नजिकिँदै गरेको दसैं-तिहार र छठको अवसरमा 'आइएमई' ले नयाँ अफर सार्वजनिक गरेको छ। कम्पनीले ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने नाराका साथ आइएमई दसैं अफर- २०७९ सार्वजनिक गरेको हो।
उक्त अफरमा के-के सुविधाहरू समावेश गरिएका छन्? कुन ग्राहक वर्गलाई लक्षित गरिएको हो? ग्राहकलाई यसले कसरी फाइदा गर्छ?
यिनै विषयमा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) खिलेन्द्र पौडेलसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छ।
आइएमईले सार्वजनिक गरेको दसैं अफर के हो?
आइएमईले चाडपर्व विशेष नयाँ अफर सार्वजनिक गरेको हो। हामीले वार्षिक रूपमा यस्तो अफर सार्वजनिक गर्दैछौं जसबाट सेवाग्राहीहरू लाभान्वित हुन सक्छन्। यसबाहेक साप्ताहिक र मासिक अफर र योजनाहरू सार्वजनिक गरिरहेकै छौं।
यो दसैं अफरको नारा हामीले ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ राखेका छौं। योजनाअनुसार आइएमई मार्फत आउने रेमिटेन्स प्राप्त गर्ने व्यक्तिमध्ये प्रत्येक दिन एक जनाले एउटा मोबाइल सेट, प्रत्येक हप्ता दुई जनाले २५-२५ हजार रूपैयाँ नगद र अफर सकिएपछि अन्तिममा एक जनाले बम्पर उपहारमा १० लाख रूपैयाँ प्राप्त गर्न सक्नेछन्।
बम्परको नतिजा घोषणा कहिले गर्नुहुन्छ?
योजना सकिएको एक सातादेखि १५ दिनभित्र बम्परको विजेता घोषणा गर्नेछौं। रेमिटेन्स पठाउने व्यक्ति नेपालमा उपस्थित भए उनैलाई उपहार हस्तान्तरण गरिनेछ। नभए उनले सिफारिस गरेको व्यक्तिलाई नगद पुरस्कार हस्तान्तरण गर्नेछौं।
लक्षित ग्राहक को हुन्?
आइएमईमार्फत विदेशबाट रेमिटेन्स पठाउने र नेपालमा पाउने व्यक्ति सबै योजनाको स्वतः सहभागी हुन्छन्। यसका लागि यति नगद भन्ने तोकिएको छैन। यति बेला १९० भन्दा बढी देशबाट आइएमईमार्फत रेमिटेन्स पठाउनेहरू छन्। हाम्रो सेवा नेपालको हरेक पालिकासम्म पुगेको छ। त्यसैले रेमिटेन्स पाउने कुनै पनि क्षेत्रका हरेक मानिसलाई लक्षित गरेका छौं।
यो अफर सार्वजनिक गर्नुको मुख्य उद्देश्य के हो?
दसैं-तिहार र विशेष चाडपर्व लक्षित अफरले हाम्रो व्यवसाय प्रवर्द्धनमा मुख्य भूमिका खेलेको छ। हामी र सेवाग्राहीबीचको सम्बन्ध बढाउन र मजबुत बनाउन पनि यस्ता अफरले मद्दत गर्छ।
यसबाहेक चाडपर्व विशेष अफर र योजना सार्वजनिक गर्नाले विजयी सेवाग्राहीलाई आर्थिक सहयोग मिल्ने विश्वास राखेका छौं।
यो अफर कहिलेदेखि सुरू भएको हो र कहिलेसम्म चल्छ?
यो अफर गत भदौ १६ गतेदेखि सुरू भएको हो र आउँदो कात्तिक १६ गतेसम्म चल्छ। अर्थात् २०२२ को सेप्टेम्बर १ मा सुरू भएको अफर नोभेम्बर २ सम्म चल्नेछ। अफर जम्मा ६३ दिनका लागि मान्य हुनेछ।
यसभन्दा अघि कस्ता-कस्ता अफर सार्वजनिक गर्नुभएको छ?
दसैं-तिहार र चाडपर्व विशेष यस्तो भव्य अफर सुरू गरेको एक दशक बढी भयो। कोरोना महामारी समयमा समेत हामीले ‘भरोसा कोष’ को स्थापना गर्यौं। यसबाट महामारीका कारण विदेशमा ज्यान गुमाएका नेपालीहरूको परिवारलाई आर्थिक सहयोग गर्यौं।
हामी बजारको माग, स्थिति र समयअनुसार विभिन्न अफरहरू सार्वजनिक गर्छौं। प्रायः ग्राहकलाई प्रत्यक्ष लाभ पुग्ने खालका अफर सार्वजनिक गर्छौं। यसबाहेक सामाजिक दायित्वअन्तर्गत समेत योजनाहरू सार्वजनिक गर्दैछौं।
यस्ता अफरले नेपालको आर्थिक पाटोमा कसरी फाइदा पुग्छ? के अपेक्षा राख्नुभएको छ?
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार नेपाल भित्रिने रेमिटेन्समध्ये २५ प्रतिशत योगदान आइएमईको छ। हाम्रो अध्ययनअनुसार विदेशबाट दसैं-तिहार र चाडपर्व समय एकमुष्ठ रकम पठाउने प्रवृत्ति पनि बढी हुन्छ। यसो हुँदा अन्य महिनाको तुलनामा चाडपर्वको समय रेमिटेन्स बढी भित्रिन्छ।
‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ योजना सार्वजनिक भएसँगै १० देखि १५ प्रतिशतले रेमिटेन्स बढ्ने अपेक्षा राखेका छौं।
योजनाबारे सेवाग्राहीहरूलाई कसरी जानकारी गराउँदै हुनुहुन्छ?
विभिन्न सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट अफरबारे जानकारी गराउँदै छौं। ठाउँ अनुकूल रेडियो, टेलिभिजन, पत्रिकाबाट जानकारी प्रसारण गर्दैछौं। विदेशी स्थानीय मिडियामार्फत पनि जानकारी सार्वजनिक गरिरहेका छौं।
पहिलेको तुलनामा अहिले डिजिटल माध्यमबाट रेमिटेन्स पठाउने चलन बढ्दो छ। विदेशिने नेपालीहरू पनि तुलनात्मक रूपमा अहिले अर्ध-सीप भएका व्यक्तिहरू बढी छन्। त्यसैले रेमिटेन्स पनि बढी भित्रनुका साथै डिजिटल माध्यमबाट हुँदैछ।
आइएमईको आगामी योजना के छ?
अहिले हामी हरेक पालिकामा पुगेका छौं। भाविष्यमा हरेक वडामा हाम्रो सेवा पुर्याउने योजना छ।