चिया, कफी र गफ।
प्रकाश पौडेल, केशवराज शर्मा र नवीन शर्मा यी तीन कुराका पारखी हुन्। राम्रो ठाउँमा मिठो चिया-कफीको चुस्की लिँदै मिठा गफ गर्नुको मजा बेग्लै।
जुनसुकै मौसममा चिया-कफी पिउन तलतल लाग्ने उनीहरू काठमाडौंका धेरै ठाउँ पुगे, सानातिना चिया पसलदेखि 'स्ट्यान्डर्ड' मानिने क्याफेसम्म।
पारखीको चित्त सजिलै कहाँ बुझ्थ्यो र!
कतिपय ठाउँमा चिया-कफी मिठो भए पनि अस्वच्छ वातावरण र नराम्रो ग्राहक सेवा। कहीँ आनन्दको वातावरणमा राम्रो ग्राहक सेवा तर नमिठो स्वाद। कहीँ त फर्केरै जान मन नलाग्ने।
'चिया-कफी, वातावरण र ग्राहक सेवा तीन वटैमा अब्बल ठाउँ भेट्न सकिएन। फुटपाथदेखि ठूला रेस्टुरेन्ट र चिया विशेष खुलेका क्याफेसम्म खायौं। तर कहीँ यो चाहिँ पक्का ठिक छ भन्ने पाएनौं,' केशवले भने, 'चिया पकाउने भाँडा सफा नहुने, चियापत्ति नफेर्ने त सामान्य भयो। केही ठाउँमा अशिष्ट व्यवहार त कहीँ महँगोमा पनि नमिठो चिया पिउनुपर्यो।'
४७ वर्षे केशव, ३६ वर्षे नवीन र ४० वर्षीय प्रकाश मिलेर यिनै विषयमा छलफल गर्न थाले। आफूजस्तै ग्राहकलाई सम्झेर उनीहरूलाई यसमा केही त गर्नुपर्छ भन्ने लाग्यो। कुराकानीकै क्रममा एकदिन आफैं चिया पसल खोल्ने कुरा आयो।
यो २०७६ सालतिरको कुरा हो।
'बरू आफैं चिया पसल खोलेर बजारमा खट्किएको अभाव पूरा गर्ने सोच्यौं,' केशवले भने, 'स्वस्थ, स्वादिष्ट चिया-कफीका साथमा राम्रो ग्राहक सेवा दिन योजना बनायौं।'
त्यही योजना साकार गर्न उनीहरूले लामो समय बजार अध्ययन गरे। ग्राहकको रूचि र आवश्यकता केलाए। अनि गत असार ३१ गते नयाँ बानेश्वरमा खोले - चिया सागर।
'आनन्दको वातावरणमा स्वस्थ र बजारमा पाइनेभन्दा भिन्न चिया खुवाउने उद्देश्य हो हाम्रो। हतार गरेर अव्यवस्थित तरिकाले काम गर्न मन लागेन। त्यसैले बजार अध्ययनपछि मात्रै चिया सागर सञ्चालनमा ल्याएका हौं,' केशवले भने।
उनीहरूको सोचअनुसारै चिया सागरमा यति बेला दुई दर्जन बढी स्वादको चिया पाक्छ। भविष्यमा यसलाई बढाएर ७५ थरीसम्म पुर्याउने योजना रहेको अर्का सह-सञ्चालक नवीन बताउँछन्। केही समयपछि हरेक महिनाजसो नयाँ स्वादका चिया मेनुमा थप्दै जाने योजना छ। त्यस्तै नेपालको मात्र नभई, विदेशमा पाइने चियाका प्रकार समेत भित्र्याउने योजनामा अध्ययन भइरहेको नवीनले बताए।
अहिले यहाँको मेनुमा मट्का, मसला, घरको चिया, हर्बल, ग्रीन, आइस टी लगायत छ। यसबाहेक कफी, स्मुदी, मिल्कशेक, फ्रापेसँगै 'युथ भिजन बेकरी' को सहकार्यमा तयार पारिएका बेकरी परिकार पाइन्छ।
'हरेक प्रकारको चियापत्ति र कच्चा मसलाका लागि आधिकारिक आपूर्तिकर्तासँग सहकार्य गरेका छौं,' नवीनले भने, 'चियाको विशेष मसला भने हामी आफैं तयार पार्छौं।'
मसला बनाउन पनि निकै समय लागेको नवीन सम्झिन्छन्। चिया पसल खोल्ने योजना बनेको छोटो समयमै लकडाउन भयो। त्यसै समय उनीहरूले मसलाबारे अध्ययन गरे। करिब ७-८ महिना आफैं चिया पकाएर मसलाको स्वाद परीक्षण गरे। त्यसैले यहाँको चियाले ग्राहकको स्वास्थ्यलाई हानी नगर्ने उनी दाबी गर्छन्।
'हरेक चियामा गुणस्तरीय मसला मिसाएर पकाइन्छ। चियाको स्वाद मिठो हुनुका साथै स्वस्थ छ। एकपटक पकाएपछि भाँडा सफा गरेर मात्रै अर्को चिया पकाइन्छ,' उनले भने।
सबै कुरा ध्यानमा राखेर बनाउँदा पनि चिया सागरमा किफायती मूल्यमै चिया पाइने उनको भनाइ छ। ५० रूपैयाँमा मट्का चिया 'सिंगल' पाइन्छ, ६० मिलिलिटरको माटो कपमा। मट्का चिया 'डबल' एक सय २० मिलिलिटरको सेरामिक कपमा दिइन्छ। यसको ९० रूपैयाँ तिर्नुपर्छ।
यहाँको सबभन्दा महँगो मट्का चिया 'पट' हो जसको तीन सय ५० रूपैयाँ पर्छ। पाँच सय मिलिलिटरको पटमा (चियादानी) ७ देखि ८ जनालाई पुग्ने चिया यसमा आउँछ। नवीनका अनुसार सबभन्दा बढी रूचाइएको पनि यही हो।
माटोको कपमा चिया खाएपछि ग्राहकले कपमा नाम वा सन्देश लेखेर चिया सागरमै सजावटका लागि राखिदिन मिल्छ। यसैको लागि यहाँ छुट्टै ठाउँ बनाइएको छ। यस्ता कप उनीहरूले भक्तपुरका स्थानीयसँग किन्छन्।
चिया सागरको वातावरणमा पनि सञ्चालकहरूले विशेष ध्यान दिएका छन्। आनन्द र स्वच्छ वातावरण दिनु उनीहरूको उद्देश्य हो। नवीनका अनुसार चिया सागर तीन हजार वर्गफिटभन्दा बढी क्षेत्रफलमा तयार भएको छ। खुला भएकाले यहाँ एकपटकमा दुई सय जनासम्म आरामले अटाउँछन्।
यहाँको सजावटमा आधुनिकसँगै नेपाली मौलिक वस्तुले पनि स्थान पाएका छन्। भित्र सिलिङ र भित्ताहरूमा नाङ्लो टालिएको छ। डालो उल्टो झुन्ड्याएर भित्र बत्ती राखिएको छ। बनेपा र ललितपुरबाट ल्याएका दुई सयभन्दा धेरै नाङ्लो र पचास वटाजति डोकोले चिया सागरलाई बेग्लै रूप दिएका छन्। विशेषगरी साँझमा चिया सागरको दृश्य आकर्षक देखिन्छ।
'चिया सागरको वातावरण परम्परागत र आधुनिकताको मिश्रण हो। मौलिकता र आधुनिकता मनपर्ने दुवै खालका ग्राहकको स्वागत यहाँको सजावटले गर्छ,' नवीनले भने।
टेबल, कुर्सी, सोफा लगायत फर्निचर पनि उनीहरूले डिजाइन दिएर बनाएका हुन्। नवीनका अनुसार सबै अध्ययन र तयारी सकेपछि उनीहरू ठाउँ सजावटमा लागेका हुन्। बानेश्वरमा भनेजस्तै ठाउँ पाएपछि करिब चार महिना मर्मत र सजावटमै लाग्यो।
चिया सागर नाम रोज्न पनि करिब एक महिनै लागेको केशवले बताए।
'नाम सम्झिने खालको र सुहाउँदो राख्नु थियो। त्यसैले छान्न समय लाग्यो,' उनले भने, 'सरल भाषामा सागरले खानी वा धेरै भन्ने अर्थ दिन्छ। यहाँ थरीथरीका चिया पाइने भएकोले चिया सागर राख्यौं।'
नवीन, केशव र प्रकाशले चिया सागर सञ्चालन गर्न ६० लाख रूपैयाँ लगानी गरेका छन्। उनीहरूमध्ये कोही न कोही एक जना चिया सागरमा हुन्छन्। यसबाहेक ८ जना कर्मचारीले समय मिलाएर काम गर्छन्। ग्राहकलाई सेवा दिनेसँगै प्रतिक्रिया पनि माग्छन्। आवश्यक सुधारका पक्ष टिपोट गर्छन्।
चिया सागर बिहान साढे ६ बजेदेखि बेलुकी साढे ८ बजेसम्म खुला हुन्छ। खुलेको एक महिना मात्र भए पनि यहाँ ग्राहकको घुँइचो लोभलाग्दो छ। केशवका अनुसार अहिले दैनिक एक सय पचासदेखि दुई सय जनासम्म ग्राहक पुग्छन्। प्रायः युवा पुस्ताका समूहमा हुन्छन्। केही त यहाँका नियमित ग्राहक भइसके।
रेस्टुरेन्ट व्यवसाय यी तीन सञ्चालकका लागि बिल्कुलै नयाँ होइन। तीनै जनासँग व्यावसायिक ज्ञान र लामो समयको अनुभव छ। केशव २०६१ सालदेखि होटल तथा आतिथ्य व्यवसायमा संलग्न छन्। प्रकाशले २०६६ सालदेखि र नवीनले पनि २०७० सालदेखि यही क्षेत्रमा काम गरेका हुन्। चिया सागर अघिदेखि नै उनीहरूले सहकार्यमा होटल र होस्टल चलाइरहेका छन्।
यसरी विविध क्षेत्रमा स्थापित भइसकेका उनीहरूलाई सुरूका दिनमा चिया पसल खोल्ने भन्दा केहीले खिसी समेत गरेका थिए।
केशवले सुनाए, 'केही आफन्त र साथीभाइले चिया पसल पनि के खोल्छौं भन्नुभयो। झन् हाम्रो घरगाउँमा खिसी गर्ने हिसाबले फलानोले चिया पसल खोल्यो रे भन्ने छ। अझै पनि धेरैलाई चिया पसल भनेको कुचुक्क परेको ठाउँ, त्यहीँ चिया पाक्ने, त्यही ग्राहकको भिड हुने भन्ने छ। त्यसैले कतिपय छरछिमेकले बुझ्नुभएको छैन।'
उनीहरू तीनै जनाको पुर्ख्यौली घर बागलुङ हो।
केशवको जन्म भने दक्षिण भारतमा भएको हो। कामको सिलसिलामा उनका बुवा भारत पसेका थिए। केशव करिब १३ वर्षसम्म उतै बसे। २०४५ सालमा पढाइका लागि भनेर नेपाल फर्के। उनले पाल्पा क्याम्पसबाट स्नातक गरेका छन्। विद्यार्थी छँदा केही समय राजनीतिमा पनि लागे। अहिले भने उनी आफूलाई व्यवसायी र समाजसेवी भनेर चिनाउँछन्।
अर्का सञ्चालक प्रकाशले गणित विषयमा स्नातकोत्तर सकेका छन्। पढाइ सकेर उनी केही समय शिक्षण पेसामा सक्रिय भए। पछि कन्सलटेन्सी चलाए। रूचि भने व्यवसायतिरै मोडियो। अनि यही क्षेत्रमा होमिएको उनी बताउँछन्।
तीन सञ्चालकमध्ये कान्छा नवीनले थापाथली क्याम्पसबाट सिभिल इञ्जिनियरिङ गरेका हुन्। पढाइ सकेर झन्डै ६ वर्ष जागिर गरेका थिए। उनको पनि मन जागिर र इञ्जिनियरिङमा बसेन। आफ्नै व्यवसाय गर्ने सोचले तानिरह्यो।
यसरी अलगअलग पढाइ र अनुभव भए पनि उनीहरूलाई व्यवसायले एकै ठाउँ ल्याइपुर्याएको हो। लामो समयदेखि सहकार्य गरिरहेका उनीहरू एक-अर्काप्रतिको विश्वासकै कारण यो सम्भव भएको बताउँछन्।
'सहकार्यमा गरिएको व्यवसायमा सफलता मिल्छ। यसका लागि आपसी समझदारी र भरोषा भने चाहिन्छ,' केशव भन्छन्।
यही भरोषाले उनीहरूलाई व्यापारका मात्र होइन, मनका साथी समेत बनाएको छ। त्यसैले अघिल्ला सहकार्य सफल भएझैं चिया सागर पनि सफल हुने विश्वास उनीहरूको छ।
चिया सागरका तीनै सञ्चालक कुनै पनि काममा नयाँपन हुन आवश्यक ठान्छन्। बजारले हरेक समय जुनकुनै क्षेत्रमा नयाँपन खोज्ने भएकाले सोहीअनुरूप काम गर्नुपर्ने मान्यता राख्छन्। यसबाहेक नेपालमा व्यावसायिक क्षेत्रमा थुप्रै अवसर र सम्भावना उनीहरूले देखेका छन्।
'दृढ विश्वास र जोस भए हरेक काम सम्भव छ। नयाँ काममा हात हाल्न जुनै समय अनुकूल हुन्छ,' उनीहरू भन्छन्, 'इमानदारी र लगनशीलता भए सफल भइन्छ।'
अहिले चियासागर परीक्षणकालीन समयमै छ। तर ग्राहकको प्रतिक्रिया देख्दा अझै अघि बढेर शाखा विस्तार गर्न सकिन्छ भन्नेमा उनीहरू आशावादी छन्। अबको दुई वर्षमा काठमाडौं उपत्यकाभित्र र बाहिर गरी करिब आधा दर्जन शाखा सञ्चालन गर्ने योजना छ।
चिया सागरको भित्तामा लेखिएझैं, उनीहरूको चाहना छ- यो ठाउँ चिया, कफी र गफको आनन्द लिने गन्तव्य बनोस्!
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी