सुर्खेत, वीरेन्द्रनगरकी खड्गकुमारी गाहा मगरले दुई वर्षअघि वीरेन्द्रनगर नगरपालिकाले दिएको ढाका बुनाइ तालिम लिइन्।
खड्गकुमारी अहिले वीरेन्द्रनगर नगरपालिका नजिकै स्थापित 'सिप विकास केन्द्र' मा दिनभर सारी बुन्छिन्। उनीसँग ढाका बुनाइको अरू सिप पनि छ। उनी एक महिनामा दुई वटा सारी बुन्छिन्।
नगरपालिकाले सबै भौतिक संरचना जुटाएर सिप विकास केन्द्र स्थापना गरेको छ। नगरपालिकाबाट तालिम लिएका महिलाहरू केन्द्रमा बसेर काम गर्न पाउँछन्।
केन्द्रमा धेरै जसो महिलाहरू सारी बुन्छन्। तर सबैको समस्या एउटै छ- महिनाभरिमा बुनेका दुईवटा सारी पनि समयमा बिक्री हुँदैनन्।
उनीहरूको उत्पादन तानबुना हो। यसमा हातैले काम गर्नुपर्ने भएकाले बढी समय लाग्छ, बढी श्रम पर्छ। यसकारण तुलनात्मक रूपमा महँगो हुन्छ।
'मसँग अहिले पनि दुइटा सारी छन्। तिजमा दिदीबहिनीलाई बेच्ने प्रयास गरेकी थिएँ,' खड्गकुमारीले भनिन्, 'बजारको सारी सस्तो भएर हो कि कुन्नि, मेरो बिक्री नै भएन।'
उनले बुनेका सारीका ग्राहक छरछिमेकी, आफन्त, चिनजानका व्यक्ति र तिनको सम्पर्कले आउनेहरू नै हुन्। यस्तो सारी बजारमा त बिक्री नै हुँदैन।
वीरेन्द्रनगर ठूला पसलमा सारी बेच्न जाँदा व्यापारीहरूले लगानीभन्दा कम मूल्यमा किन्न खोज्छन्।
'हामीले बनाउने सारीको मूल्य कम्तीमा आठ हजार रूपैयाँ हुन्छ, बढीमा १२ हजार हुन्छ,' खड्गकुमारी भन्छिन्, 'बजारमा व्यापारीले तीन हजार–पैंतीस सयमा देऊ भन्छन्। हाम्रो लगानी नै त्योभन्दा बढी हुन्छ। काम गरेको ज्याला पनि जोड्नुपर्यो।'
उनका अनुसार सारीको मूल्य त्यसका बुट्टामा भर पर्छ। थोरै बुट्टा भए आठ हजार पर्छ। धेरै बुट्टा भएकोलाई १२ हजारसम्म पर्छ। यसमा लगानी र पारिश्रमिक पनि परेको हुन्छ। पन्ध्र दिनभन्दा धेरै लगाएर मेहनत र सिपले बुनेको सामानले भाउ नपाउँदा उनीहरूलाई समस्या भएको छ।
सुरूमा नगरपालिकाले सारी बनाउने धागो पठाइदिने गरेको थियो। अहिले दिँदैन। एउटा सारी बनाउन कम्तीमा तीन हजार रूपैयाँको धागो चाहिन्छ।
'हाम्रो सीप र लगानीको मूल्य नै नभएपछि बजारमा दिएर घाटामा बेच्ने कुरा भएन,' खड्गकुमारीले भनिन्, 'घरमा बसिराख्नुभन्दा सिप रहन्छ, अलिअलि आम्दानी पनि हुन्छ भनेर यहाँ आएर सारी बनाउँछौं।'
वीरेन्द्रनगरकै कमला श्रीमाल पनि सीप विकास केन्द्रमा बसेर दिनभर सारी बुन्छिन्। खड्गकुमारी जस्तै उनी पनि ढाका बुनाइको धेरै काम जान्दछिन्। दुई महिनाको तालिममा उनले ढाकाको पछ्यौरा, चोलो, कुर्ता, सल, गलबन्दी र टोपी पनि बुन्न सिकिन्।
कमलाले एक महिनामा दुइटा सारी बनाइन्। ती सारी घरमै प्रयोग गरिन्। आफूले लगाएर अरूलाई देखाउन चाहेको उनको भनाइ छ। आफूले लगाएपछि दिदीबहिनीहरू आकर्षित हुने उनको विश्वास छ। बजारमा व्यापारीलाई दिएर लगानी नै नउठ्ने भएपछि उनी गाउँ डुलेर सारी बेच्ने विचारमा छिन्।
नगरपालिकाले ढाका बुनाइको तालिम दिएर खोलेको सिप विकास केन्द्रमा हाल १२ जना महिला सारी बुन्छन्। उनीहरूमध्ये कोही चोलो, गलबन्दी र अन्य केही पोसाक पनि बुन्छन्।
खड्गकुमारीका अनुसार सिप विकास केन्द्रमा महिला उद्यमीले बनाएका १२ वटा सारी अहिले पनि थन्केका छन्। वीरेन्द्रनगर नगरपालिकाले महिला स्वरोजगार कार्यक्रमअन्तर्गत नगरका केही महिलालाई भिन्नाभिन्नै तालिम दिएको थियो।
'अब आफैं उद्यम चलाउनुस् भनेर नगरपालिकाले छोडिसक्यो। हाम्रो सिपअनुसार न नाफा भयो, न त उद्यमी भनेर चिनियौं,' खड्गकुमारी भन्छिन्, 'हामीले बनाएका सारी र पोसाक कसैले एकमुष्ठ किनेर बेच्ने व्यवस्था भए सजिलो हुन्थ्यो।'
विमला धामी पनि सीप विकास केन्द्रमै सारी बुन्छिन्। उनको पनि समस्या उही हो।
'कहिलेकाहीँ एक-दुइटा बिक्री हुन्छ। बनाउने बित्तिकै बिक्री हुने भए त दिनरात काम गरेर भए पनि धेरै बनाउँथेँ,' विमला भन्छिन्, 'बजारमा व्यपारीलाई दिँदा त लिलामीको भाउमा खोज्छन्, कामै छैन।'
बजारमा हाते तानबुना जस्तै देखिने तर कम गुणस्तरका सारी सस्तोमा पाइने भएकाले तानबुना महँगो सारीले मूल्य नपाएको खड्कुमारीको भनाइ छ।
'विदेशतिर मेसिनले छिटोछिटो बनाएर सस्तो भएको पनि हुन सक्छ। हामी त दिनभर ढाड दुखाएर तानमा बुन्छौं। मेसिनको जस्तो सस्तो हुने कुरै भएन,' उनी भन्छिन्।
उनका अनुसार तानबुना सारी गुणस्तरीय हुन्छ।
वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया भण्डारीले महिलाहरूलाई सिप सिकाएर उद्यम गर्न पठाएको बताइन्।
'कार्यविधि बनाएर दिदीबहिनीलाई तालिम दियौं। हामीले भौतिक संरचना पनि बनाइदिएका छौं,' उनले भनिन्, 'अब सिप सदुपयोग गरेर आफैं उद्यम गर्नुस् भनेर छोडेका छौं। उहाँहरू आफैं उद्यमी बन्नुपर्यो।'
नगरप्रमुखले भनेको भौतिक संरचना सिप विकास तालिम केन्द्र हो।