भारतका एक व्यापारीले आफ्ना कर्मचारीहरूलाई दिपावली बोनसका रूपमा कार र बाइक उपहार दिने भएका छन्।
चेन्नईस्थित 'चलानी ज्वेलर'का सञ्चालक जयन्थी लाल चयन्तीले आफ्ना कर्मचारीहरूलाई दिपावली बोनसका रूपमा करिब एक करोड २० लाख रुपैयाँ बराबरको ८ वटा कार र १९ वटा बाइक उपहार दिने बताएका हुन्।
समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै व्यवसायी जयन्थीले आफ्नो कर्मचारीहरू दोस्रो परिवारको रूपमा लिएको र उनीहरूलाई दिपावलीमा सरप्राइज दिन यस्तो गरेको बताएका छन्।
'उनीहरू कर्मचारी मात्र होइनन्, मेरो परिवार हुन्। उनीहरूलाई यस्तो सरप्राइज दिएर मेरो परिवारका सदस्यहरू जस्तै व्यवहार गर्न चाहन्छु,' जयन्तीले भनेका छन्, 'यसो गर्दा म निकै खुसी छु। प्रत्येक व्यवसायी वा व्यापारीले आफ्ना कर्मचारी र सहकर्मीहरूलाई उपहार दिएर सम्मान गर्नुपर्छ भन्ने लाग्छ।'
यसबाहेक उनले आफ्नो कर्मचारीहरूले व्यवासयमा नाफा कमाउन मद्दत गरेको बताए। त्यसैले पनि उनीहरूसँगको सम्बन्ध नजिकी रहेको एएनआईसँग कुराकानीमा भनेका छन्।