अनलाइन भिडिओ स्ट्रिमिङ प्लेटफर्मका रूपमा वर्चश्व कायम राखेको नेटफ्लिक्सलाई आफ्नो बलियो उपस्थितिलाई कायमै राख्न सकस परेको छ। नेटफ्लिक्सले अप्रिल र जुलाईको अन्तरालमा झन्डै १० लाख ग्राहक गुमाएको बीबीसीले जनाएको छ। यस्तै नेटफ्लिक्स नवीकरण नगर्ने ग्राहकको संख्या पनि बढिरहेको बताइएको छ।
नेटफ्लिक्सले सन् २०११ पछि ग्राहक कटौती विवरण सार्वजनिक गरेको हो। ग्राहक गुम्नुको कारणबारे प्रमुख कार्यकारी अधिकृत रिड ह्यास्टिङले भने, ' यदि एउटामात्रै कारण हुन्थ्यो भने हामी अनौठो कारण भन्ने थियौं।’
नेटफ्लिक्समा आएका केही श्रृंखला निकै चर्चित बने। यसले ग्राहकलाई पलायन हुनबाट केही हदसम्म भने रोकेको छ। प्रतिस्पर्धीहरूले नेटफ्लिक्सको प्रभुत्व भत्काउने प्रयत्न जारी राखेका कारण ग्राहक अझै पलायन हुनसक्ने सम्भावना छ।
नेटफ्लिक्सले ग्राहक गुमाउनुको कारणबारे एम्पिएरका कार्यकारी निर्देशक जी बिसन भन्छन्, ‘एकल प्रभुत्व हुँदा नेटफ्लिक्सले दायाँ-बायाँ सोच्नुनै परेको थिएन, आफ्नै मार्गमा अघि बढेको थियो। तर प्रतिस्पर्धी भित्रिएपछि उसले आफ्नो मार्गलाई आवश्यकताअनुसार परिमार्जन गर्न सकेको छैन।’
नेटफ्लिक्सको सेवा नवीकरण नगर्ने ग्राहकहरूमा अमेरिका र क्यानडा र युरोपका प्रयोगकर्ता बढी छन्।
नेटफ्लिक्सले मनोरञ्जनको माध्यममा परिवर्तन गरेको थियो। त्यसैको कारण लामो समय वर्चश्व कायम राख्न सफल पनि भयो। सन् २०२० मा कोरोना महामारीका कारण मानिसहरू घरभित्रै रहँदा प्रयोगकर्ता बढेका पनि थिए। महामारीकै समयमा नेटफ्लिक्सबाट ‘स्कविड गेम’ र ‘द क्राउन’ प्रसारण भएका थिए।
जब महामारी साम्य भयो, नेटफ्लिक्सले पनि नयाँ ग्राहकलाई आकर्षित गर्नसक्ने विषयवस्तु दिन सकेन भने बढ्दो महँगीका कारण ग्राहकहरूले पनि सेवा कटौती गर्न थाले। नेटफ्लिक्सले सेवाको मूल्य बढाउँदा पनि उसले ग्राहक गुमाइरहेको छ।
सन् २०१९ मा ११ अमेरिकी डलरमा दुई वटा डिभाइसमा नेटफ्लिक्स सेवा प्रयोग गरिरहेकाले ग्राहकले अब त्यही सुविधाका निम्ति १५ डलर तिर्नुपर्ने अवस्था छ। प्रतिस्पर्धी बजारमा एप्पल टिभी, एचबिओ म्याक्स, अमेजन प्राइम र डिज्नी प्लसका कारण पनि उसलाई ग्राहक जोगाउन मुस्किल भइरहेको छ।
नेटफ्लिक्ससँग हाल विश्वभरबाट २ सय २० मिलियन ग्राहक छन्। त्यसबाट उसले अप्रिलदेखि जुनसम्मको त्रैमासिकमा ७.९ अर्ब अमेरिकी डलर आर्जन गरेको छ। यसअघि उसको आम्दानी यति समयमा दश अर्ब डलर हुन्थ्यो।