पर्यटकीय स्थल सराङकोटमा सुर्योत्थान लक्जरी अपार्टमेन्ट बन्ने भएको छ।
घराना ग्रुप केसी र केएल ग्रुपको संयुक्त लगानीमा उक्त अपार्टमेन्ट बन्ने भएको हो। अपार्टमेन्ट बनाउने काम जय भद्रकाली डेभलपर्सले गरिरहेको छ।
१८ रोपनी क्षेत्रफलभित्र टावर ए, बि र सी गरी तीन वटा भवन बन्नेछ।
जसअन्तर्गत पहिलो चरणमा टावर ए र सीको निर्माण भइरहेको केसी ग्रुपकी मार्केटिङ प्रमुख श्रीया शर्माले जानकारी दिइन्।
तीन वटा भवनमा गरेर कुल एक सय ४१ वटा युनिट बन्नेछन्। जसमा हालसम्म ५० वटा युनिट बुकिङ भइसेको उनको भनाइ छ।
'तीन वर्षमा सबै निर्माण सक्ने योजना छ,' उनले भनिन्, 'टावर बी' को काम दशैंपछि सुरू हुन्छ।'
सात तलाको भवनमा दुई वटा रूम र तीन वटा रूमका मिक्स अपार्टमेन्ट बन्ने छन्।
दुई वटा रूम भएका अपार्टमेन्ट एक हजार दुई सय चार वर्ग फिटदेखि एक हजार पाँच सय ९१ वर्ग फिटको हुनेछ। त्यस्तै, तीन वटा रूम भएका अपार्टमेन्ट दुई हजार ५१ वर्ग फिटको हुनेछ।
एउटा तलामा ६ वटा युनिट हुनेछन्। जसमा चारवटा युनिट दुईटा बेडरूम भएको र दुईटा युनिट तीनटा बेडरूम भएका हुनेछन्।
अपार्टमेन्ट खरिद गर्ने ग्राहकले राम्रो पार्किङ र छतको सुविधा पाउने छन्। अपार्टमेन्टमा जिम, केटाकेटी खेल्ने ठाउँ र मन्दिरको पनि सुविधा छ। अपार्टमेन्टको कुल क्षेत्रमध्ये ७० प्रतिशत हरियाली क्षेत्र रहेको उनले जानकारी दिइन्।
शहरी क्षेत्रबाट टाढा बस्न चाहनेका लागि यो अपार्टमेन्ट उपुयक्त हुने मार्केटिङ प्रमुख श्रीया बताउँछिन्। अपार्टमेन्टबाट विभिन्न हिमाल, पोखरा उपत्यका र फेवातालको अवलोकन गर्न सकिन्छ।
अपार्टमेन्टको मूल्य एक करोड ९० लाख रुपैयाँदेखि तीन करोड रुपैयाँसम्म पर्नेछ।