नेपाल चेम्बर अफ कमर्सले व्यापार प्रर्वद्धन एवम् लगानीका लागि राजदूतहरूसँग आग्रह गरेको छ। काठमाडौंको जमलस्थित चेम्बर भवनमा राजदूतहरूसँग भएको छुट्टाछुट्टै भेटवार्तामा चेम्बरले नेपालमा लगानीका लागि भूमिका निर्वाह गर्न आग्रह गरेको हो।
दक्षिण कोरियाका लागि नवनियुक्त राजदूत डा. ज्योति प्याकुर्याल समक्ष चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आर्थिक रूपमा समृद्ध कोरियाबाट लगानी प्रर्वद्धन गर्न आग्रह गरे। नेपालमा लगानीसँगै कोरियाको उच्चस्तरीय प्रविधि भित्र्याउनका लागि समेत पहल गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ।
इपिएस मार्फत कोरियामा ७७ हजार नेपाली युवाहरू कार्यरत रहेको भन्दै अध्यक्ष मल्लले नेपालीहरूकै सीप र लगानीलाई प्रर्वद्धन गर्न सकियो भने मुलुकले धेरै फाइदा लिन सक्ने बताए। उनले भने, ‘नेपाल हाउसको अवधारणा अन्तर्गत स्वदेशी उत्पादनहरूको प्रर्वद्धन गर्ने प्रचुर सम्भावना छ। पछिल्लो समय पस्मिना, हस्तकलाका सामाग्री, जडिवुटी, भिरमह लगायतको माग कोरीयामा बढ्दो छ।’
कोरियाली बहुराष्ट्रिय कम्पनीहरू नेपालमा स्थापनका लागि पहल गर्न पनि अध्यक्ष मल्लले राजदूत डा. प्याकुर्यालको ध्यानाकर्षण गराए।
भेटवार्तामा राजदूत प्याकुर्यालले पनि आफ्नो कार्यकालमा लगानी प्रवर्द्धन र दुई पक्षीय व्यापार नै पहिलो प्राथमिकता रहेको बताइन्। उनले भनिन्, ‘एसियाको महत्वपूर्ण आर्थिक शक्ति राष्ट्र दक्षिण कोरियाबाट नेपालमा लगानी भित्र्याउन मेरो मुख्य प्राथमिकता रहनेछ।’
यस्तै, चेम्बर अफ कमर्सका पदाधिकारीले नेपालका लागि स्लोभाकियाका राजदूतसँग पनि चेम्बर भवनमा भेटवार्ता गरेको छ। भेटवार्तामा नेपालमा लगानीको सम्भावना एवम् दुई पक्षीय व्यापारबारे छलफल भएको छ। अध्यक्ष मल्लले स्लोभाकियामा नेपालको हस्तकलाका सामानहरू कपडा, कार्पेट लगायतको निर्यातमा सहजीकरण गर्न राजदूत रोबर्ट म्याक्सिएनसँग आग्रह गरे।
सूचना प्रविधि एवम् पर्यटन क्षेत्रमा पनि लगानी गर्न अध्यक्ष मल्लले आग्रह गरे। स्लोभाकियाबाट हाल वार्षिक ५ हजारको हाराहारीमा पर्यटक नेपाल आइरहेको भन्दै यो संख्या अझै वृद्धि गर्नमा सहयोग गर्न अध्यक्ष मल्लले राजदूत म्याक्सिएनसँग आग्रह गरेका छन्।
जवाफमा राजदूत म्याक्सिएनले नेपालसँग उच्चस्तरीय आर्थिक सम्बन्ध विस्तार गर्न आफू प्रतिवद्ध रहेको बताए। यसका लागि आफूले सरकारीस्तरमै पहल गरिरहेको राजदूत म्याक्सिएनको भनाइ छ।