स्वास्थ्यका कुरामा एउटा भनाइ छ– रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु राम्रो।
रोग लाग्न नदिन के गर्नुपर्छ? परम्परागत स्वास्थ्य चेतनाअनुसार योग, ध्यान र सन्तुलित आहारविहार मुख्य उपाय हुन्।
यसकै आधुनिक चेतना हो फिटनेस अर्थात शारीरिक तन्दुरुस्ती। सहरी क्षेत्रमा फिटनेसमा मद्दत गर्छन् व्यावसायिक फिटनेस क्लबहरूले।
पोखरामा यस्तै एउटा फिटनेस क्लब खोलेको छ स्थानीय व्यावसायिक घरना केसी समूहले। यो समूहले चाउचाउ, जलविद्युत लगायत क्षेत्रमा व्यावसायिक सफलता हासिल गरेको छ। फिटनेस क्लब खोल्नुको मुख्य प्रेरणा समूहका प्रबन्धक किरण केसीका हजुरबा कीर्तिबहादुर हुन्।
'हजुरबा मधुमेहको रोगी हुनुहुन्थ्यो। उपचारका लागि नेपाल र भारतका धेरै अस्पताल धाए पनि ५२ वर्षकै उमेरमै बित्नुभयो,' किरणले भने।
नेपालमै पहिलो चाउचाउ उद्योग खोलेका किरणका बुबा सूर्यबहादुर पनि निरोगी रहेनन्। रारा चाउचाउ उद्योगका संस्थापक सूर्यबहादुर उद्योगपति मात्र थिएनन्, राजनीतिज्ञ र समाजसेवी पनि थिए। प्रतिनिधिसभाका सदस्य पनि भए।
सूर्यबहादुर मधुमेह र मिर्गौलाका बिमारी थिए। उनको पनि ६३ वर्षकै उमेरमा, दुई वर्षअघि निधन भयो।
'निमोनिया र सुगर हुँदा बुबालाई दिल्लीमा तीन महिना राख्नुपर्यो। फेरि मिर्गौला प्रत्यारोपण गर्दा पाँच महिना दिल्लीमा राख्यौं,' किरणले भने, 'उहाँलाई कति पीडा थियो होला, उहाँलाई देखेर हामीलाई पनि धेरै पीडा महसुस हुन्थ्यो।'
किरणले युवावस्थामा स्वास्थ्यमा राम्रो ख्याल नगरेकै कारण बुबा र हजुरबाले जटिल रोगको सामना गर्नुपरेको निष्कर्ष निकाले। बुबाको उपचारमा क्रममा उनी यस्तो निष्कर्षमा पुगेका थिए।
यसै समय उनले सम्झे– रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु राम्रो।
निरोगी रहने एउटा उपायका रूपमा उनको दिमागमा एउटा फिटनेस सेन्टरको दियो बल्यो।
'चारवटा अस्पताल खोल्नुभन्दा एउटा फिटनेस सेन्टर खोल्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ भन्ने लाग्यो,' किरणले भने, 'स्वास्थ्यका लागि दिनको केही समय फिटनेसमा दिनु राम्रो हो। खानपिनमा पनि ध्यान दिनुपर्छ।'
अनि घारीपाटनमा खुल्यो 'पोखरा हेल्थ क्लब'।
यो हेल्थ क्लब सानो थियो तर किरणका बुबा र हजुरबाले भोगेको स्वास्थ्य समस्या र परिवारको पीडा सानो थिएन। व्यवसायका अन्य क्षेत्रमा करोडौं रूपैयाँ लगानी गरेका किरणले आफ्ना बुबा र हजुरबाको जसरी अल्पायुमा कसैको ज्यान नगुमोस् भन्ने सोचे।
समूहमा सल्लाह भयो। मेडिकल कलेज वा अस्पताल खोल्ने मोह भएन। अस्पताल जानु नपर्ने उपायको खोजी गर्दा पोखरा हेल्थ क्लबमा लगानी बढाएर बढाएर अन्तर्राष्ट्रिय स्तरको बनाउने निष्कर्ष आयो। यसअनुसार योजना बन्यो। समूहले पोखरामा अन्तर्राष्ट्रिय स्तरको फिटनेस क्लब बनाउन अमेरिकाको प्रख्यात 'गोल्ड जिम' को शाखा खोल्न चाहेको थियो।
अमेरिकी ब्रान्डको फिटनेस सेन्टर खोल्न किरणले काठमाडौंको ज्यास्मिन क्लबका सञ्चालक तथा प्रशिक्षक निरोज लामा, बरुण खड्का र अशोकबहादुर मल्लसँग सल्लाह गरे।
उनीहरूले पोखरामा अन्तर्राष्ट्रिय स्तरको फिटनेस सेन्टरको सम्भावनाबारे अध्ययन गरे। त्यो समय वर्षभरिमा झन्डै छ लाख विदेशी पर्यटक पोखरा आउँथे। नेपाली त हुने भइहाले।
'पोखरामा पनि गल्लीगल्लीमा फिटनेस सेन्टर खुलेको पायौं। तर अन्तर्राष्ट्रिय स्तरका प्रमाणित प्रशिक्षक नगन्य थिए,' किरणले भने।
उनीहरूले पोखरामा गुणस्तरीय सेवा दिन, सहरका अन्य फिटनेस सेन्टरका लागि अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षक उत्पादन गर्न र पर्यटक आकर्षित गर्न सकिने निचोड निकाले। स्वास्थ्य सुधारमा लगानी गर्ने केसी समूहको चाहनामा निरोज, बरुण र अशोकको अध्ययनले बाटो खोल्यो।
चार वर्षअघि योजना सुरू भए पनि कोरोनाका कारण क्लबको काम दुई वर्ष धकेलियो।
अनि सानो पोखरा हेल्थ क्लब अन्तर्राष्ट्रिय स्तरको आभ्या क्लबमा रूपान्तरण भयो। पोखरामा फिटनेस व्यवसायबारे अध्ययन गरेका निरोज, बरुण र अशोकले पनि समूहसँग मिलेर क्लबमा लगानी गरेका छन्।
काठमाडौंको ज्यास्मिन फिटनेस क्लबमा आबद्ध निरोज सन् २०११ देखि 'मिस नेपाल' रियालिटी शोका फिटनेस संयोजक थिए। आभ्या क्लबमा लगानी गरेपछि उनी पोखरा नै बस्न थले। अहिले आभ्या क्लबका प्रबन्ध निर्देशक पनि निरोज नै छन्।
निरोज केही साथीहरूसँग मिलेर काठमाडौंमै अत्याधुनिक फिटनेस क्लब खोल्ने योजना बनाउँदै थिए।
'किरणकै जोडबलमा काठमाडौंको योजना पोखरा आयो,' उनले भने, 'सबै कुरा काठमाडौंमा मात्र केन्द्रित हुनु हुँदैन। पोखरामा निकै राम्रो सम्भावना देखेर हामी यहाँ आयौं।'
आभ्या क्लब २० रोपनी क्षेत्रफलमा फैलिएको छ। यो जमिन केसी समूहकै हो। किरणका अनुसार क्लबमा हालसम्म कम्तीमा १४ करोड रूपैयाँ लगानी भएको छ।
यो क्लब फिटनेस सेन्टरमा मात्र सीमित छैन। स्पा, साउना र स्टिम बाथको सुविधा छ। टेनिस कोर्ट र स्विमिङ पुल छ। योग हल र सेमिनार हल पनि छन्। खानका लागि रेस्टुरेन्ट छ। क्लबमा जानेहरूले त्यहीँ उपलब्ध पोषणविदको सल्लाहअनुसार खानपिनमा सुधार गर्न सक्छन्।
'क्लबको रेस्टुरेन्टले अर्गानिक कृषि उत्पादनबाट पोषणयुक्त परिकार तयार गर्छ,' किरणले भने।
क्लब परिसरमा फराकिलो पार्किङ छ। शौचालय र स्नानकक्ष सुविधायुक्त छन्। सबै संरचना अपांगता भएका व्यक्तिका लागि अनुकूल छन्।
प्रबन्ध निर्देशक निरोजका अनुसार आभ्या क्लबले दैनिक छ सय जनालाई सेवा दिन सक्छ। एकपटकमा तीस जनाले सेवा लिन सक्छन्। उमेरको के कुरा, छ वर्षदेखि ८० वर्षसम्मकालाई अनुकूल हुने गरी क्लब तयार गरिएको उनी बताउँछन्।
आभ्या क्लब अझै पनि पूर्ण क्षमतामा चल्न बाँकी छ। केही सभा–सेमिनार क्लबमा हुन्छन्। फिटनेसमा आउनेको संख्या बढ्दै छ। फिटनेस प्रशिक्षकको तालिम लिन आउने पनि थपिँदै छन्।
पोखराका विभिन्न फिटनेस क्लबमा प्रशिक्षक भइसकेका अञ्जना थापा र दुर्गा थापा अहिले आभ्या क्लबमा छन्। उनीहरू यसअघि आधिकारिक प्रशिक्षक थिएनन्। आभ्यामा दुई महिना 'प्रशिक्षक प्रशिक्षण' लिएपछि उनीहरूले अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षक प्रमाणपत्र पाए।
एम थापा क्लबका मुख्य प्रशिक्षक हुन्। उनी अफगानिस्तानमा अमेरिकी सेनाले अभ्यास गर्ने फिटनेस क्लबका प्रशिक्षक थिए। अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि नेपाल फर्किएर आभ्यामा आबद्ध छन्। उनैले अञ्जना र दुर्गालाई प्रशिक्षक प्रशिक्षण दिएका हुन्।
'मलाई विभिन्न देशका क्लबहरूले अहिले पनि कामको प्रस्ताव पठाउँछन्। तर म आभ्यामै रमाएको छु,' प्रशिक्षक थापाले भने।
क्लब सञ्चालक किरणका अनुसार उनीहरूले तत्काल मुनाफा कमाउने व्यवसायका रूपमा आभ्यामा लगानी गरेका होइनन्।
उनी भन्छन्, 'आभ्यामा लगानी हाम्रो छ तर यो पोखरेलीको क्लब हो। क्लबमा पोखरेलीको न्यानो माया बढ्दै गएको छ।'
आभ्याको परिसरबाट टाढा मानिने दीप र लामाचौर लगायतका ठाउँबाट पनि मानिसहरू आउने गरेका छन्। सिंगै परिवार छुट्टी मनाउन दिनभर आभ्या आउने र विभिन्न सुविधा प्रयोग गर्ने क्रम पनि बढ्दै छ।
क्लबले लिने शुल्क पनि निकै कम भएको किरण बताउँछन्। कलेज पढ्ने विद्यार्थीले दिउँसो केही छुट पनि पाउँछन्। खेलाडीलाई सहुलियत शुल्कमा फिटनेसको प्याकेज नै छ।
'पोखराका अन्य क्लबका तुलनामा हामीले धेरै राम्रो सेवा दिएका छौं,' किरणले भने।
प्रबन्ध निर्देशक निरोजका अनुसार सञ्चालकहरू आभ्यालाई ब्रान्ड बनाउने गरी अघि बढेका छन्। उनीहरूले क्लबमा विख्यात अमेरिकी ब्रान्डको प्रविधि भित्र्याएका छन्। विश्वचर्चित खेलाडी र सेलेब्रिटीले प्रयोग गर्ने अमेरिकी ब्रान्ड लाइट फिटनेस, साइबेक्स, प्रिकोर इकार्डियन लगायत ब्रान्डका उपकरण अभ्यामा जडित छन्।
'यी ब्रान्डका उपकरण बायोमेकानिलक अनुसन्धानका आधारमा बनेका हुन्। वैज्ञानिक परीक्षण गरिएका यी उपकरण अमेरिकाबाटै आयात गरेर जडान गरेका हौं,' निरोजले भने।
फिटनेस प्रशिक्षकलाई देशभित्रै र वैदेशिक रोजगारीमा पनि राम्रो अवसर छ। अन्तर्राष्ट्रिय स्तरको फिटनेस प्रमाणपत्र हुने व्यक्तिका लागि अवसरका ढोकाहरू खुल्ने उनी बताउँछन्।
निरोजको अनुभवमा नेपालमा फिटनेस क्लब व्यवसायका रूपमा विस्तार हुन सकेको छैन। फिटनेसलाई आयमूलक रूपमा हेरिएको छैन।
'पाखुरा ठूलो बनाएको व्यक्तिलाई हेर्ने नजर पनि बेग्लै, अलि गलत नै छ,' उनी भन्छन्, 'फिटनेसले व्यक्तिलाई स्वस्थ र अनुशासित राख्छ भन्ने बुझ्न जरूरी छ।'
क्लब जाँदा लाग्ने खर्च र पौष्टिक खानाको खर्च सधैं घरमा माग्ने बानीले यस्ता क्लबप्रति गलत धारणा बनेको निरोजको अनुभव छ। नियमित क्लब जाने युवाले अब प्रशिक्षक बनेर आयआर्जन गर्नेतर्फ सोच्नुपर्ने निरोजको सुझाव छ।
घाइते खेलाडीको उपचार अभ्यासका लागि आभ्यामा फिजियोथेरापी व्यवस्था छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीलाई बन्द प्रशिक्षणका लागि आवश्यक उपकरण र प्रशिक्षकको सुविधा पनि उपलब्ध भएको किरणले बताए।
'आभ्यामा अन्तर्राष्ट्रिय स्तरको सबै मापदण्ड पूरा भएको छ। क्लबसँग जोडिन खेल क्षेत्रका विभिन्न संघसंस्थाले प्रस्ताव गरेका छन्,' उनले भने।
क्लबले निकट भविष्यमा किसानका उत्पादन किनबेच गर्ने पनि सोच बनाएको छ। किसान आफैंले क्लब परिसरमा शनिबार आफ्ना उत्पादन बेच्ने व्यवस्था मिलाउन लागेको किरणले बताए। क्लबले खाना महोत्सव, सांस्कृतिक र साहित्यिक कार्यक्रम आयोजना गर्ने योजना पनि छ।
सञ्चालकहरूका अनुसार समग्रमा आभ्या क्लब फिटनेसभन्दा बढी 'वेलनेस सेन्टर' हो।
उनीहरू भन्छन्, 'वेलनेसले व्यक्तिको स्वास्थ्य ठीक राख्छ, परिवार र समाजमा फाइदा पुग्छ।'
सबै तस्बिर सौजन्यः आभ्या क्लब