निजी क्षेत्रको वायुसेवा कम्पनी यती एयरलाइन्सले सेवा विस्तार गर्ने क्रममा नयाँ विमान थपेको छ। कम्पनीले एटिआर ७२–५०० विमान थपेको हो।
यतीको यो छैटौं विमान सोमबार दिउँसो १५:१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा अवतरण भएको हो।
यतीले ७० सिट क्षमताको उक्त विमान अष्ट्रेलियाको एभिएसन कम्पनीसँग लिजमा ल्याएको बताएको छ।
उक्त विमान क्याप्टेन ओलिभर ज्यासन ज्याफ्रीले अष्ट्रेलिया, सिंगापुर, थाइल्यान्ड हुँदै नेपालमा ल्याइएको कम्पनीका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए।
एम एस एन नं. ९८६ सिरिजको उक्त विमानको पहिलो उडान सन् २०११ मा भएको थियो।
जम्मा १० हजार साइकल मात्र उडान गरेको उक्त विमान नेपालमा उडान गर्ने अन्य विमानभन्दा पछिल्लो विमान भएको कम्पनीको दाबी छ।
एटिआर विमानको जम्मा साइकल ७० हजार हुन्छ। एक अवतरणलाई एक साइकल गणना गरिन्छ।
विमान संख्या थप गरेसँगै कम्पनीले हाल उडान गर्ने गन्तव्यमा नै सेवा विस्तार गर्ने नीति लिएको प्रवक्ता बर्तौलाले जानकारी दिए।
'विमानको आवश्यक कागजी प्रक्रिया पुरा गरी रङरोगन गरे पश्चात् विमानले दशैं अगाडि नै उडान गर्ने र यसले गर्दा दशैंको बेला हुने टिकट अभावलाई पूरा गर्न सहयोग हुने विश्वास लिएका छौं।' बर्तौलाले भने।
यहि आर्थिक वर्षभित्र अर्को एक विमान थप गर्ने र त्यसपछि नयाँ गन्तव्यहरूमा सेवा विस्तार गर्ने समेत उनले बताए।
विमान थप भएपछि पाँच वटा विमानलाई आधार बनाइ उडान गर्ने र एउटा विमानलाई जगेडामा राखी मर्मत तथा उडान ढिला हुँदा प्रयोग गरिने कम्पनीले जनाएको छ।
यतीले हाल नेपालको सुगम गन्तव्यहरू काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्ज लगायत पर्वतीय उडानहरू गर्दै आएको छ।
त्यस्तै, कम्पनीले अन्तर्राष्ट्रियतर्फ चार्टर र नन-सेड्युल उडान गर्ने अनुमति पाएको बताएको छ।