम, गीतका लागि मात्र थियो,' उनले भने, 'क्लबमै पुग्ने मेरो सपना बल्ल पूरा भयो।'
विभिन्न हिन्दी सिरियल, फिल्म, गीत, रियालिटी शो, नाटक, अवार्ड कार्यक्रमहरूमा काम गरे। विस्तारै उनको क्षमता बढ्दै गयो। त्यसपछि उनी दृश्यले मागेअनुसार काम गर्न सक्ने भए।
'कतै दुःख परेको, कतै घर आगो लागिरहेको हुन्छ। त्यस्तो बेला लाइटले दृश्य कसरी देखाउने भन्नेबारे एकदम चुनौती हुन्छ,' अर्पण भन्छन्, 'ती सबै कुरा मैले त्यहाँ सिक्न पाएँ।'
अर्पण कन्सर्ट पनि चलाउन थाले। लाइटिङका हरेक पाटा बुझ्न थाले। यसरी भारतका विभिन्न ठाउँमा उनले ६ वर्षभन्दा बढी समय काम गरे। अनुभव बटुल्दै गएपछि उनलाई अरू देशका ठाउँ गएर यो काम गर्न मन लाग्यो। थप सिक्न र पैसा कमाउन युएइ जाने सोचेर नेपाल फर्के।
सन् २०१६ मा उनी पहिलो पटक सुनसरीबाट काठमाडौं आए। विदेश जाने सोचले काठमाडौं आए पनि विभिन्न कारणवश् अड्किए। केही दिन घुमघाम गरे।
'केही कुरा चित्त नबुझेर विदेश जान मन लागेन। त्यसपछि अनुभव छ, यतै काम पाइला भन्ने सोचेँ,' उनले भने, 'तर म काठमाडौंमा नयाँ थिएँ, कहाँ के छ भन्ने केही थाहा थिएन।'
घर फर्किनुभन्दा आफ्नो सीप सदुपयोग गर्ने ठाउँ बुझ्दै हिँडे। यही क्रममा डल्लुस्थित 'एक्सएल साउन्ड एन्ड लाइट' कम्पनीको सम्पर्कमा पुगे।
'त्यहाँ जाँदा मलाई एक जनाले एलओडी क्लबको डिजाइन देखाउनुभयो। अनि भारतमा काम गरेको मान्छे रहेछौ, यहाँ पनि ठूलो सम्भावना छ, काम गर्छौ भनेर सोध्नुभयो,' अर्पणले सम्झिए।
अर्पणले खोजेकै यही थियो। लगत्तै एलओडी हेर्न पुगे। क्लब भर्खर बन्दै थियो। तयार नहुन्जेलसम्म उनी सोही कम्पनीमा स्टेज कार्यक्रमका लागि जोडिए। सन् २०१८ मा एलओडी खुल्यो। सँगै अर्पणको क्लबमा काम गर्ने रहरको बाटो पनि खुला भयो।
सुरूदेखि नै यहाँ काम गरिरहेका अर्पण अहिले लाइट-डिजाइनिङमा पोख्त भइसके। चार जनाको समूहमा काम गर्छन्। कुनै समस्या आएमा आफैं समाधान गर्छन्।
'कहिलेकाहीँ एउटा बत्ती बाल्न खोज्दा अर्कै रङको बलिदिन्छ, सफ्टवेयरले काम गर्दैन। तर समस्या आफैं सल्टाउँछौं,' अर्पण भन्छन्, 'अहिलेलाई लाइटहरूको डाक्टर पनि, इञ्जिनियर पनि हामी नै।'
लैनचौर बस्ने अर्पणको काम राती दस बजेबाट सुरू हुन्छ। रातभर क्लब झलमल्ल पारेर बिहान ४ बजे डेरा फर्किन्छन्। दिउँसो फुर्सद हुँदा विभिन्न कम्पनीले गर्ने कार्यक्रममा पनि जान्छन्।
'कुनै कम्पनीले बजारमा केही नयाँ कुरा ल्याउँदैछ भने समय मिलाएर लाइटिङको काम गर्न पुग्छु,' उनी भन्छन्।
अर्पणलाई काठमाडौं र बाहिरका ठाउँबाट कामको प्रस्ताव आइरहेको छ। उनी एलओडीमै रमाइरहेको बताउँछन्।
'मेरो प्रोफाइल नै एलओडी क्लब हो। आज हामी सबैको कारण विश्वमा चिनिएको छ,' उनले भने। विश्वभरका क्लबमध्ये आफूले काम गरिरहेको क्लबले ५२ नम्बरमा स्थान पाउँदा उनी खुसी छन्।
उनले थपे, 'नेपाल भ्रमणका लागि आउने प्रायः अधिकांश पर्यटकको रोजाइमा एलओडी परेको छ। पर्यटकहरू एलओडी कस्तो रहेछ भनेर हेर्नै भए पनि आउँछन्। त्यो बेलाको माहोल शब्दमा भन्नै सकिँदैन।'
नेपालमा अनुभवी लाइट-डिजाइनर भए पनि ठूला प्रोजेक्टहरूले अझै पनि विदेशी डिजाइनर लिइरहेको उनले बताए। जसकारण युवाहरूले स्थान पाउन नसकेको उनको गुनासो छ।
'उनीहरू र हामीले गर्ने काम एउटै हो। किन विदेशीलाई बोलाउने? नेपालमै काम मान्छे प्रशस्त छन् भने स्वदेशी रकम किन बाहिर पठाउने?' उनी भन्छन्।
एक दशकदेखि लाइटिङको काम गरिरहेका अर्पणलाई यससम्बन्धी थप सिक्न विदेश जाने इच्छा छ। विभिन्न ठाउँ पुगेर अझै धेरै सिक्ने र त्यसको प्रयोग स्वदेशमा गर्ने उनको सोच हो।