बढ्दो आधुनिकीकरणसँगै आम मानिसको जीवनशैली परिवर्तित छ। विशेषगरि शहरी क्षेत्रमा बढ्दै गएको आधुनिक जीवनशैली ग्रामिण भेगमा पनि सर्दै गएको छ।
यसै क्रममा फर्निचरजन्य उत्पादन पनि जीवनशैली बदल्ने मुख्य पाटो बनिरहेको छ। पुर्खौली शैलीका फर्निचरजन्य उत्पादन अहिले प्रविधिको विकाससँगै आधुनिक फर्निचर उत्पादनका रूपमा परिणत हुँदै आएका छन्। यसलाई आम मानिसले महत्वका साथ जीवनशैली बदल्ने पाटोका रुपमा आत्मसाथ गर्दैछन्। जसले फर्निचरका उत्पादनको बजार तिब्र रुपमा बढिरहेको छ।
फर्निचरजन्य उत्पादनको बजार बिस्तार हुँदै गर्दा आत्मनिर्भर हुन असज वातावरणको सामना गर्नुपर्ने अवस्था विडम्बनाको विषय हो। यहीँ समस्यालाई निराकरण गर्दै व्यवसायका साथै बजार बिस्तारको लक्ष्य सहित वर्षेनी फर्निचर तथा फर्निसिङजन्य उत्पादनको प्रदर्शनी हुँदै आएको छ।
निजी क्षेत्रको व्यापक सक्रियतामा अहिले फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने पहल भइरहेको छ। यसै सन्दर्भमा भदौ २३ गतेदेखि राजधानीको भृकुटीमण्डपमा आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०२२) आयोजना भईरहेको छ।
अहिले झण्डै ५० प्रतिशत विदेशी फर्निचरजन्य उत्पादनले बजार ओगटिरहेको अवस्थालाई न्युनिकरण गर्ने लक्ष्यलाई टेवा पुर्याउने योजना एक्स्पोको छ। नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेण्ट सोलुसनको व्यवस्थापनमा आयोजना भइरहेको एक्स्पोलाई सन्दर्भ बनाएर संघका अध्यक्ष शुभेन्द्र जोशीसँग गरेको छोटो कुराकानीको संपादित अंश।
नेपालको फर्निचरजन्य उत्पादनको बजारको अहिलेको अवस्थालाई कसरी हेर्नु भएको छ?
हाम्रोमा सबैभन्दा बढी चिनीयाँ उत्पादनको आयात भइरहेको छ। प्रविधिको अधिकतम सदुपयोगले सस्तो र हेर्दा राम्रो हुने भएकाले चिनीयाँ उत्पादनको बजार हिस्सा धेरै भएको हो। नेपालमा न काठ पाईन्छ न त दक्ष जनशक्ति, जसले गर्दा आत्मनिर्भरताको बाटो पहिल्याउन समस्या भइरहेको छ।
हाम्रा दाजुभाइहरू फर्निचरका उत्पादनको प्रशिक्षण पाउने वित्तिकै विदेसिने भएका कारण यहीँ गुण्स्तरीय उत्पादन तयार गर्न नसक्दा फर्निचरका उत्पादन आयात गर्न वाध्य हुनु परिरहेको छ।
टर्की, मलेसिया, इन्डोनेसियाबाट पनि हामीकहाँ प्रशस्त फर्निचरका उत्पादनको आयत भइरहेको छ। यी मुलुकबाट आउने उत्पादन तुलनात्मक रुपमा महँगो पर्न जाने भएकाले बजार हिस्सा भने थोरै छ। तर पछिल्ला ४ वर्षमा भएको बजार बिस्तारले भने आशावादी हुन सक्ने देखिएको छ। किनकि ७० प्रतिशतभन्दा बढी वस्तु आयात हुँदै आएकोमा अहिले ५० प्रतिशतभन्दा कम मात्र आयातित वस्तुको बजार छ। स्वदेशी उत्पादकको प्रयासका कारण नै आशावादी हुन सकिएको छ। नतिजा आउन त समय लाग्छ नै।
अहिले फर्निचरका विदेशी उत्पादनले कति बजार हिस्सा ओगटेको छ?
फर्निचरमा आत्मनिर्भर बन्ने योजना पस्किँदै गर्दा दुःखका साथ भन्नुपर्ने अवस्था छ। अघि पनि मैले भनिसकेँ आशावादी हुने अवस्था हो तर त्यो अपेक्षित छैन। केही वर्ष अघिसम्म हामी ३० प्रतिशत उत्पादन मात्र मुलुक भित्र तयार गर्न सकिरहेका थियौं भने ठूलो हिस्सा अर्थात ७० प्रतिशत बजार विदेशी उत्पादनले खाईरहेको थियो।
अहिले यो अवस्थामा क्रमिक सुधार देखिएको छ। कारोबार रकमको कुरा गर्नु पर्दा पनि केही वर्ष अघिसम्म वर्षेनी झण्डै ३० अर्ब रूपैंया बराबरको फर्निचरको कारोबार हुँदा ७० प्रतिशत हिस्सा विदेशी उत्पादनको थियो। अहिले भने यस्तो कारोबार रकम ६० अर्ब हाराहारी छ भने ५० प्रतिशत आयातित उत्पादनको हिस्सा छ।
यसलाई तुलनात्मक रुपमा हेर्दा पहिले ९ अर्बको स्वदेशी र २१ अर्बको विदेशी उत्पादनको बजार थियो भने अहिले स्वदेशीको बढेर ३० अर्ब हाराहारी पुगेको छ भने विदेशीको पनि ३० अर्ब नै छ। यसले फर्निचर तथा फर्निसिङको व्यवसाय केही बिस्तार भईरहेको देखाए पनि व्यापार घाटाको खाडल भने बढेको छ।
नेपाली उत्पादनको अवस्था कस्तो छ?
उत्पादन बन्न नसक्ने भन्ने कुरा हुँदैन। विश्वव्यापीकरणले अहिले विदेशमा बनेका सामान नेपालमा पनि बनाउन सक्ने वातावरण बनिसकेको छ। तर, सबैभन्दा ठूलो समस्या काठको छ। यदि सरकारले राम्रोसँग काठ उपलब्ध गराउने हो भने केही वर्षमा नै ८० प्रतिशत उत्पादन नेपालमा तयार गर्न सक्छौं। र विदेशी उत्पादनको बजार २० प्रतिशतमा सिमित गराउन सकिन्छ। तर काठको प्रक्रिया लामो अनि झण्झटिलो छ।
हाम्रा फर्निचर व्यवसायीहरुले काठ सिधै वन विभागबाट पाउने अवस्था छैन। जसले गर्दा बाध्य भएर विदेशबाट काठ आयत गर्नु परिरहेको छ। यो पक्कै पनि राम्रो अवस्था होइन। अझ पछिल्लो पटकको काठमाडौंको लिलामीमा फर्निचर व्यवासयीलाई भाग लिन नपाउने भनेर गरिएको व्यवस्थाले सिण्डिकेटलाई प्रोत्साहन गरेको अनुभूति भएको छ।
यस्तो अवस्थामा आत्मनिर्भरताको विषय हामीलाई महत्वपूर्ण लागे पनि राज्यको नजरमा प्राथमिकतामा नपरेको देखिन्छ।
अहिले कार्पेट र म्याट्रेसमा हामी आत्मनिर्भर भईसकेका छौं। पछिल्ला केही वर्ष त राम्रो मात्रामा निर्यात पनि भएको थियो। तर बिडम्बना, हामीले ती उत्पादन तयार गर्न कच्चा पदार्थ आयात गर्नुपरिरहेको छ। कच्चा पदार्थ पनि मुलुकमा नै उपलब्ध हुने व्यवस्था राज्यले गरिदिने हो भने त्यसले आयात प्रतिस्थापनमा ठूलो भूमिका निर्वाह गर्ने थियो।
नेपाली काठ भन्दा विदेशी काठ सस्तो पर्ने भएकाले तपाईँहरू उतै केन्द्रित हुनु भएको हो ?
सस्तो भन्दा पनि बिदेशी काठ सजिलोसँग पाईन्छ। नेपाली काठ त पैसा तिरेर पनि पाइने अवस्था छैन। उद्योग चलाउनलाई महँगो वा सस्तो भन्दा पनि सामान छ कि छैन भन्ने पहिलो मान्यता हो। विदेशी काठ नचलाउँ भन्ने सोच भए पनि मुलुकको अवस्थाले बाध्यात्मक परिस्थितीमा विदेशी काठ भित्र्याउनु परिरहेको छ।
दिनहुँ धेरै मात्रामा स्वदेशी काठहरु नाश भएर गइरहेको अवस्था छ। राज्यको नीति नै उपलब्ध स्रोत साधनको वैत्रानिक सदुपयोगमा केन्द्रित छैन। यस्तो अवस्थामा हामीसँग विदेशबाट काठ आयात गर्नुको विकल्प नै छैन। मलेसिया र भारतबाट फर्निचर बनाउने काठ अनि चीनबाट प्लाई अधिक रूपमा आयात भइरहेको छ। तुलनात्मक रुपमा विदेशी काठ सस्तो पनि पर्छ।
नेपाली अग्राख काठलाई विदेशी उत्पादनसँग कसरी तुलना गर्नुहुन्छ?
बाहिरको काठहरु हामीहरुले बाध्यताले मात्र झिकाएका हौ। नत्र नेपाली काठ जस्तो टिकाउ विदेशी काठ हुँदैनन्। मूल्यका आधारमा भन्नुपर्दा नेपाली अग्राखको लागत २० प्रतिशतले महँगो पर्न जान्छ। तर गुणस्तरीय उत्पादनका कारण मूल्यलाई मात्र बजारले हेर्दैन। विदेशी काठको आयात हुन थालेको दशक पुग्न लागेको छ।
सरकारलाई यस सम्बन्धमा पटक पटक घच्घच्याउने काम भएको छ। हरेक पटक सकरात्मक कुरा पनि आउँछ। तर सरकार छिनभरमा नै फेरिने समस्याले कुनै निकायले पहलकदमी लिन सकिरहेको छैन। छिनछिनमा हुने नीतिगत परिवर्तन सिभित व्यक्ति लक्षित हो जस्तो देखिन थालेको छ।
वास्तवमा यो उद्योगप्रति कसैले ध्यान दिएको हुनेथियो भने हामी अहिले आफ्नै गूणस्तरीय कच्चा पदार्थलाई नष्ट गरेर विदेशी काठ आयात गरिरहेका हुने थिएनौं। यति भन्दै गर्दा आशावादी त भईराख्नुपर्छ।
नेपाली काठ अहिले कस्ता उत्पादनमा बढी प्रयोग भइरहेको छन्?
नेपाली काठमा बढी बिक्री हुने अफिस टेबल, पलङ लगायत पर्छन्। महंगो भए पनि टिकाउ र बलियो हुन्छ भनेर यही किन्न मन पराउँछन्। पाएसम्म मानिसहरू यहीँ किन्न खोज्छन्, नपाएको अवस्थामा चिनीयाँ उत्पादन किन्न बाध्य छन्। पछिल्लो समय स्वदेशी उत्पादन पनि गुणस्तर र मूल्यका आधारमा विदेशीसँग प्रतिष्पर्धी बन्दै गइरहेको देख्दा खुसी लाग्छ।
पछिल्लो ४ वर्ष यता स्वदेशी उत्पादन हेरेर नाक खुम्च्याउँने परिपाटीमा अहिले धेरै सुधार आएको छ। प्रविधिको सहज उपलब्धताले नै स्वदेशी उत्पादन पनि प्रतिष्पर्धी भएको हो भन्ने लाग्छ।
फर्निचर क्षेत्रको समस्या? सरकारले के गरिदिए हुन्थ्यो?
सबैभन्दा समस्या कच्चा पदार्थको हो। जति पनि बैठक हुन्छन्, त्यसमा पनि सबैको यही एउटा गुनासो आउने गर्छ। यो उद्योगमा वर्षेनी ६० अर्बको वस्तुको कारोबार हुनु चानचुने कुरा होइन। ६० अर्बको कारोबार गर्नेले प्रत्यक्ष रोजगारीमा कम्तीमा पनि एउटा पसल तथा व्यवसायले ५ जना कामदार राख्दा पनि १५ हजारभन्दा बढी सामान्य व्यवसायले लाखौंलाई रोजगारी दिइरहेको छ।
यो अवस्थालाई हेरेर पनि सरकारले जनशक्ति उत्पादनका साथै कच्चा पदार्थको सहजतामा विशेष जोड दिए हुन्थ्यो भन्ने लाग्छ। अहिले ५० प्रतिशत कच्चा पदार्थ स्वदेशमा तयार भईरहेको अवस्थामा सरकारले सहयोग गर्ने हो भने २ वर्षमा यसलाई ७० प्रतिशतमा उकाल्न सकिन्छ जस्तो लाग्छ। तर त्यसका लागि नीतिगत व्यवस्थाहरु गरिनुपर्छ।
फर्नेक्स २०२२ नै किन?
हाम्रो मेलामा यसपटक अन्तर्राष्ट्रिय कम्पनीका स्टल पनि छन्। विगतको अनुभवका आधारमा एउटै कम्पनीले धेरै स्टल बुक गरेको अवस्थाले उत्साहित बनाएको छ।
पछिल्लो संस्करणको मेलाले राम्रो प्रतिकृया दिएकाले पनि हामी हरेक वर्ष झनै उत्साहित बन्दै गईरहेका छौं। पहिले भृकुटीमण्डपको हलमा मात्र प्रदर्शनी हुन्थ्यो तर अहिले बाहिर पनि डुम राखेर प्रदर्शनी गरिरहेका छौं। अवलोकनकर्ताको चाप वर्षेनी बढिरहेको छ। मेलामा सहभागि प्रदर्शकको संख्या पनि बढिरहेको छ।
यस पटक दुःखका साथ हामीले धेरै इच्छुक प्रदर्शकहरुलाई मेलामा प्रदर्शनीस्थल उपलब्ध गराउन सकेनौं। जो पहिले आउँछ ऊ नै प्राथमिकतामा पर्दा धेरै साथीहरु प्रदर्शनीमा सहभागी हुन सक्नुभएन। यसमा संघका तर्फबाट क्षमा याचना गर्न चाहन्छु।
मेलामा तपाईँ हामीले जति नै सम्झाए पनि अवलोकनकर्ताको उपस्थिति थोरै हुँदा प्रभावकारिता कम हुन्छ। आयोजकका तर्फबाट म सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई मेलामा आएर हामीले के उत्पादन गर्दैछौ? कस्ता सामान उत्पादन गरिरहेका छौं ? विदेशी सामान र स्वदेशी सामानमा गूणस्तर तथा मूल्यमा कति अन्तर पर्छ भन्ने जस्ता विषय मेलामा आएर बुझिदिनुभयो भने त्यसले स्वदेशी उत्पादनको माग बढाउनेमा विश्वस्त छु।
हामी के कुरामा सक्षम भईसक्यौ भन्ने हेरिदिनुस्। अरू बेला एउटा फर्निचरको लागि धेरै ठाउँ दगुर्नु पर्ने हुन्छ तर यहाँ सबै कुरा एउटै छाना मुनी पाईन्छ। र, तपाईहरुले हामीलाई साथ दिएर नेपाली उत्पादनलाई जोड दिनु भयो भने केही वर्षमा नै हामी आत्मनिर्भरताको बाटो पहिल्याउन सक्छौं।