सरकारले कच्चा पदार्थबाहेक सबै प्रकारका तयारी मदिरा भित्र्याउन रोक लगाएको छ। विदेशी मदिरा आयात रोके पनि हाेटल, रेस्टुरेन्ट र पसलहरूमा अभाव देखिएको छैन।
यसको मुख्य कारण अवैध रूपमा भित्रिरहेको मदिरा हो। होटल व्यवसायीहरूका अनुसार लामो समयसम्म वैध बाटोबाट ल्याउन नपाएपछि अवैध रूपमा मदिरा भित्रिने क्रम बढेको छ।
मदिरा आयातमा राेक लगाएकै कारणले अहिलेसम्म व्यवसायमा धक्का नपुगेकाे पाँचतारे डिलक्स हाेटल 'मेची क्राउन' का सञ्चालक बलराम सापकाेटाले बताए।
'यसअघि पहिलाे पटक सरकारले आयातमा राेक लगाउँदा केही समस्या भएकाे थियाे। तर अहिले त्यस्ताे समस्या छैन,' सापकाेटाले सेताेपाटीसँग भने, 'हाेटल आउने पाहुनाले चाहेकाे मदिरा पिउन पाएका छन्।'
भारत, बंगलादेश, भुटान लगायत देशका पर्यटक लक्षित गरी झापामा खोलिएको मेची क्राउनमा अहिले राम्रो संख्यामा पर्यटक आइरहेका छन्। पूर्वको मुख्य नाका काकडभिट्टामा रहेकाे क्यासिनोसहितको याे हाेटलले राम्राे व्यवसाय गरिरहेकाे सापकोटाको भनइ छ।
'हाेटल व्यवसाय चल्ने भनेकै मदिराले हाे, नाकामै भएर पनि हाेला विदेशी मदिराको अभाव खासै छैन,' उनले थपे।
पछिल्लाे समय विदेशीसँगै स्वदेशी पर्यटककाे राेजाइमा पनि विदेशी ब्रान्डका मदिरा पर्छन्। विशेषगरी तारे होटल र नाइट क्लबहरूमा विदेशी ब्रान्डका मदिरा अत्यधिक खपत हुन्छ। तर यिनले पनि विदेशी मदिरा नपाउने समस्या भोगेका छैनन्।
यो सबैको कारण अवैध रूपमा आइरहेको मदिरा भएको हाेटल संघका कार्यवाहक अध्यक्ष विनायक शाह बताउँछन्।
'होटल तथा क्लबमा सबैभन्दा धेरै खपत हुने विदेशी ब्रान्डका मदिरा मागअनुसार उपलब्ध छ,' शाहले सेतोपाटीसँग भने, 'भारतमा जति भने पनि पाइहालिन्छ। नाका खुला छ, नेपाल ल्याउन गाह्राे छैन। अवैध आयात बढेको छ, सरकारकाे राजस्व पनि राेकिएको छ। अर्कातिर विकृति मैलाएको छ।'
सरकारले लामाे समय मदिरा आयातमा राेक लगाएपछि व्यवसायीले विकल्प खाेजेका उनको भनाइ छ।
भारतीय नाका नजिकै रहेकाले हाल नेपालीमै नक्कली मदिरा उत्पादन पनि हुन थालेकाे उनले बताए।
'विदेशी मदिरा आयात रोक्दा अवैध भित्रिने, राजस्व रोकिने, विकृतिसँगै जनस्वास्थ्यमा पनि असर पुगिरहेको छ। यसबारे सरकार गम्भीर हुन आवश्यक छ,' उनले भने।
त्यसाे त पर्यटकले आफैं पनि मदिरा बोकेर आउन थालेका छन्। हानका कार्यवाहक अध्यक्ष शाहका अनुसार एक हवाइ यात्रुले कम्तीमा पाँच बाेतल मदिरा ल्याइरहेका हुन्छन्। त्यसकारण पनि हाेटलमा मदिरा अभाव छैन। तर यसरी भित्रिएकाे मदिराले व्यवसायी र सरकारलाई घाटा पुर्याएको उनको भनाइ छ।
'काेभिडपछि पर्यटन क्षेत्रले आम्दानी गर्न नसक्नुको कारण यो पनि हो,' शाहले भने, 'पर्यटन यस्तो क्षेत्र हो जहाँ १० डलरको मदिरा आयात गरेर ३० डलरसम्म उत्पादन गर्न सकिन्छ। अर्थतन्त्र माथि उकास्ने बलियो आधार हो। तर आयात रोक्दा समग्र होटल क्षेत्रलाई असर पुगेको छ।'
हाेटल व्यवसायीलाई निश्चित समय ताेकेर आयात गर्न दिने हाे भने मागअनुसार भण्डार गर्ने उनले बताए।
सरकारले आयात राेक लगाउनुअघि पर्यटन व्यवसायीसँग सम्वन्य नगरेकोमा पनि उनको असन्तुष्टि छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म विभिन्न दस सामग्री आयातमा रोक लगाएको थियाे। सरकारले यसकाे समयावधि डेढ महिना थपे गरिसकेको छ।
यद्यपि मदिरा मात्र हाेइन, आयात राेकिएका कुनै पनि वस्तु तथा सामग्री बजारमा अभाव छैन।