नेपाल आयल निगमल अहिले पेट्रोलियम पदार्थको मूल्य घटाउने अवस्थामा नरहेको निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले बताएका छन्।
मंगलबार निगममा आयोजित पत्रकार सम्मेलनमा घाटा यथावत रहेकाले अहिले मूल्य नघटाउने निर्णय गरेको उनले बताएका हुन्।
निगमका अनुसार नयाँ मूल्य अनुसार निगमलाई पेट्रोलमा चार रुपैयाँ ७४ पैसा र डिजेलमा चार रुपैयाँ ५० पैसा घाटा छ।
बढ्दा बढ्ने र घट्दा घट्ने स्वचालित मूल्य प्रणालीमा जान पनि एक पटक परल मूल्यमा जान पर्ने उनको भनाइ छ।
उनले भने 'जहिलेसम्म घाटा सकिदैन त्यो बेलासम्म परल मूल्यमा जान सकिँदैन। हामी मूल्य घाटाउन सक्दैनौँ, मूल्य घटायो भने हाम्रो घाटा बढ्छ।'
विगत चार महिनादेखि इन्डियन आयल कर्पोरेसन (आइओसी)सँग उधारोमा तेल ल्याइरहेको र अहिले महिनामा १४ अर्ब रुपैयाँ ब्याज तिर्नुपर्ने उनले बताए।
आइओसीले मंगलबार नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको हो।
नेपाल आयल निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ ९० पैसा र डिजेलमा ४ रूपैयाँ ७५ पैसा घटाएर पठाएको छ।
विश्व बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपाल आयल निगमलाई तीन पटकसम्म मूल्य घटाएर पठाइसकेको छ।
पहिलो पटक असार ३२ गते आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ ७६ पैसा र डिजेलमा १६ रूपैयाँ ५६ पैसा घटाएर पठाएको थियो।
त्यस्तै, दोस्रो पटक साउन १६ गते प्राप्त मूल्य सूचीअनुसार डिजेल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ।