कोटेश्वरबाट काठमाडौं छाडेर भक्तपुर प्रवेश गर्नासाथ कौशलटारमै छ 'रिडर्स हब एन्ड क्याफे'। यहाँ बिहान आठ बजे नै चहलपहल सुरू हुन्छ। गत साताको एक दिन बिहान दस नबज्दै हामी त्यहाँ पुग्यौं।
कोही राजनीतिक गफमा भुलेका थिए, कोही कुनाको टेबल समातेर ल्यापटपमा केही गर्दै थिए त कोही कफी पिउँदै किताब पढ्दै थिए। कोही चाहिँ साथी पर्खेका जस्ता देखिन्थे।
प्रत्येक व्यक्ति आआफ्नै धुनमा थिए। उनीहरूको अनुहारमा आनन्द र स्फूर्तिको भाव झल्किन्थ्यो।
रिडर्स हब एन्ड क्याफे कसैका लागि क्याफे, कसैका लागि पुस्तकालय त कसैका लागि ल्यापटपमा काम गर्ने ठाउँ भएको छ।
'ग्राहकको रूचि अनुसार खण्डहरू विभाजित छन्। क्याफे क्षेत्रमा परिकार खाँदै साथीहरूसँग कुरा गर्न, ख्यालठट्टा गर्न र हाँस्न पाइन्छ,' क्याफेका सञ्चालक बन्दना आचार्यले भनिन्।
यो क्याफे बन्दना र उनका श्रीमान अनुप आचार्यले खोलेका हुन्। क्याफे सुरू भएको एक वर्ष पूरा भयो।
यहाँको कोठा शान्त छ। बसेर ल्यापटपमा कुनै काम गर्न वा पुस्तक पढ्न सकिन्छ। खुला बार्दलीको हावा खाँदै बस्न पनि पाइन्छ।
रिडर्स हब एन्ड क्याफेको प्रवेशद्वारबाट भित्र हेर्दा क्याफेभन्दा बढी पुस्तकालय जस्तो देखिन्छ। किताबहरूले सजिएको एउटा ठूलो र्याक छ। यसको छेउमा कफी मेसिन राखिएको छ।
यहाँ विद्यार्थी, प्राध्यापक, जागिरे, कवि, लेखक, कलाकार, पत्रकार लगायतका मानिसहरू पुग्छन्।
'हाम्रोमा दैनिक दोहोरिएर आउने ग्राहकको संख्या बढी छ। दैनिक ६० जनासम्म ग्राहकलाई सेवा दिइरहेका छौं,' बन्दनाले भनिन्।
धापासी र हात्तीवनमा पनि रिडर्स हब एन्ड क्याफेका शाखा छन्। ती शाखाको विशेषता पनि कौशलटारकै झैं हो।
'हामी किताब र पढाइलाई फेन्सी बनाउन चाहन्छौं,' अनुप भन्छन्, 'यहाँको सजावटमा भन्दा बढी किताब र सेवा प्राथमिकतामा राखेका छौं।'
अंग्रेजी शब्द 'रिडर्स' ले पाठक र 'हब' ले कुनै क्षेत्रको केन्द्रीय ठाउँ बुझाउँछ। पढ्न चाहने व्यक्तिहरूलाई लक्षित पुस्तकालय, क्याफे र पसलको मिश्रित आइडियामा रिडर्स हब एन्ड क्याफे सुरू भएको हो। नाम पनि यही अवधारणामा जुराएको उनले बताए।
काठमाडौंको भिडभाडभन्दा अलग तर हरेक प्रकारका मानिसको पहुँच पुग्ने ठाउँमा सञ्चालन गर्ने योजनाअनुसार शाखा विस्तार गरेको अनुपको भनाइ छ।
यो क्याफेको मुख्य आकर्षण किताब नै हो। सञ्चालकहरू नयाँनयाँ किताब थप्नमा पनि लागेका छन्। अनुपका अनुसार हाल कौशलटार शाखामा विभिन्न विधाका पाँच सयभन्दा बढी किताब छन्। धापासी र हात्तीवन शाखामा दुई/दुई सय किताब छन्।
क्याफेमा नेपाली लेखक र प्रकाशक आफैंले पनि किताब पुर्याउने गरेका छन्। कतिपय पाठकले समेत उपहारमा दिने गरेका छन्। बन्दनाका अनुसार क्याफेमा किताब मुख्यतया त्यहीँ बसेर पढ्नका लागि हो। केही किताब ग्राहकले घर लगेर पनि पढ्न पाउँछन्। कुनैकुनै किताब ग्राहकले किन्न पनि पाउँछन्। ग्राहकको यस्तो सुविधाका लागि र्याकमा अलगअलग खण्ड छन्।
'करिब दुई लाख रूपैयाँको दुई सय वटा किताब किनेर रिडर्स हबको कौशलटार शाखा सुरू गरेका थियौं। यहाँ मात्रै अहिले १० लाखभन्दा बढीका किताब छन्,' बन्दना भन्छिन्, 'झट्ट हेर्दा ठूलो लगानी नदेखिए पनि किताबमा हामीले धेरै लगानी गरेका छौं। यसमा हामी सन्तुष्ट पनि छौं।'
रिडर्स हब एन्ड क्याफे सञ्चालनअघि बन्दना र अनुप 'राम्रोबुक डटकम' चलाउँथे। यसमार्फत उनीहरू अनलाइनमा किताब बेच्थे। यो व्यवसाय फस्टाउन सकेन। काम सुरू भएको एक वर्षमै गएको भूकम्प, त्यसपछिको नाकाबन्दी लगायतका कारण उनीहरूले व्यवसाय निरन्तर गर्न सकेनन्।
राम्रोबुक डटकमसँगै उनीहरूले राम्रोजब डटकम पनि सुरू गरेका थिए। यसमा विभिन्न कम्पनीमा खुलेको जागिरबारे अपडेट हुन्छ। यसले जागिर खोज्ने व्यक्ति र कम्पनीबीच मध्यस्थको भूमिका निर्वाह गर्छ। राम्रोजब डटकम भने चलिरहकै छ। बन्दना र अनुप यसमा पनि सक्रिय छन्। यसबाहेक अनुप विगत चार वर्षदेखि बौद्धस्थित अरुणिमा कलेजमा पढाइरहेका छन्।
राम्रोबुक डटकम बन्द भएपछि उनीहरूले पाठकहरू आएर किताब पढ्न पाउने 'बुक गार्डेन' सुरू गर्ने योजना बनाएका थिए। यसमा हतार भने गरेनन्। बजार अध्ययन गरे। अध्ययनका क्रममा उनीहरूले काठमाडौंका केही ठाउँमा शान्त वातावरण भएका क्याफे भेटे। ती क्याफेमा वेटरले ग्राहकलाई बेलाबेला केही खाना अर्डर गर्न मेनु दिने वा के खानुहुन्छ भनेर सोध्ने गरेको पाए।
अनुपलाई लाग्यो, यस्तो व्यवहारमा सुधार आवश्यक छ।
'कहिलेकाहीँ पढिरहँदा वा कुनै काम गरिरहँदा एकसुरमा भइन्छ। यस्तोमा वेटरले बोलाउँदा अलमल हुन्छ,' अनुपले भने, 'रिडर्स हबमा ग्राहक आफैंले नभनुन्जेल थप केही खाजा अर्डर गर्न वा टेबल सफा गर्न हामी पुग्दैनौं।'
उनका अनुसार क्याफे बिहान ८ बजेदेखि राति ८ बजेसम्म खुला रहन्छ। ग्राहकहरू जति बेर बसे पनि कर्मचारीले 'डिस्टर्ब' गर्दैनन्।
रिडर्स हबमा कफी, चिया लगायत पेय पदार्थ पाइन्छ। क्याफेकै उत्पादन बेकरी परिकार पनि पाइन्छ।
क्याफेले रोजगारीमा महिलालाई प्राथमिकता दिएको छ। तीन वटा शाखाका बाह्र जना कर्मचारीमा सबै महिला छन्। कौशलटार शाखामा एकपटकमा ८० जनासम्म ग्राहक अटाउने क्षमता छ। धापासीमा ५० र हात्तीवनमा ४० जना अटाउँछन्।
क्याफेको बजार व्यवस्थापन अनुपको जिम्मामा छ। बन्दना सबै शाखा सञ्चालनको काम हेर्छिन्।
अनुप र बन्दनाको भेट २०६७ साल मध्यतिर भएको थियो। व्यापार प्रशासनमा स्नातकोत्तर गर्दा उनीहरू सहपाठी थिए। पछि भेटघाट बाक्लिँदै जाँदा प्रेममा परे अनि २०७२ सालमा बिहे भयो। उनीहरूले बिहेअघि नै राम्रोबुक डटकममा सहकार्य गरेर व्यावसायिक यात्रा सुरू गरेका थिए।
उनीहरू दुवै जना बैंकमा जागिरे थिए। आफैंले केही फरक काम गर्ने अठोट गरेर दुवैले जागिर छाडे। यसरी उनीहरूको व्यावसायिक यात्रा सुरू भयो।
रिडर्स हब एन्ड क्याफे सञ्चालनबारे उनीहरूले कोरोना महामारीको लकडाउनमा बढी गम्भीर भएर योजना बनाएका हुन्।
'लकडाउनको समयमा धेरैको जागिर गुम्यो। कतिपयको कार्यालय नै उठिबास भयो। यस्तोमा हामीलाई एउटा कार्यक्षेत्र बनाउन मन थियो जहाँ मानिसहरू खुलेर काम गर्न सकून्,' अनुप भन्छन्, 'यही सोचेर पनि रिडर्स हबको अवधारणा विकास भएको हो।'
आफ्नो व्यवसायमा सहरी क्षेत्रमा पठन संस्कृति विकासमा मद्दत पुर्याउने उद्देश्य रहेको पनि अनुपको भनाइ छ। क्याफेका प्रारम्भिक दिनमा अनुप र बन्दना आफैंले किताबहरू छाने। आजकाल पाठकहरूको सुझावअनुसार किन्छन्।
अनुप भन्छन्, 'हाम्रो छनौटको किताब पाठकको रोजाइको नपर्न सक्छ। पाठक र हाम्रो किताबको स्वाद नमिल्ने सम्भावना हुन्छ। पाठकहरूले रोजेको किताब सम्भवतः ठूलो जमातले मन पराउनु हुन्छ।'
सुरूआती दिनको तुलनामा अहिले ग्राहकहरूको व्यवहार र बुझाइमा पनि निकै भिन्नता देखिएको बन्दना बताउँछिन्।
'सुरूका दिनमा पढ्न इच्छुक नयाँ पाठकहरू हामीसँग कुन किताब पढ्ने भन्दै सुझाव माग्नुहुन्थ्यो,' उनले भनिन्, 'अचेल एक ग्राहकलाई अर्को ग्राहकले किताब छनौटमा मद्दत गर्नुहुन्छ।'
बन्दनाका अनुसार रिडर्स हब एन्ड क्याफे नयाँ साथी बनाउने हब पनि भएको छ। यहीँ बसेर केहीले नयाँ सम्बन्ध जुराए त केहीले व्यावसायिक अवधारणा फुराए।
'हामी त मानिसहरूबीच समाजिकीकरणमा पनि मद्दत पुर्याउँदै छौं। यसमा गर्व महसुस हुन्छ,' उनले भनिन्।
अनुपका अनुसार यो क्याफे शाखा विस्तारसँगै गुणस्तरीय सेवामा केन्द्रित छ। यसको फ्रेन्चाइजका लागि पनि प्रस्ताव आएको छ तर यसमा उनीहरूलाई हतार छैन।
अनुप र बन्दना दुई जनाबीचको समझदारी र फरकफरक क्षेत्रमा भएको विशेषज्ञताका कारण व्यवसाय राम्ररी अघि बढेको आचार्य दम्पतीको भनाइ छ।
'अवधारणा मात्रै भएर काम हुँदैन। कार्यान्वयन गर्ने तरिका चाहिन्छ,' उनीहरू भन्छन्, 'हामी आपसी समझदारीमा काम गर्दैछौं।'
अनुपका अनुसार यति बेला कौशलटारको शाखा थप फराकिलो बनाउने तयारी हुँदैछ। चाँडै बालबालिकाका लागि छुट्टै कक्ष बनाउने लक्ष्य छ। हल्ला गर्न नमिल्ने कोठा बनाउने तयारी छ। क्याफे क्षेत्र पनि विस्तार हुँदैछ।