वात्सल्य आइभिएफले 'ओभरियन टिस्यु फ्रिजिङ' गर्ने भएको छ।
वात्सल्यकी प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा. आकृति भारतीको अगुवाइमा वात्सल्यले शुक्रबार होटल अलफ्टमा आयोजना गरेको सेमिनारमा ओभरियन टिस्यु फ्रिजिङको विधि र आवश्यकता सम्बन्धी जानकारी गराएको थियो।
डा. भोला रिजाल, प्रमुख अथितिका रूपमा उक्त कार्यक्रममा फेसोन (फर्टिलिटि सोसाइटी अफ नेपाल) मा आबद्ध स्त्रीरोग विशेषज्ञहरूको उपस्थिति थियो। जर्मनीका इम्ब्रोयोलोजी विशेषज्ञ डा. जोसेफ लेह्नर र डा. आकृति भारतीले यस नयाँ प्रविधि सम्बन्धि तथ्यहरू पेस गरेका थिए।
वात्सल्यका अनुसार यस नयाँ प्रविधि (ओभरियन टिस्यु फ्रिजिङ) अन्तर्गत महिलाको डिम्बाशय वा यसका केही भाग डिम्बसहित झिकिन्छ। डिम्बसहितको टिस्युको पहिचान गरी यसको फ्रिजिङ गरिन्छ।
क्यान्सर रोगका कारण केमोथेरापी गराउनुपर्ने भएमा वा प्रजनन अंगमा हानी पुग्ने अन्य उपचार गराउनुपरेमा यो विधि उपयोगी सावित हुन्छ। यसले डोनर एग नै लिनुपर्ने बाध्यतालाई पनि न्यूनीकरण गर्ने डाक्टरहरूले बताए।
नेपालमा हालसम्म डिम्ब, शुक्रकिट र भ्रूणको मात्रै फ्रिजिङ हुँदै आएकामा यसै कार्यक्रममार्फत वात्सल्यका कार्यकारी निर्देशक प्रशान्त सुवेदीले, नेपालमै पहिलोपटक ओभरियन टिस्यु फ्रिजिङको सुरू गरेको जनाएका छन्।