‘जननी र जन्मभूमि स्वर्गभन्दा महान छन्’ भन्ने कथन चरितार्थ हुँदैछ ४१ वर्षीय भुवन खतिवडा जोशीको जीवनमा।
भुवन भारतको कर्नाटकमा जन्मे। नेपालको कैलाली जिल्लाबाट उनका बुबा कृष्णप्रसाद १६ वर्षको उमेरमा भारत पसेका थिए। त्यहाँ कृष्णप्रसादले चौकीदारी गरे। चौकीदारी गर्दागर्दै ‘सिमेन्ट कर्पोरेसन अफ इन्डिया लिमिटेड (सिसिआई) को कार्यालयको मेकानिक बने।
उतै दुई भाइ छोरा जन्मे चन्द्र र भुवन। बिदाको समयमा कृष्णप्रसाद आफ्ना परिवारजनलाई नेपालको कैलाली लगायतका ठाउँ घुमाउन ल्याउँथे। कैलालीमा आफन्तीहरू पनि थिए।
बाल्यकालको त्यो समय नेपालका पहाडी भूभाग देख्दा भुवनको मन खुसीले नाच्थ्यो तर कैलालीमै बस्न गरिबी बाधक थियो। केही ऐलानी पाखोबारीबाहेक कैलालीमा कृष्णप्रसादको जग्गाजमिन थिएन। परिवारसहित भारतमै बस्नु उनको बाध्यता थियो। आफ्नो गाउँठाउँ र देशको माया हुँदाहुँदै पनि दुई छोराको भविष्य सम्झेर उनी उतै बसे।
भारतमा अलिअलि गर्दै जम्मा गरेको पैसाले कृष्णप्रसादले करिब १८ वर्षअघि कैलालीको लम्कीचुहा नगरपालिकामा दुई बिघा जमिन किने। उनी जीवनको उत्तरार्द्ध शान्तिपूर्वक नेपालमै बिताउन चाहन्थे।
भुवनका अनुसार राजा वीरेन्द्रको वंश नास हुने गरी दरबार हत्याकाण्ड भएको समयमा पनि उनीहरू कैलाली आएका थिए। त्यो समय भुवनलाई आफ्नो देशको माटोले आकर्षण गर्यो। भुवन होटल व्यवस्थापनमा तीन वर्षको कोर्स पूरा गरेर एउटा होटलमा काम सिक्दै थिए। भुवन ‘अटोमोबाइल्स इन्जिनियरिङ मेकानिक’ पनि पढ्दै थिए। त्यही समय पैसा कमाउने उद्देश्यले उनका केही साथीहरू अस्ट्रेलिया गए। साथीहरू यसरी विकसित देशतिर हानिएपछि भुवनको मन बिथोलियो। पढाइमा ध्यान गएन।
भुवनले होटल व्यवसायमै कम गर्ने निश्चय गरे। यसै हाराहारी बर्दियाकी श्रद्धासँग बिहे भयो। अर्को वर्ष छोरी दीपा जन्मिन्।
श्रद्धालाई भारतमा बस्न मन भएन। उनी भुवनलाई आफ्नै देशमा केही काम गर्नु पर्छ भनेर प्रोत्साहित गर्थिन्। भुवन उता हैदराबादमा राम्ररी जमेका थिए। एकल लगानीमा एकपछि अर्को गर्दै तीन वटा रेस्टुरेन्ट चलाएका थिए। भुवन तीन वटै रेस्टुरेन्ट ‘गुरुङ टप चाइनिज’, ‘लेक भ्यु’ र ‘ड्रागण’ मा व्यस्त थिए।
यी तीन वटै रेस्टुरेन्ट भारतीय परिकार बिरयानीका लागि प्रख्यात थिए। भुवन आफू पनि बिरयानी बनाउँथे। हैदराबाद बिरयानीका लागि प्रख्यात छ। भुवनका अनुसार तीन वटा रेस्टुरेन्टबाट मासिक कम्तीमा पनि छ लाख भारतीय रुपैयाँसम्म नाफा हुन्थ्यो। पारिवारिक जीवन ठिकठाक चलेको थियो।
चार वर्षअघि भुवन र श्रद्धाका दोस्रो सन्तानका रूपमा छोरा आरोश जन्मिए, छोरी जन्मेको सत्र वर्षपछि।
आरोश जन्मँदै कमजोर स्वास्थ्यका थिए। श्वासप्रश्वासमा जटिल समस्या देखियो। हैदराबादको ‘रेन्बो चिल्ड्रेन हस्पिटल’ मा दुई वर्ष उपचार गराए, त्यहीँ राखेर। छोराको उपचारमा तीन करोड रुपैयाँ खर्च भएको भुवनले बताए।
लगत्तै कोरोना भाइरसको महामारी फैलियो। होटलका कर्मचारी धान्न र छोराको उपचार गराउन भुवन र श्रद्धालाई कठिन भयो। उनीहरू तीन वटै रेस्टुरेन्ट बेच्ने निर्णयमा पुगे।
अन्ततः उनीहरू आफ्नै देश फर्के।
‘अप्ठेरो स्थिति आएपछि मर्नु परे पनि आफ्नै देशमा मर्न पाइयोस् भन्ने भावना आउँदो रहेछ,’ भुवनले भने, ‘त्यतिखेरको कठिन परिस्थितिमा हामी फर्केर आफ्नै माटोमा आउन पाउँदा निकै खुसी भयौँ।’
कोरोना महामारी मत्थर हुँदै गयो। भुवनका दाजु चन्द्र हैदराबाद नै फर्के। उनी जागिरमा थिए। उनी भुवन पनि हैदराबाद फर्केर होटेल व्यवसायमै लागून् भन्ने चाहन्थे।
भुवन र श्रद्धाले भारत नजाने, नेपालमै व्यवसाय गर्ने निश्चय गरे। यसै अनुसार दुई वटा बैंकबाट ८२ लाख रुपैयाँ ऋण लिए। ढुवानीको काम गर्न चार वटा टिपर किने। काम सुरु भयो तर यसमा भुवनको मन रमाएन। एकपछि अर्को गर्दै चार वटै टिपर बेचे।
अन्ततः भुवन आफूले जानेको होटल व्यवसायमै फर्के। बिरयानीका पारखीका लागि नेपालगञ्जको सुर्खेत रोडमा रेस्टुरेन्ट खोले, नाम राखे ‘ताजकृष्ण रेस्टुरेन्ट’।
करिब ५० लाख रुपैयाँ लगानीमा रेस्टुरेन्ट सुरु भएको महिना दिनमात्रै भएको छ। महिना दिनको व्यापारले भुवन निकै उत्साहित छन्।
भारतको हैदराबादमा डेढ दशक होटेल व्यवसायमा बिताएका भुवन अहिले नेपालगञ्जमा आफैँ बिरयानी बनाउँदैछन्।
भुवनका अनुसार ‘ताजकृष्ण रेस्टुरेन्ट’ मा आउने ग्राहकले भारतको चर्चित ‘हैदराबादी दम’ बिरयानीको स्वाद पाउँछन्। उनी भन्छन्, ‘पश्चिम नेपालमा हाम्रोमा जस्तो बिरयानीको टेस्ट अन्त पाइँदैन जस्तो लाग्छ।’
ताजकृष्ण रेस्टुरेन्टमा नेपाली ‘थकाली खाना’ पनि पाइन्छ।
‘हैदराबादको दम बिरयानी र नेपाली थकाली खानाका पारखीहरू आउनुहुन्छ। रेस्टुरेन्ट भरिभराउ हुन थालेको छ,’ प्रशन्नताका साथ भुवन भन्छन्, ‘हाम्रोमा एक पटक विरयानी खाएपछि फेरि यही आउँनुहुन्छ।’
ग्राहकले जब यस्तो मिठो बिरयानी कहिल्यै खाएका थिएनौँ भनेर तारिफ गर्छन् भुवन मख्ख पर्छन्। उनका लागि व्यवसाय गरेर कमाउनु एउटा कुरा हो। त्योभन्दा ठूलो कुरा ग्राहकको सन्तुष्टि हो। सन्तुष्ट ग्राहक फेरिफेरि आइरहन्छन् भन्ने उनको अनुभव र विश्वास छ।
छोरा आरोश चार वर्षका भए। स्वास्थ्यमा उनको खतरा टरिसकेको छैन। भुवन भन्छन्, ‘छोरालाई जुन बेला पनि खतरा हुनसक्छ तैपनि हामीले अब देश छोडेर नजाने निश्चयका साथ नेपालगञ्जम रेस्टुरेन्ट सञ्चालन गरेका हौँ।’
व्यवसायमा सफलता पाउन र आफ्ने उद्देश्य पूरा गर्न मिहिनेत र धैर्य चाहिन्छ भन्ने कुरा भुवनलाई थाहा छ। उनी नेपालगञ्जमा यसै गरी अघि बढ्ने योजनामा छन्। उनलाई क्याटरिङ र कुकिङको राम्रो ज्ञान छ।
‘म यहाँका ग्राहकको स्वाद र रुचिसँग बिस्तारै परिचित हुँदै छु,’ उनले भने, ‘कामले काम सिकाउने हो, म एकपछि अर्को काम सिक्दै ग्राहकको चाहनाअनुसार अघि बढ्छु।’
जुन परिस्थितिमा भए पनि भुवनलाई आफूले जानेको काम आफ्नै देशमा गर्ने अवसर मिलेको छ। नेपालगञ्जजस्तो व्यापारिक सहरमा बिरयानीका पारखीको मन जित्न सक्छु भन्ने विश्वास पनि उनलाई छ।
‘सबैभन्दा ठूलो कुरा इमादारी हो। ग्राहकलाई दिने सेवा सधैँ स्पेसल हुनुपर्छ,’ भुवन भन्छन्, ‘अझ ठूलो कुरा त मलाई आफ्नो देशमा आफ्नै परीक्षण गर्न पाएको जस्तो अनुभूति भएको छ।’
पश्चिम नेपालको ठूलो सीमानाका र व्यापारिक सहर नेपालगञ्जको विशेषताबारे भुवन जानकार छन्। यहाँ भारतीय ग्राहकहरू पनि आउँछन्। नेपाली र भारतीय ग्राहकको मन जित्ने उनको अठोट छ।
भुवन भन्छन्, ‘काठमाडौं र अन्य सहरबाट नेपालगन्ज आउने पाहुनाले पनि फरक बिरयानीको स्वाद लिन पाऊन् भन्ने उद्देश्यले काम गरिरहेको छु।’
‘हैदराबादी दम’ बिरयानी बनाउने तरिका पनि फरक रहेको भुवनको भनाइ छ।
उनका अनुसार सामान्यतया बिरयानी बनाउँदा राइस र चिकेन करी अलग अलग पकाएर पुलाउजस्तै गरी मिलाइन्छ। हैदराबादी दम बिरयानी कुखुराको मासु विशेष प्रकारले तयार पारी त्यसलाई हन्डीमा राखेर हाफ ब्वाइल राइस मिलाएर बनाइन्छ।
ताजकृष्ण रेस्टुरेन्टमा चिनियाँ भेज र ननभेज परिकार, मटन परिकार, मःम, सेकुवा, भुटन, हाँसको छोयला पनि पाइन्छ। भुवनको रेस्टुरेन्टमा १२ जना काम गर्छन्। उनी अठोट र लगनले मानिसलाई सफल बनाउँछ, आपत–विपत त जीवनको अंग नै हो भन्ने विश्वासका साथ अघि बढेका छन्।