हवाइजहाजभित्र जस्तो हुन्छ, त्यस्तै संरचना छ। सिटमा युवतीहरू बसेका छन्। एयर-होस्टेसजस्तै पोशाकमा देखिएकी एक युवती माइक समातेर सिटबेल्ट बाँध्ने तरिका सिकाउँछिन्। उनीजस्तै अरूहरू यात्रुले गर्न हुने र नहुने विषयमा जानकारी गराउँछन्।
त्यसअघि उनीहरू यात्रु बनेका युवतीलाई स्वागत गर्नेदेखि सिट देखाउने, जहाजभित्र जथाभावी हिँडडुल गर्न नदिने, उडान र अवतरण लगायतका विषय जानकारी गराउँछन्।
यो सबै प्रक्रिया सकिएपछि पालो फेरिन्छ। युवतीहरू पालैपालो यात्रु र एयर-होस्टेस बन्दै अभ्यास गर्ने क्रम चलिरहन्छ। सबै सहभागीलाई यो अभ्यास अनिवार्य हो।
उनीहरूलाई यो अभ्यास गराउँछ पोखराको 'एयरलायन्स फ्लाइट एटेन्डेन्ट एकेडेमी' ले। एयर-होस्टेसको तयारी कक्षा चलाउने यो एकेडेमीले काम र जिम्मेवारीका सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण दिन्छ।
यो एकेडेमी सन् २०१२ मा लमजुङ करापुटारकी शोभा केसीले स्थापना गरेकी हुन्। एयर-होस्टेसबारे कुनै जानकारी नभएकी शोभा यसअघि पर्यटन क्षेत्रमा संलग्न थिइन्। गाउँमै आफ्ना आमाबुवाको 'शोभा गेस्ट हाउस' मा सहयोग गर्थिन्।
दुई दशकअघिसम्म उनको गाउँबाट बग्ने मादी नदीमा र्याफ्टिङ चल्थ्यो। अन्नपूर्ण फेरो पदयात्रामा जाने पर्यटक पोखराबाट करापुटार, नाल्मा हुँदै बेँसीसहर झरेर मनाङतर्फ लाग्थे। कास्कीसँग सिमाना जोडिएको मादीमा र्याफ्टिङ गर्न आउने होस् वा अन्नपूर्ण फेरो पदयात्रामा जाने पर्यटकले, उनको होटल भरिभराउ हुन्थ्यो।
गाउँकै बोर्डिङ स्कुलमा अंग्रेजी सिकेकी शोभा सानामा पर्यटकहरूसँग अंग्रेजी बोल्ने अभ्यास पनि गर्थिन्।
'त्यति बेला पर्यटकलाई हामीले खाना र नास्ताबारे सोध्थ्यौं,' शोभाले भनिन्, 'गाउँमा आफ्नै होटल भएकाले 'हस्पिटालिटीका बारेमा अनौपचारिक जानकारी थियो।'
अहिले पर्यटक यो रूटबाट हिँड्दैनन्। पृथ्वी राजमार्गको डुम्रेबाट बेँसीसहर हुँदै सिधै मनाङसम्म मोटरबाटो पुगेको छ। पदमार्गमा मोटरबाटो बनेपछि करापुटार सुनसान छ। मादी नदीमा र्याफ्टिङ हुन छाडेको छ।
गाउँमा पर्यटक आउन छाडेका बेला उच्च शिक्षा अध्ययन गर्न शोभा पोखरा आइन्। एयर-होस्टेसको 'गल्यामर' देखेर आकर्षित भएको उनी बताउँछिन्। होटलमा काम गरेको अनुभवले उनलाई सेवाक्षेत्रमै लाग्ने रूचि पलाएको थियो तर एयर-होस्टेसबारे जानकारी थिएन।
'पोखरा आउनुअघि मलाई एयर-होस्टेसका बारेमा केही थाहा थिएन,' उनले भनिन्, 'एयर-होस्टेसको ग्ल्यामरले मलाई पनि यही क्षेत्रमा लाग्न मन लाग्यो।'
सन् २०११ तिर उच्च शिक्षा पढ्न पोखरा आएकी शोभा एयर-होस्टेसको तयारी कक्षा लिन पोखराकै एउटा एकेडेमीमा भर्ना भइन्। करिब ५ महिना तालिम लिएर उनले दुइटा एयरलाइन्समा आवेदन दिइन्। एउटामा नाम निस्कियो।
एयर-होस्टेस बन्न एयरलाइन्सले लिएको परीक्षा पास भएर मात्र हुँदैन। छानिएका उम्मेदवारलाई आन्तरिक रूपमा तालिम दिन्छ। त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले परीक्षा लिन्छ। प्राधिकरणको परीक्षा पास भएकाले बल्ल एयरलाइन्समा एयर-होस्टेसको काम पाउँछन्।
एयरलाइन्सको छनौटमा परेकी शोभाले काठमाडौंको एउटा होस्टलमा बसेर कम्पनीले दिएको तालिम पूरा गरिन्।
'प्राधिकरणले भने समयमै परीक्षा लिइदिएन। महिनौंसम्म पनि परीक्षा नभएपछि म फर्केँ,' उनले भनिन्।
सपनाको नजिकै पुगेर फर्केकी उनले हार मानिनन्। पोखरामै उनले एयर-होस्टेसको तयारी कक्षा सञ्चालन गर्ने निधो गरिन्।
यो सन् २०१२ को कुरा हो। त्यति बेला शोभाले एयर-होस्टेस तयारी कक्षा चलाउन करिब २० लाख रूपैयाँ लगानी गरिन्।
उनले बुटवलको 'सहारा एकेडेमी' को पोखरा शाखा खोलेकी थिइन्। वरिष्ठ पाइलट जीवनकुमार निरौलाले साथ दिए। जीवन र विभिन्न एयरलाइन्सका एयर-होस्टेसले प्रशिक्षण दिन थाले।
एकेडेमीकी अर्की मुख्य प्रशिक्षक हुन् अञ्जली शर्मा। शोभाका अनुसार अञ्जलीले अमेरिकी हवाइ कम्पनी 'डेल्टा एयरलाइन्स' मा एयर-होस्टेसका रूपमा काम गरेकी हुन्। त्यो बेला उनी नेपालको 'अग्नि एयर' की क्याबिन-क्रु म्यानेजर थिइन्। स्वदेशी र विदेशी एयरलाइन्समा काम गरेकी अञ्जली अहिले काठमाडौंमा एकेडेमी चलाउँछिन्।
'जीवन सरपछि मलाई धेरै साथ दिनुभएको अञ्जली म्यामले हो,' शोभाले भनिन्, 'हामीले प्रशिक्षार्थीलाई प्रदान गर्ने प्रमाणपत्रमा उहाँले सही गर्नुहुन्छ।'
एकेडेमी खोलेर एयर-होस्टेसका तयारी कक्षा सुरू गरेपछि भने प्राधिकरणले शोभालाई परीक्षाका निम्ति बोलायो। तर उडानको पखेटा हालिसकेकी उनी परीक्षा दिन गइनन्।
'प्राधिकरणले परीक्षाका लागि बोलाउँदा पोखरामै एकेडेमी खोलिसकेकी थिएँ। त्यही भएर म परीक्षा दिन गइनँ,' उनले भनिन्।
बरू बुटवलको सहारा एकेडेमी छाडेर 'एयरलाइन्स फ्लाइट एटेन्डेन्ट एकेडेमी' नामक आफ्नै कम्पनी दर्ता गरेर अघि बढिन्। आफूजस्तै रूचि भएकाहरूलाई बाटो देखाउने ठानिन्।
पोखरामा एकेडेमी सुरू गर्दा पढाउन आवश्यक पाठ्यक्रमदेखि प्रशिक्षकसम्मको व्यवस्था गर्न क्याप्टेन जीवनले सहयोग गरेको उनी बताउँछिन्।
'अहिले जीवन सर हाम्रो प्रशिक्षक हुनुहुन्छ,' उनले भनिन्, 'उहाँले सहयोग नगरेको भए मैले चाहेर पनि एकेडेमी चलाउन सक्थिनँ।'
शोभाका अनुसार एयर-होस्टेस तालिम लिन आउनेलाई जहाज उड्नुअघिदेखि जहाजभित्र र ल्यान्ड गरेपछि यात्रु बाहिर नजाँदासम्मका सम्पूर्ण पाठ्यक्रम पढाइन्छ। वायुसेवाबारे प्रशिक्षार्थीलाई एयरपोर्ट लगेर प्रयोगात्मक तालिम प्रदान गरिन्छ।
'हामी एयर-होस्टेसका जिम्मेवारीका बारेमा प्रयोगात्मक तालिम दिन्छौं,' उनले भनिन्, 'अंग्रेजी भाषा, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ, लगायत अरू विषय पनि हामीले पाठ्यक्रममा राखेका छौं।'
हवाइजहाज आपतकालीन अवतरणदेखि आगलागी नियन्त्रणसम्म अभ्यास गराइने उनले बताइन्।
यहाँ प्रशिक्षण लिएकालाई एकेडेमीले छनौट प्रक्रियामा पनि सहयोग गर्ने गरेको छ।
'एयर-होस्टेसदेखि ग्राउन्ड ह्यान्डलिङसम्मका अवसरहरूमा हाम्रा प्रशिक्षार्थीको फर्म हामी भरिदिन्छौं,' उनले भनिन्, 'छनौट परीक्षा र अन्तर्वार्तामा पनि सहयोग गर्छौं।'
एकेडेमीले तयारी कक्षा दिएपछि कम्पनीहरूमा काम पाउने कि नपाउने भन्ने चाहिँ प्रशिक्षार्थीमै भर पर्छ। एकेडेमीमा भर्ना भएको १५ दिनमै प्रशिक्षार्थी वर्षा गुरुङले एक कम्पनीमा नाम निकाल्न सफल भइन्। जबकी केही प्रशिक्षार्थीले १० वर्षदेखि परीक्षा दिँदासमेत नाम निकाल्न नसकेको शोभा बताउँछिन्।
'एयरलाइन्समा जागिर पाउन आफ्नै खुबी सबभन्दा महत्वपूर्ण हो,' शोभाले भनिन्, 'हामीले तयारी कक्षा दिने हो। अवसर आउँदा नाम निस्किने कि ननिस्किने भन्ने कुरा प्रशिक्षार्थीको खुबीमा भर पर्छ।'
शोभाको एकेडेमीमा तयारी कक्षा लिएका करिब ३० जना स्वदेशी र विदेशी एयरलाइन्स कम्पनीमा एयर-होस्टेस छन्। अन्तर्राष्ट्रिय उडान भर्ने नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र कतार एयरलायन्समा पनि यही एकेडेमीका प्रशिक्षार्थी एयर-होस्टज बनेको शोभाको भनाइ छ।
एयर-होस्टेसबाहेक विमानस्थलमा टिकेटिङ लगायत ग्राउन्ड ह्यान्डलिङको काममा पनि एकेडेमीका प्रशिक्षार्थीले अवसर पाएका छन्। यसबाहेक पोखरा लगायत विभिन्न ठाउँका राम्रा होटलले 'फ्रन्ट डेस्क' कर्मचारीका रूपमा लिने गरेको उनले बताइन्।
यहाँ कक्षा लिन आउनेहरू अधिकांश प्लस-टु सकेका युवतीहरू हुन्छन्। केही युवकले पनि तालिम लिन्छन्। उच्च शिक्षा पढ्न पोखरा आएका विद्यार्थी एयर-होस्टेसको ग्ल्यामर देखेर आउने शोभाले बताइन्।
'एयर-होस्टेस हेर्दा राम्रो, काम रमाइलो मानेर आउनेहरू धेरै छन्,' उनले भनिन्, 'यहाँ आएपछि बल्ल उनीहरूले कति मेहनत गर्नुपर्छ, कति चुनौती छ भन्ने थाहा पाउँछन्।'
एकेडेमीले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि निःशुल्क प्रशिक्षण व्यवस्था गरेको शोभा बताउँछिन्। उनका अनुसार वर्षमा ५ जनालाई यस्तो अवसर दिइन्छ। केहीलाई आवश्यकताअनुसार ३० देखि ५० प्रतिशत छुट व्यवस्था छ।
एयर-होस्टेसको ५ महिने तालिमको शुल्क ७० हजार रूपैयाँ तोकेको उनले बताइन्।
एकेडेमीले एउटा कक्षामा १६ जना मात्र प्रशिक्षार्थी राख्छ। बिहान, दिउँसो र साँझ सञ्चालन हुने कक्षामा प्रशिक्षार्थीहरू आफ्नो समयअनुसार सहभागी हुन्छन्। प्रशिक्षार्थीका लागि क्याप्टेन, एयर-होस्टेसदेखि मेडिकल लगायतका विषयमा विषयविज्ञले प्रशिक्षण दिन्छन्।
पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तयारीमा छ। आगामी पुस १७ देखि सञ्चालन गर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। सञ्चालनमा आएपछि आन्तरिक उडान बढ्ने, अन्तर्राष्ट्रिय उडान हुने र विमानस्थलका लागि थप कर्मचारी चाहिने भएकाले अवसरको ढोका खुल्ने शोभाको अपेक्षा छ।
'विमानस्थल र हवाइ कम्पनीहरूलाई थप कर्मचारी पक्कै चाहिन्छ। यसका लागि यहाँ नै दक्ष जनशक्ति भयो भने अवसर आउन सक्छ,' उनले भनिन्।
वायुसेवा विषयमा तालिम लिएका व्यक्तिलाई अवसर मात्र होइन, सेवा-सुविधा पनि अन्य क्षेत्रमा भन्दा आकर्षक रहेको शोभाको दाबी छ।
'एयर-होस्टेसले मासिक तलबबाहेक उडानअनुसार थप सुविधा पाउँछन्,' उनले भनिन्, 'थोरै लगानीमा सिकेर एयर-होस्टेस र अन्य सेवा क्षेत्रमा पनि अवसर पाउन सकिन्छ।'
सबै तस्बिरः एयरलाइन्स फ्लाइट एटेन्डेन्ट एकेडेमी।