ललितपुरको पाटन म्युजियममा 'अबिर आर्टिसान २०२२' हुने भएको छ।
'अबिर डिजाइनर हब' को आयोजनामा नेपाली उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आगामी असोज १ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म प्रदर्शन हुनेछ।
प्रदर्शनीमा काठमाडौं उपत्यकासँगै वरपरका जिल्लाहरूमा उत्पादित सामग्रीहरू हुने अबिरकी संस्थापक रश्मी तन्डुकारले बताइन्।
उनकाअनुसार प्रदर्शनीमा ढाकाका कपडा, नेपाली पश्मिना, हातले बुनेका कपडा र गरगहना साथै सौन्दर्यका सामग्रीहरू, ब्याग, स्थानीय उत्पादनहरू हुनेछन्। 'नेपाली उत्पादहरूलाई प्रवर्द्धन, बजारीकरण र बिक्री गराउनका लागि प्रदर्शनी मेला आयोजना गर्न लागिएको हो' उनले भनिन्, '४० भन्दा बढी स्टलमा नेपाली उत्पादनको प्रदर्शनी हुनेछ।'
प्रदर्शनी मेला अवलोकनका लागि जानेहरूलाई प्रवेश निःशुल्क रहेको छ। प्रदर्शनीमा लाइभ म्युजिक र खेलको व्यवस्था हुनेछ। अवलोकनकर्ताले खेलमा सहभागि हुन पाउनेछन्। प्रतिस्पर्धामा उत्कृष्ट हुनेलाई पुरस्कारको व्यवस्था रहेको उनले बताइन्।
यसअघि पनि अबिरले नेपाली उत्पादन र फेसन डिजाइनको प्रदर्शनी गरेको थियो।