शिवम् सिमेन्ट्स लिमिटेडले विशेष साधारणसभा सम्पन्न गरेको छ।
भदौ १० गते बोलाइएको विशेष साधारणसभा अनामनगरस्थित कम्पनीको सभाहलमा सम्पन्न गरिएको हो।
उक्त सभा कम्पनीका सञ्चालक अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा बसी सञ्चालक समितिको निर्णय बमोजिम सभा समक्ष प्रस्तुत गरिएका सबै विशेष प्रस्तावहरू पारित गर्दै विशेष साधारणसभा सम्पन्न भएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार विशेष साधारणसभाबाट कम्पनीको प्रबन्ध पत्रको दफा ६ को खण्ड (ख) र (ग) तथा नियमावलीको नियम नं. २३, नियम नं. २५ को (५) नियम नं. २७ को (२), नियम नं. २९ र नियम नं. ३१ संशोधन गर्ने सम्बन्धी सबै विशेष प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएका छन्।
उपरोक्त संशोधनपश्चात् कम्पनीको सञ्चालक समितिको संख्या ७ सात जनाबाट ६ जना कायम हुनुका साथै कम्पनी ऐन २०६३ को दफा ७३ बमोजिम ५१ प्रतिशत वा सोभन्दा बढी सेयरधनीहरूको उपस्थितिमा साधारणसभा सञ्चालन गर्न सकिने गरी नियमावलीमा व्यवस्था गरिएको छ।
सर्वसाधारणका लागि आइपिओ निस्कासन गर्ने पहिलो सिमेन्ट कम्पनी शिवम् सिमेन्टले उत्पादन समयदेखि नै आफ्नै चुनढुंगा खानीबाट ओपिसि सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ। शिवम् सिमेन्ट नापतौल तथा गुणस्तर विभागबाट एनएस क्वालिटी अवार्ड–२०१९ बाट पुरस्कृत पनि भएको थियो।