विराटनगर विमानस्थलमा रहेको यति एयरलाइन्सको जहाजमा पनि समस्या देखिएको छ।
बिहीबार राति काठमाडौंबाट आएर यतै बसेको जहाज आज बिहान पौने ८ बजे काठमाडौं उड्ने भनिएको थियो। उक्त जहाजका लागि यात्रुहरूले टिकट पनि काटिसकेका थिए।
पाइलटले जहाज परीक्षण गर्दा इन्जिनमा समस्या भएको थाहा पाए।
जहाजमा भएको समस्या विराटनगरका इन्जिनियरले समाधान गर्न नसकेपछि काठमाडौंबाट इन्जिनियर आएका छन्।
उनीहरू अहिले जहाजको समस्या समाधान गर्न लागिरहेका छन्।
यतिको उक्त जहाजमा काठमाडौं जान टिकट काटेका केही यात्रुलाई काठमाडौं पठाइएको छ भने केही अझै विराटनगरमै छन्।
यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जहाजमा यस्तो समस्या देखिनु सामान्य भएको बताए।
आजै पोखराबाट टेकअफ हुनेबित्तिकै पाइलटले जहाजको इन्जिनमा समस्या देखिएको जानकारी गराएका थिए।
उडेको ६ मिनेटमै उक्त जहाजलाई पोखरा विमानस्थलमै सुरक्षित अवतरण गराइएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले सेतोपाटीलाई बताए।
सुवेदीका अनुसार नाइन एन एएनजी कलसाइन भएको जहाजको बायाँ इन्जिनमा समस्या देखिएको थियो।