अनलाइन बजार दराजले सामान डेलिभरीका लागि अब विद्युतीय स्कुटर प्रयोग गर्ने भएको छ।
थप वातावरणमैत्री सञ्चालनतर्फ अघि बढ्ने उद्देश्यले विद्युतीय दुईपांग्रे सवारी प्रयोग गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार हालै १० वटा ओकिनावा डुअल इलेक्ट्रिक स्कुटर किनिएको छ। यिनलाई काठमाडौं उपत्यकामा डेलिभरी गर्न प्रयोग गरिने छ। विशेषगरी धुम्बाराही, चाबहिल, कपन, कुलेश्वर, कालिमाटी, न्युरोड, नागार्जुन, पुलचोक, सानेपा, जावलाखेल लगायत केही क्षेत्रका ग्राहकसम्म सामान पुर्याउन विद्युतीय बाइकको प्रयोग गरिने छ।
'यस नयाँ पहलमार्फत दराजले आयातित इन्धनको खपतलाई स्वदेशमै उत्पादित बिजुलीले प्रतिस्थापन गर्ने र वातावरणमा कार्बन फुटप्रिन्ट कम गर्ने अपेक्षा गरेको छ,' दराजले विज्ञप्ति जारी गर्दै भनेको छ, 'कम्पनीले दुई र चारपांग्रे दुवै खण्डमा विद्युतीय सवारीको संख्या विस्तार गर्ने योजना बनाएको छ।'
दराजकी प्रबन्ध निर्देशक आँचल कुँवरले यसलाई दिगो तथा वातावरणमैत्री सञ्चालनतिरको थप एक कदम भएको बताएकी छन्।
'हाम्रा डेलिभरी सवारीसाधनमा १० वटा विद्युतीय स्कुटर थपिएका छन्,' उनले भनिन्, 'हामी सधैं वातावरणमा हाम्रो कार्बन फुटप्रिन्ट कम गर्न कोशिस गर्दैछौं। हाम्रो प्याकेजिङ लगभग ८० प्रतिशत पुन: प्रयोग गरिएको कागजबाट हुँदैछ। हाम्रो थसिखेल हबमा आकाशे पानी संकलन प्रणाली पनि लागू गरिरहेका छौं। नागार्जुनको सामुदायिक वनमा चार सयभन्दा धेरै रूखहरू पनि रोपेका छौं।'
सेप्टेम्बर २३ मा दराजको थसिखेल हबमा आयोजित कार्यक्रममा दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले कम्पनीका गोपीकृष्ण, सोल्टीमोड र थसिखेल हबका डेलिभरी हिरोहरूलाई विद्युतीय बाइकको साँचो हस्तान्तरण गरेकी थिइन्।