फ्लोरिकल्चर एसोसिएसन नेपाल (फयान) ले रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि भन्ने नाराका साथ गोदावरी फूलको १५औं प्रतियोगितात्मक प्रदर्शनी २०७९ गर्ने भएको छ।
नजिकिएको तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शनी आयोजना गर्न लागिएको हो।
फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यावसायिक प्रवर्द्धन गर्ने उद्देश्य अनुरूप मेला आयोजना गर्न लागिएको मेला संयोजक सिताराम पन्तले बताए।
उक्त प्रदर्शनी कात्तिक ३ गतेदेखि ६ गतेसम्म रहने छ।
चार दिनसम्म जावलाखेलको खेलमैदान ललितपुरमा मेला सञ्चालन हुने मेलामा व्यावसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल दुई र सूचनामूलक चार गरी ५५ स्टल रहने छन्।
तिहारमा २० लाख सयपत्री, मखमली तीन लाख र गोदावरीको २५ हजारसम्म माला खपत हुने फयानका अध्यक्ष मीनबहादुर तामाङले बताए।
नेपाल ९० देखि ९१ प्रतिशत फूलमा आत्मनिर्भर रहेको पनि उनको दाबी छ। कोरोनाका कारण फूल उत्पादन घटे पनि हाल १० देखि २० प्रतिशत फूलको माग बढ्नुका साथै उत्पादन पनि बढेको उनको भनाइ छ।
आयोजकका अनुसार गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिनेछ। प्रदर्शनीमा सहभागी नर्सरी र फर्मले उत्पादित गोदावरी फूलको पाँच प्रजातिमा प्रतिस्पर्धा गर्नेछन्।
प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिमा १० मिनियचर, २० स्पाइडर, ३० रिफ्लेक्स, ४० इन्कर्भ र ५० गोदावरीको कट फ्लावर प्रजाति छन्।