नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले महिलाका लागि आर्थिक सशक्तिकरण कार्यक्रम सुरू गरेको छ।
उद्यमशीलता विकास र रोजगारी सिर्जनामार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन महिला चेम्बरले विभिन्न क्षेत्रमा तालिम आयोजना गरेको हो। कमर्शले पाककला, सौन्दर्य कला, फोटोग्राफी, क्यान्डल क्राफ्टिङ, फेब्रिक पेन्टिङ लगायतका विभिन्न ६ वटा विधामा महिलालाई तालिम छ।
तालिमको उद्घाटन गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले उद्यमशीलताको विकास मार्फत महिलाको आर्थिक सहभागिता वृद्धि गर्नुपर्ने बताए।
नेपाल चेम्बर अफ कमर्सले महिलाको सशक्तिकरणको मुद्धालाई उच्च प्राथमिकतामा राखेको उनको भनाइ छ। पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा घरमै बसेर आम्दानीका लागि थुप्रै विकल्पहरू सुरू भइसकेको भन्दै अध्यक्ष मल्ललले त्यसको लाभ लिन पनि महिलाहरूलाई आग्रह गरे।
महिलाहरूद्वारा उत्पादित वस्तुहरूको बजारीकरणका लागि चेम्बरले सहयोग गर्ने उनको भनाइ छ।
'महिला दिदीबहिनीहरूले उत्पादन गरेका वस्तुहरू उत्पादनस्थलदेखि बजारीकरणसम्ममा नेपाल चेम्बर अफ कमर्सले सघाउँछ। कृषिजन्य वस्तुहरूको प्रसोधनका लागि पनि तालिम आवश्यक छ। यसका लागि चेम्बरले सहयोग गर्छ,’ उनले भने
चेम्बरकी उपाध्यक्ष तथा महिला चेम्बरकी सभापति उर्मिला श्रेष्ठले महिलाहरूको आर्थिक सुरक्षाका लागि तालिम सञ्चालन गरेको बताइन्। व्यापार र रोजगारी सिर्जना गर्न तालिम महत्वपूर्ण हुने उनको भनाइ छ।
कार्यक्रममा महिला चेम्बरकी सचिव लिमा अधिकारीले महिलाहरूलाई कम्तिमा १५ दिनको तालिम दिइने जानकारी दिइन्। चेम्बरले महिलाको आर्थिक सशक्तिकरण गर्नका लागि विभिन्न सीप मुलक कार्यक्रमलाई निरन्तरता दिँदै जाने उनको भनाइ छ।