अदनान अहमद शाहलाई सानैदेखि उनकी आमाले बनाएको बिरयानी खुबै मनपर्थ्यो। मुश्लिम समुदायमा जन्मेका अदनानको घरमा हरेक पर्व र विशेष अवसरमा बिरयानी पाक्छ। दैनिक रूपमा पनि उनी बिरयानी खान रूचाउँछन्।
आफ्नो घरमा प्रायः पाकिरहने बिरयानी होटल तथा रेस्टुरेन्टमा भने महँगो पैसा तिरेर खानुपर्थ्यो।
अदनान सोच्थे- सस्तोमा बिरयानी उपलब्ध गराउन सम्भव छैन र?
उनको दिमागमा आएको यो सोचले उनलाई बजार अध्ययन गर्न उक्सायो। यो २०७६ सालको कुरा हो। लामो समय बजार चहारे। विभिन्न ठाउँ गएर बिरयानी चाखे। घुमफिर, अध्ययन र खुवाइपछि उनलाई लाग्यो, नेपालमा बिरयानीलाई विलासी खानाको रूपमा लिइन्छ।
यसपछि अदनानले बिरयानी सबैका लागि सहज र किफायती मूल्यमा उपलब्ध गराउने योजना बनाए। उनको योजना यत्तिकै रहेन, हुटहुटीमा बदलियो। अनि त्यही हुटहुटी मिसाएर उनले सुरू गरे- फातिज बिरयानी।
झम्सिखेलबाट पुल्चोक निस्किने सडकमा छ फातिज बिरयानी। ललितपुर महानगरपालिका वडा नम्बर ३ को कार्यालयबाट करिब ९० मिटर पश्चिममा। अदनानले योजना बुनेजस्तै जम्मा एक सय पचास रूपैयाँमा यहाँ एक प्लेट (३०० ग्राम) हलाल चिकेन बिरयानी पाइन्छ।
'यति सस्तोमा पाइने बिरयानी कस्तो होला भन्ने लाग्न सक्छ,' फातिज बिरयानीका संस्थापक एवम् सञ्चालक अदनान भन्छन्, 'हामी भारतीय र पाकिस्तानी स्वादको फ्युजन बिरयानी बनाउँछौं। अहिलेसम्म ग्राहकहरूले धेरै नै रूचाउनुभएको छ।'
अदनानका अनुसार बिरयानी भारत र पाकिस्तानमा लोकप्रिय छ। सानैदेखि भारत भ्रमण गरिरहने भएकाले उनलाई भारतीय स्वादको बिरयानीबारे अझ बढी जानकारी छ। भारतमा मुगल साम्राज्य हुँदा बिरयानीको अवधारणा विकास भएको हो। त्यसैले विभिन्न परीक्षणपछि दुई देशमा पाक्ने स्वादको मिश्रणमा नेपाली स्वादलाई उपयुक्त बिरयानी तयार पारेको उनी बताउँछन्।
पछिल्लो समय नेपालमा बिरयानी मन पराउनेको जमात बढ्दो छ। तर सबै वर्गका मानिसको पहुँचमा पुगेको छैन। जसरी चोक-चोकमा सहजै र सस्तोमा मःम पाइन्छ, बिरयानी पनि त्यसैगरी उपलब्ध गराउने उद्देश्यले अदनानले फातिज सञ्चालनमा ल्याएका हुन्।
अदनानकी आमाको नाम हो फातिमा। रेस्टुरेन्टको नाम आमाकै नामबाट प्रेरित भएको जानकारी दिँदै २२ वर्षीय अदनानले भने, 'मलाई मेरी आमाले पकाएको बिरयानी खुबै मनपर्छ। यसै सम्बन्धित व्यवसाय भएकाले आमालाई नै समर्पित गरेर नाम रोजेँ।'
बिरयानीको रेस्टुरेन्ट खोल्ने आइडिया पहिलो लकडाउनको बेला फुरेको हो। बजार अध्ययन पनि त्यही बेला गरेका हुन्। परिवार नै व्यापारिक पृष्ठभूमिको भएकाले व्यवसाय गर्न परिवारबाट सहयोग मिल्यो।
रेस्टुरेन्ट खोल्ने योजना बनेपछि लकडाउनको समय उनले भान्सामा बिताए। दैनिक विभिन्न मर-मसलाको मिश्रण परीक्षण गर्दै बिरयानी पकाए। परिवार र साथीभाइलाई खुवाए।
'बिरयानीमा हल्का पिरो, अमिलो र गुलियोको मिश्रित स्वाद हुनुपर्छ। यसमा मसलाको अनुपात सही हुन जरूरी छ। त्यसैले धेरै समय त मसलाको अनुपात मिलाउनै लाग्यो,' अदनान भन्छन्, 'फातिज बिरयानीलाई खास स्वाद दिने मसला हामी आफैं तयार पार्छौं।'
आफूले बनाएको रेसिपीमा आत्मविश्वास भएपछि मात्रै उनी अरू काममा लागेका हुन्। अहिले फातिज भएको ठाउँमा पहिले लेदरका कपडाको पसल 'लाटिडो' थियो। लाटिडो अदनानकै दाइ बिलाल अहमद शाहले चलाउँछन्। २०७६ मा लाटिडो सरेपछि उक्त ठाउँ खाली भयो। बिलालले पसल सारे पनि सटर छाडेनन्। खाली भए पनि भाडा तिरिरहे। यो ठाउँ अदनानकै लागि थियो भन्दा हुन्छ।
'मैले स्नातक सकेपछि यही ठाउँमा केही गर्छु कि भन्ने सोचेर दाइले सटर छाड्नुभएको थिएन,' अदनानले भने।
सन् २०२१ मा काठमाडौं कलेज अफ म्यानेजमेन्टबाट बिबिएमा स्नातक सकेका छन् अदनानले। कक्षा १२ चोभारस्थित मोडर्न इन्डियन स्कुलबाट पढेका हुन्।
अदनान सानैदेखि धेरै समय साथीहरूसँग हिँड्डुल र रमाइलो गर्न रूचाउँथे। हुर्किने क्रममा दाइ बिलालले आफूप्रति राखेको विश्वास र परिवारप्रतिको जिम्मेवारी सम्झेर केही गर्नुपर्छ भन्ने महसुस गर्न थाले।
'मलाई नेपालमै केही गरेर मानिसहरूको प्रेरणाको स्रोत बन्ने रहर जाग्यो,' उनले भने।
त्यही रहर र जाँगर बोकेर सुरूमा खाली सटरमा कफी टेक-अवे क्याफे चलाउने सोचेका थिए। तर झम्सिखेलमा यस्तो क्याफेको कमी छैन। उनलाई अलग अवधारणामा काम गर्नु थियो। त्यसैले उनले किफायती मूल्यमा बिरयानी बेच्ने निधो गरे। अनि सटर मर्मत र साजसज्जाको काम थाले। त्यतिन्जेल लकडाउन खुकुलो भइसकेको थियो।
फातिज सञ्चालन गर्न सुरूमा १० लाख रूपैयाँ लगानी गरेको अदनान बताउँछन्। परिवारबाट आर्थिक सहयोग भयो। सबै काम सकेपछि गत वर्ष पुस २० गते फातिज बिरयानीको औपचारिक उद्घाटन भएको हो।
यहाँ एक सय पचास रूपैयाँमा एक टुक्रा चिकेन भएको ३०० ग्राम (एक जनालाई पुग्ने), तीन सय रूपैयाँमा दुई टुक्रा चिकेन भएको ६०० ग्राम (दुई जनालाई पुग्ने) र छ सय रूपैयाँमा चार टुक्रा चिकेन भएको १२०० ग्राम ( तीन-चार जनालाई पुग्ने) बिरयानी पाइन्छ। अदनानका अनुसार एकैपटक धेरै मात्रामा बिरयानी पकाउने र बेच्ने हुँदा अहिलेको मूल्यमा व्यवसाय राम्रो चलेको छ।
फातिज सञ्चालनमा आएको करिब एक महिनापछि नै यो ठाउँ 'भाइरल' भएको थियो। सामाजिक सञ्जालहरूमा कम मूल्यमा स्वादिलो बिरयानी पाइने ठाउँ भनेर ग्राहकहरूले सन्तुष्टि व्यक्त गरे। यस्ता ग्राहकको सकारात्मक प्रतिक्रियाले ठूलो जमातमा फातिज पुगेको अदनान बताउँछन्।
त्यसैले होला, सुरूआती महिनामा दिनको एक सय प्लेट बिरयानी बिक्ने फातिजमा अहिले ८ सयदेखि एक हजार प्लेटसम्म बिक्छ। अदनानका अनुसार दस किलो चामल र दस किलो मासुको एक सय प्लेट बिरयानी बन्छ। यो सय प्लेट बिरयानी एउटा ढेक्चीमा पाक्छ। एक ढेक्ची तयार हुन झन्डै एक घन्टा लाग्छ।
बिरयानीका लागि उनीहरूले लामो चामल प्रयोग गर्छन्। कुखुरा मासुका लागि छुट्टै बिक्रेतासँग सम्पर्क राखेका छन्। यसबाहेक आवश्यक कच्चा सामग्री र मसला थोक व्यापारीबाट किन्छन्।
'हामी अघिल्लो दिन नै अनुमान गरेर बिरयानी बनाउने तयारी गर्छौं,' अदनानले भने, 'बनाएको बिरयानी बाँकी रहे घर फर्किने बेला बाटोमा बस्ने असहाय मानिसहरूलाई बाँड्छौं।'
फातिज हरेक दिन बिहान ११ बजेदेखि साँझ साढे ८ बजेसम्म खुला हुन्छ। बिहान र दिउँसो धेरैजसो विद्यार्थीहरू आउँछन्। त्यस्तै दिउँसो र साँझ आसपासका कार्यालयका कर्मचारीहरू र राती बिरयानी लिएरै जाने ग्राहक बढी हुन्छन्।
अहिले फातिज भएको ठाउँ सानो छ। प्रायः ग्राहकले बसेर खान टेबलका लागि दसदेखि ३० मिनेटसम्म कुर्नुपर्छ। अदनानका अनुसार ८० प्रतिशत ग्राहकले लिएरै जान रूचाउँछन्। बसेर खाने सुविधा व्यवस्थित नभएकैले लिएर जानेको संख्या बढी भएको अनुमान उनको छ।
यसलाई ध्यानमा राख्दै उनी पुल्चोक, दमकल चोकनजिकै नयाँ रेस्टुरेन्ट खोल्दै छन्। हाल भएको ठाउँबाट लैजान मिल्ने र नयाँ ठाउँमा बसेर खान मिल्ने गरी सञ्चालनको तयारी भइरहेको अदनानले जानकारी दिए। नयाँ ठाउँमा एकै पटकमा ५० देखि ७० जनासम्म ग्राहक अटाउने क्षमता छ। सवारी पार्किङ व्यवस्था पनि मिलाइएको छ।
चार जना कर्मचारीबाट सुरू भएको फातिजमा अहिले ३० जनाभन्दा बढी कर्मचारी सक्रिय छन्। नयाँ रेस्टुरेन्ट उद्घाटनसँगै कर्मचारी बढ्ने अदनान बताउँछन्।
बजारमा महँगो मूल्यमा बिरयानी बेचिरहेकालाई फातिज बलियो प्रतिस्पर्धी बन्न सक्छ। तर अदनानले आफ्नो व्यवसायिक यात्रालाई प्रतिस्पर्धाका रूपमा हेरेका छैनन्।
उनी भन्छन्, 'हामी बजारमा प्रतिस्पर्धा गर्न आएका होइनौं। नेपालमा बिरयानी खाने संस्कृति बसाल्न सुरू गरेका हौं। बिरयानी सहज र किफायती मूल्यमा उपलब्ध गराउने उद्देश्य हो।'
ग्राहकको घुइँचो भइरहने अवस्थामा पुगिसके पनि आफूहरू अझै सिकारू अवस्थामै रहेको उनी बताउँछन्। ग्राहकको सकारात्मक प्रतिक्रियाले उनमा ऊर्जा भर्छ। नकारात्मक प्रतिक्रियालाई पनि सुधार्न पर्ने कुरा र रचनात्मक आलोचनाका रूपमा आत्मसात गर्छन्।
फातिजमा हाल चिकेन बिरयानी मात्रै पाइन्छ। भविष्यमा मटन, भेज लगायत विभिन्न स्वादका बिरयानी बनाउने योजना छ। त्यस्तै पुल्चोकबाहेक अन्त पनि फातिज रेस्टुरेन्ट खोल्ने र डेलिभरी सुविधा उपलब्ध गराउने तयारी हुँदैछ।
कम उमेर र कम समयमै आफ्नो सफलताबारे उनी भन्छन्, 'कुनै पनि सफलताका लागि मानिसमा धैर्य र स्थिरता हुनु जरूरी छ। नेपाली बजार सम्भावनाको खानी हो। धैर्य र स्थिरतासँगै आत्मविश्वास भए सफल हुन सकिन्छ।'
सबै तस्बिर र भिडिओ- सुसन चौधरी/सेतोपाटी