कोरोना महामारीयता नयाँ अनलाइन बजार (इ-कमर्स) थपिने क्रम बढेको छ। यस्तो सपिङलाई समावेशी, किफायती, पहुँचयोग्य र भरपर्दो बनाउन कम्पनीहरू प्रतिस्पर्धा गरिरहेका छन्।
यस्तै एउटा कम्पनी हो 'जिभी'। कोरोनाले गाँजेकै समयमा सुरू भएको जिभी यति बेला बजारमा बलियो उपस्थिति जनाउन लागिपरेको छ।
जिभी अनलाइन बजार कसरी सुरू भयो, यसले कस्ता सामान बेच्छ, कस्तो सेवा दिन्छ र यसमा अरूभन्दा खास के छ त?
यिनै सन्दर्भमा जिभीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) आभूषण ज्योति कंसाकारसँग हामीले कुराकानी गरेका छौं।
जिभी कसरी सुरू भयो?
जिभी स्वास्थ्य, सौन्दर्य र बेबी-केयर (बच्चाका लागि चाहिने) सम्बन्धी सबै सामान बिक्री तथा डेलिभरी गर्ने अनलाइन बजार हो। यो जिभी हेल्थ प्रालि अन्तर्गत दर्ता गरिएको छ र देवाज्योति समूहको एक हिस्सा हो।
जिभीको सुरूआत सन् २०१९ नोभेम्बरमा अनलाइन फार्मेसीबाट भएको हो। सुरूमा इ-कमर्स वा फार्मेसी के सञ्चालन गर्ने भन्ने अन्यौल थियो। स्वास्थ्य क्षेत्रमा प्रविधि प्रयोग राम्रो हुन सकेको थिएन। हामीकहाँ घरै बसेर फिल्मको टिकट छ कि छैन बुझ्न सकिन्छ तर डाक्टरसँग सल्लाह लिनुपर्दा सम्भव छैन। त्यसैले हामीले अनलाइन फार्सेमी खोल्यौं। त्यो बेला जिभीले फार्मेसी र डाक्टरसँग भेटघाटको समय मिलाउने काम गर्थ्यो।
सन् २०२० मा कोभिड फैलियो। त्यति बेला घरमै बसेर डाक्टर अप्वाइन्टमेन्टको काम असफल भयो। त्यसपछि फार्मेसी मात्र चल्यो। जिभीमार्फत अनलाइन परामर्श सुरू गर्यौं। सहरभन्दा धेरै गाउँका मान्छेले सेवा लिन थाले। सामान्य बिरामी हुँदा पनि जिभीमार्फत सिधै डाक्टरसँग परामर्श लिन्थे। कोभिडको समयमा हामीले डाक्टरको सल्लाहअनुसारको औषधि डेलिभर गर्यौं। पछि हामीले यसलाई अनलाइन बजारका रूपमा विकास गर्यौं।
जिभीले कस्ता सामान बिक्री तथा डेलिभरी गर्छ?
जिभीमा अहिले मुख्य तीन समूह छ- स्वास्थ्य, बेबी (बच्चा), ब्युटी (सौन्दर्य)।
स्वास्थ्यमा अनलाइन फार्मेसी जोडिन्छ। जहाँ हामीले औषधिदेखि स्वास्थ्यका लागि आवश्यक सबै सामग्री उपलब्ध गराउँछौं। बेबीअन्तर्गत चार वर्षसम्मका बच्चाका लागि आवश्यक डाइपर, बोतल, स्याम्पू, पाउडर, खेलौना, फर्निचर लगायत सामान छन्। चाँडै बच्चाको लुगा पनि राख्ने योजना छ।
जिभीको सबभन्दा धेरै सामग्री ब्युटी समूहमा छ। स्वदेशी र विदेशी ब्रान्डका सबैजसो सौन्दर्य सामान छन् र सबभन्दा धेरै माग यसकै छ। अनलाइन बजारको जमानामा जसले गुणस्तरीय सामान र समयमै डेलिभरी गर्छ, त्यही विश्वासिलो बन्छ। जब ग्राहकले विश्वास गर्छन्, तब सामानको माग बढ्छ।
जिभीको बजार र ग्राहक को हुन्?
हाम्रो बजार यही नै हो भन्ने छैन। यसमा थुप्रै कुरा जोडिन्छन्। जस्तो मूल्यका आधारमा हेर्ने हो भने जिभीले कम्तीमा पाँच रूपैयाँदेखि बढीमा पचास हजार रूपैयाँसम्मको सामान बेच्छ। सस्तो वा महँगो रोज्ने छुट ग्राहकलाई दिएका छौं। त्यसैले जिभी जुनसुकै आर्थिक अवस्थाका ग्राहकका लागि हो।
त्यस्तै जिभीका ८५ प्रतिशत ग्राहक महिला छन्। त्यसैले महिलालाई लक्षित गरेजस्तो देखिन्छ। तर जिभीले सबैखाले ग्राहकलाई लक्षित गरेको छ।
स्वास्थ्यबाट सुरू भएर अनलाइन बजारसम्मको यात्रा कस्तो रह्यो?
कुनै पनि व्यवसायको सुरूआती यात्रा सजिलो हुँदैन। जिभीलाई चिनाउन चुनौती थियो। समस्या समाधान गर्दै अघि बढ्नु नै ठूलो कुरा रहेछ। म इञ्जिनियरिङ गरेर आएको मान्छे हुँ। अरू थुप्रै क्षेत्रमा काम गरेको थिएँ तर जिभीका लागि नौलो थिएँ। इ-कमर्स सुरू गर्दैगर्दा कस्तो प्रविधि जडान गर्नुपर्छ भन्ने थाहा थिएन। यस्तो व्यवसायमा अनुभव थिएन। धेरै कुरा छिट्टै सिक्नुपर्ने थियो।
जब फार्मेसी सुरू भयो, ग्राहकको माग, प्रतिक्रिया र सुझावले थप ऊर्जा दियो। जिभीले धेरै कुरा आफ्नो योजनाअनुसार भन्दा पनि ग्राहकको मागअनुसार गर्यो। जुन कुरा बजारले खोजेको छ, त्यो दिन सक्नुपर्ने रहेछ। कोभिड महामारीमा हामीले फार्मेसी सेवा दिइरहेका थियौं। त्यही बेला बच्चाका लागि दूध, डाइपर लगायत सामग्रीको माग आयो। त्यसमा पनि प्रयास गर्यौं। यो साढे दुई वर्ष अवधिमा बच्चाका सामान किन्ने ग्राहक संख्या ठूलाे भइसक्यो।
अनलाइन बजारको भीडमा जिभी कुन स्थानमा छ?
जिभीले सय जनालाई रोजगारी दिएको छ। ४० जना त सामान डेलिभरीका लागि छन्। मुलुकभर अर्डरअनुसार बिक्री तथा डेलिभरी गरिरहेको छ। अर्डर, बिक्री, एप डाउनलोडको कुरा गर्ने हो भने हामी नेपालको अनलाइन बजारमा दुई नम्बरमा छौं।
तर सेवा दिन सजिलो छैन। ठूलाे मात्रामा सामान डेलिभर गर्ने सेवा प्रदायकलाई झनै गाह्रो छ। अर्डर आउनासाथ डेलिभरी गर्न गाह्रो छ। धेरै मात्रामा सामान भण्डार गर्दा मिति समाप्त हुन सक्छ। डेलिभर गर्दा बिग्रिन वा टुटफुट हुन सक्छ। त्यो जोखिम लिन सक्नुपर्छ।
आजको दिनमा हजारौं मानिसले जिभीबाट सामान अर्डर गरिरहेका छन्। जिभीका प्रयोगकर्तामध्ये ६७ प्रतिशतले प्रत्येक तीन महिनामा अर्डर गर्छन्। आठ लाखले एप डाउनलोड गरेका छन्।
विभिन्न ब्रान्डसँग सहकार्य गर्दा सामानको गुणस्तर कायम गर्न चुनौतीपूर्ण छ?
जिभीले ४० हजारभन्दा बढी प्रकारका सामान बेच्छ। यसमा कतिपय ग्राहकको मागअनुसार थपिँदै जान्छ।
जिभीले ब्रान्डेड सामग्री मात्र बेच्छ, चाहे त्यो स्वदेशी होस् वा विदेशी। कुनै पनि कम्पनीको उत्पादन लिनुअघि हामी त्यो कत्तिको गुणस्तरीय छ भनेर हेर्छौं। विभिन्न पद्धतिअनुसार सामानको गुणस्तर मापन र अडिट हुन्छ। यसका लागि छुट्टै टिम छ। त्यसपछि कम्पनीलाई जिभीले परीक्षणकालीन समय दिन्छ। त्यो समयसम्म सामान गुणस्तरीय हुनुपर्यो, माग आउनुपर्यो। तब मात्र बिक्रेताबाट जिभीले सामान किन्छ र उपभोक्तालाई बेच्छ।
कसैले पनि नक्कली सामग्री प्रयोग गर्न चाहँदैन। बच्चा र सौन्दर्यका सामान झन् संवेदनशील हुन्छ। ग्राहक खर्च गर्न तयार हुन्छन् तर सामान ब्रान्डेड होस् भन्ने चाहन्छन्। गुणस्तरहीन सामान बेच्यौं भने व्यापार मात्र खस्किँदैन, ग्राहकको स्वास्थ्य पनि बिग्रिन सक्छ। त्यसकारण पनि हामी सचेत छौं।
सामग्रीहरू समयमै डेलिभर गर्न कस्तो चुनौती छ? यसको व्यवस्थापन कसरी गर्नुभएको छ?
अनलाइन बजारका लागि नेपालमा डेलिभरी निकै चुनौती छ। जति पूर्वाधार चाहिने हो, त्यो पर्याप्त छैन। अनलाइन बजार विकास भए पनि आवश्यकताअनुसार व्यावसायिक रूपमा डेलिभरी कम्पनी विकास हुन सकेनन्। आज पनि औंलामा गन्न सक्ने डेलिभरी कम्पनी छन्।
सन् २०१९ मा जिभी सुरू गरेका हामीलाई २०२० सम्म पनि सामान डेलिभरी गर्न गाह्रो भयो। त्यसपछि हामीले डेलिभरीका लागि आफ्नै टिम बनायौं। काठमाडौंबाहिर डेलिभरी गर्नुपर्यो भने कुरियरमार्फत पुग्छ। विभिन्न सहरमा जिभीका डेलिभरी कर्मचारी छन्। कर्मचारीमार्फत जुनसुकै ठाउँमा सामान पुग्छ। कतिपय ठाउँमा डेलिभरी कम्पनीसँग सहकार्य गरेका छौं।
काठमाडौंबाहिरको डेलिभरी खर्चिलो र अव्यवस्थित हुन्छ। त्यसैले डेलिभरी कम्पनीहरू जतिसक्दो धेरै सञ्चालनमा आउनुपर्छ।
बजारमा स्थापित केही अनलाइन बजार छन्, थपिँदै पनि छ। जिभीलाई प्रतिस्पर्धामा कति मुस्किल छ?
अनलाइन बजार सोचेजस्तो सजिलो छैन। एउटा एप बनाए पुग्छ भन्ने होला, त्यो होइन। बजारीकरण गर्न सजिलो छ तर प्रविधिमा जोडिन निकै गाह्रो छ। जिभीले पनि बजारसँग भन्दा पनि बढी चुनौती प्रविधिसँग गर्नुपर्यो। यसका बाबजुद जिभीले नवीन प्रविधि प्रयोग गरेको छ।
नेपालका लागि ब्युटी र बेबीका लागि सबभन्दा ठूलो अनलाइन बजार जिभी नै हो। नेपालकै जनशक्तिले बनाएको जिभीमा प्याकेजिङदेखि बिलिङ र अरू काम अटोमेटिक हुन्छ। सबै प्रविधि नेपाली इञ्जिनियरले बनाएका हुन्। नेपालमै बनेको अनलाइन हो भन्नु पनि गर्वको कुरा हो। प्रविधिसँग खेल्न सके बजारसँग प्रतिस्पर्धा गर्न कठिन छैन।
जति धेरै इ-कमर्स थपियो, उति बढी डेलिभरी कम्पनी थपिन्छन्। त्यसकारण अझै पनि इ-कमर्स थपिनुपर्छ।
जिभीको आगामी योजना के छ?
जिभीको आगामी योजना भनेको यसलाई नम्बर एक इ-कमर्स बनाउनु हो। यसका लागि सामान, प्रविधि र बजारसँगै हामी दौडिरहेका छौं। नेपाली कम्पनीले विदेशी कम्पनीलाई हराउन सकेन भने उद्यमीहरूमा आत्मविश्वास हुँदैन। जिभीलाई लामो समयसम्म टिकाउन पूर्वाधारमा लगानी गरिरहेका छौं।
जिभीले बजार र ग्राहकको माग बुझेर आगामी दिनमा सामान थप्दै जानेछ। चाहेअनुसार सामान पाउने नेपालकै सबभन्दा ठूलो अनलाइन बजार बनाउन हामी प्रयासरत छौं।