दसैंको समयमा पनि सोचेजस्तो व्यापार नहुँदा न्युरोडका व्यापारीहरु चिन्तित बनेका छन्।
काठमाडौंको असन, इन्द्रचोक, न्युरोडका व्यपारीहरू दसैंको मुखमा पनि सोचेअनुसारको व्यापार नहुँदा निराश बनेका हुन्।
दसैंको समयमा अघिल्ला वर्षहरूमा ग्राहकहरुको ठेलमठेल हुने असन र न्युरोड बजार अहिले शुन्य प्रायः छन्। केही चहलपहल त छ तर सोचेअनुसारको ब्यापार हुन नसकेको व्यापारीले गुनासो गरेका छन्।
गत वर्षहरूमा न्युरोड क्षेत्रमा हिँड्नसमेत ठाउँ नहुने गरेर मानिसहरु किनमेलका लागि आउने गरे पनि यसवर्ष भने कम मात्रै आइरहेको उनीहरूले बताए। कोरोना महामारी पछि व्यापार व्यवसाय राम्रोसँग फस्टाउन सकेको छैनन्।
साथै नेपालीले पनि आफ्नो महान चाड कोरोनाकै कारण राम्रोसँग मनाउन सकेका छैनन्। यस वर्ष कोरोना महामारीको असर कम रहे पनि डेंगीका संक्रमणका कारण पुनः दैनिक जनजीवन अस्तव्यस्त बनेको छ।
चाडबाड नजिकिँदै गरिरहेको अवस्थामा देशभर डेंगीका बिरामी दिनप्रतिदिन बढिरहेका छन्। जसका कारण पनि आम मानिसहरू बजारमा त्यत्ति देखिँदैनन्। साथै चाडबाडमा नयाँ लुगा, नयाँ परिकार खानका लागि पनि अनलाइनबाटै होम डेलिभरी हुनाले भौतिक रूपमा नै उपस्थित भएर सामान किनबेच गर्नेको संख्या कम हुँदै गएको छ।
कोरोनाका कारण आम मानिसको आर्थिक अवस्था पनि कमजोर भएकाले बजारमा ग्राहकको चहलपहल कम भएको हुनसक्ने न्युरोडस्थित कपडा पसलका व्यापारी दिनेश शाही बताउँछन्।
उनले विगतका वर्षको तुलनामा यस वर्ष कमै मात्र व्यापार भएको बताए। त्यस्तै न्युरोडमा नै जुत्ता, चप्पल व्यापार गर्दै आएका उद्धव ढुंगेलको पनि भनाइ फरक छैन। सोचेअनुसारको व्यापार नहुँदा पसल भाडा तिर्न पनि हम्मेहम्मे परेको उनले बताए।
उनले विगतका वर्षहरुमा हिँड्ने बाटो नहुने न्युरोडमा यस पटक भने खुला भइरहेको अनुभव गरे।
दसैं नजिकिएसँगै व्यापार पनि होला भन्ने सोचले सामान ल्याएका व्यवसायीहरू ग्राहक नआउँदा समस्यामा परेको बताउँछन्।
कोरोना भाइरस र बढ्दो डेंगीका कारण नागरिकहरू घरभित्रै भएकाले पनि दसैंको सामान किन्न खासै बजार निस्किएका छैनन्। ग्राहकलाई आकर्षण गर्न व्यापारीले विभिन्न सामानमा छुटको व्यवस्था गरे पनि त्यसमा ग्राहकको आकर्षण कमै देखिएको छ।