अनलाइन बजार दराजले आफ्नो पहिलो वार्षिक दराज समिट सम्मेलन सम्पन्न गरेको छ। यहि असार १९ गते याक एण्ड यति होटल काठमाडौंमा सम्मेलन सम्पन्न गरेको हो।
उक्त कार्यक्रममा विज्ञहरुसहित तीन फरक प्यानलहरु थिए।
प्रमुख वक्ता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र एमओसिआइटीका सचिव डा.वैकुण्ठ अर्याल थिए। विशेष अतिथि राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारी थिए।
दराजका प्रबन्ध निर्देशक आँचल कुँवरले दराजले ई-कमर्सको माध्यमबाट समुदायको उत्थान गरेर सांस्कृतिक प्रभाव पार्ने लक्ष्य राखेको बताइन्। उनले दराज परिवर्तनको एक सक्रिय च्यानल भएको बताइन्।
तीनवटा प्यानलले ‘नेपालमा परम्परागतकमर्सबाट ई-कमर्ससम्म’, ‘ब्लेन्डिङ अफ द मार्केट प्लेस एण्ड कमर्स फर डिजिटल इकोनमी’ र ‘अपलिफ्टिङ कम्युनिटी एण्ड द पावर अफ डिजिटल कमर्स इन नेपाल’विषयहरू समेटेका थिए।
दराजले चार वर्षदेखि नेपालमा सेवा प्रदान गर्दै आएको छ। यो अवधिमा लोकप्रिय हुन सफल भएको कम्पनीको दाबी छ। दराज नेपालमा १५,००० भन्दा बढी बिक्रेता जोडिएका छन्।
प्रतिमहिना १५ लाख सक्रिय एप प्रयोगकर्ताहरु रहेको कम्पनीले बताएको छ। दराजले नेपालका १०१ सहरमा डेलिभरी सेवा दिइरहेको छ।