थारू समुदायमा घोंगी, गँगटा, ढिक्री, बरिया, आलु, सुकेको माछा लगायतका परिकार प्रख्यात छन्। यी परिकार खान पनि थारू समुदायमै पुग्नु पर्छ।
यता काठमाडौं उपत्यका त देशभरका बासिन्दा जम्मा हुने ठाउँ हो। यहाँ नपाइने के छ र! धेरैले आफ्नो जातीय र स्थानीय पहिचानलाई व्यवसायको माध्यम बनाएका छन्। यसैमार्फत् रैथाने कुराहरू प्रवर्द्धन पनि भइरहेको छ।
यस्तै मध्येका एक हुन् बर्दियाका सीताराम थारू। उनले कीर्तिपुरको पाँगामा चार वर्षदेखि 'वरघर रेस्टुरेन्ट' चलाइरहेका छन्।
सीतारामको अनुमानमा काठमाडौं उपत्यकामा थारू समुदायको मात्र परिकार पाइने पहिलो रेस्टुरेन्ट सम्भवतः वरघर नै हो।
'काठमाडौंमा थारू समुदायका धेरै मानिस छन्। थारू खाना मन पराउने मानिस अरू पनि धेरै छन्,' सीताराम भन्छन्, 'अब काठमाडौंमा थारू परिकार खान माघी कुर्नु पर्दैन।'
थारू समुदायमा माघ एक गते नयाँ वर्ष र ठूलो चाडका रूपमा 'माघी पर्व' मनाइन्छ। यस अवसरमा काठमाडौंको टुँडिखेलमा हरेक वर्ष माघी महोत्सव हुन्छ। जहाँ सबै किसिमका थारू परिकार खान पाइन्छ।
आफ्नो समुदायको परिकार काठमाडौंबासीलाई चखाउन माघी नै किन कुर्ने? सीतारामले यस्तै सोचे।
अनि एउटा रेस्टुरेन्ट खोलेर सबैजसो परिकार वर्षैभरि खुवाउने योजना बुने। व्यवसाय पनि हुने, थारू परिकारको पहिचान र ख्याति पनि बढ्ने! यी परम्परागत परिकार स्वस्थकर हुने उनको भनाइ छ।
२०७५ वैशाखमा उनले वरघर रेस्टुरेन्ट खोले।
उनका अनुसार 'वरघर' शब्दले समुदायको नेतृत्व गर्ने प्रमुख व्यक्ति बुझाउँछ। ठाउँअनुसार वरघरलाई 'भलमन्सा', 'महत्त्वा', 'मुखिया' पनि भन्ने चलन छ। थारू समुदाय वरघरकै नेतृत्वमा चल्छ।
'वरघर आफैंमा थारूको पहिचान बोकेको महत्त्वपूर्ण शब्द हो। यो निकै सम्मानित पद हो,' ३८ वर्षीय सीतारामले भने, 'एक शब्दले थारूको पहिचान र विशेषता बुझाउने हुँदा रेस्टुरेन्टको नाम पनि वरघर रोजेको हुँ।'
वरघर शब्दसँग परिचितहरूले यो रेस्टुरेन्ट थारू रैथाने परिकारको हो भनेर बुझिहाल्छन्। त्यसबाहेकका कतिपय ग्राहकले भने यहीँ पुगेपछि मात्रै थाहा पाउने गरेको उनले बताए।
सीतारामले दस लाख रूपैयाँ लगानीमा यो रेस्टुरेन्ट सुरू गरेका हुन्। विस्तारै लगानी बढ्दै छ।
यहाँ झिँगे माछा, घोंगी र गँगटाका परिकार, ढिक्री, बरिया, थारू आलु, सुकेको माछा, सुटही अर्थात सिपी, वैरिक चट्नी, देरुवा माछा, बंगुरको सेकुवा, अन्डी (अनदी) को भात जस्ता २२ थरी थारू रैथाने परिकार पाइन्छ।
यीमध्ये सबभन्दा धेरै रूचाइने र सस्तो घोंगी हो, एक प्लेटको १५० रूपैयाँ पर्छ। गँगटो भने चार सय पचास रूपैयाँदेखि पाइन्छ। आकारअनुसार यसको मूल्य फरक हुन्छ।
सीतारामले हालै बौद्धस्थित टुसालमा पनि वरघरको शाखा खोलेका छन्। यहाँ सुँगुरको मासुको परिकार पनि थपिएको छ। त्यस्तै पोखरीमा आफैंले माछा मारेर खान पाइने सुविधा दिएका छन्।
'धेरै ग्राहकले कीर्तिपुर अलि टाढा भयो भनेर अर्को ठाउँमा शाखा खोल्न आग्रह गरेपछि टुसालमा सुरू गरेको हुँ,' उनले भने, 'दुई ठाउँमा गरेर कुल लगानी ५० लाख रूपैयाँ पुगेको छ। अहिले मासिक कारोबार डेढ लाखसम्म हुन्छ।'
नयाँ खुलेको टुसालको वरघर रेस्टुरेन्ट कीर्तिपुरको भन्दा धेरै फराकिलो छ। कीर्तिपुरमा एकपटकमा ४० जना अटाउने क्षमता छ भने टुसालमा एक सय पचास जनासम्म। दुवैतिर औसत ६०/६० जना ग्राहक आइरहेका छन्।
स्नातकोत्तरसम्मको अध्ययन सकेका सीताराम राजनीति र सामाजिक काममा सक्रिय छन्। 'बर्दियाली थारू विकास मञ्च, काठमाडौं' का अध्यक्ष हुन्। लामो समयदेखि थारू समुदायको विकास र पहिचान प्रवर्द्धन सक्रिय उनी यो रेस्टुरेन्ट व्यवसाय पनि यसकै एक अंग भएको बताउँछन्।
'परम्परागत खानपिनमार्फत समुदायको प्रवर्द्धन गर्ने सोचले व्यवसायमा लागेको हुँ,' उनले भने।
रेस्टुरेन्टको आइडिया भने सीतारामका चिनजानका भाइसँगको कुराकानीपछि फुरेको हो। ती भाइले रेस्टुरेन्ट व्यवसाय गर्ने विचारले सल्लाह मागेका थिए। छलफल र निकै विचारविमर्श भयो।
'हाम्रो कुराकानी हुँदा थारू समुदायका परिकार मात्रै पाइने रेस्टुरेन्ट चलाउने र वरघर नाम राख्ने आइडिया फुरेको हो,' उनले भने।
रेस्टुरेन्ट चलाउने निष्कर्षपछि सीतारामले आफ्नो घर बर्दियाको राजापुरमा भएका साथीभाइसँग पनि कुरा गरे। आवश्यक घोंगी, गँगटा, माछा काठमाडौंसम्म पुर्याउने सम्भावना खोजी गरे। केही साथीहरूले सीतारामसँग सहकार्य गर्ने भए। यसपछि कीर्तिपुरमा एउटा कोठा भाडामा लिए।
गाउँबाटै ढकिया, छत्री, जोत्ना टोपी, सानो हलो, जुवा, डिल्या, सिरट्टा, ढडिया, इत्यादि रैथाने सामग्री गाउँबाटै ल्याएर सजाए। उनले यो रेस्टुरेन्टलाई थारू 'मिनी' संग्रहालयको रूप पनि दिन खोजेका छन्। टुसालमा पनि यस्तै सजावटको काम हुँदैछ।
'सात मिटर गोलाइको दस फिट अग्लो छत्री राखिएको छ। यो पानी पर्दा टाउकोमा लगाउने बाँसको छाताजस्तो टोपी हो,' उनले भने, 'सम्भवतः यो विश्वको सबैभन्दा ठूलो हस्तनिर्मित छत्री हो।'
ठूलो ढकिया पनि बनाउने उनको योजना छ।
वरघर रेस्टुरेन्ट सुरू भएको छोटो समयमै ग्राहकहरूबाट सकारात्मक प्रतिक्रिया पाएको उनको भनाइ छ। थारू समुदायका धेरै मानिस रेस्टुरेन्ट खोज्दै कीर्तिपुर पुग्ने गरेको उनले बताए। त्यस्तै यहाँ पहिलोपटक थारू परिकार खानेहरूमध्ये अधिकांश दैनिक ग्राहक बनेका छन्।
परिकारका लागि चाहिने कम्तीमा ७० प्रतिशत सामान बर्दियाबाट आउँछ। बाँकी सप्तरी, सिराहा, चितवन र बाँकेबाट। गँगटा भने चीनबाट।
'परिकार बनाउने कतिपय सामग्री मौसमअनुसार मात्रै पाइन्छ। त्यसैले भनेका बेलामा जुटाउन कठिन हुन्छ,' उनले भने, 'सामग्रीहरू फ्रिजमा राखेर जोगाउनु पर्छ।'
वरघरमा सीतारामसँगै उनका परिवारका सदस्यहरूले पनि सघाउँछन्। परिवारबाहेक दुई शाखामा गरी ८ जना कर्मचारी छन्।
'सेफहरू थारू समुदायकै हुन्। त्यसैले असली स्वाद आउँछ,' उनले भने।
वरघर सुरू भएको एक वर्ष नपुग्दै कोरोना संक्रमण फैलिएको थियो। व्यवसायमा असर परे पनि सीताराम निराश भएनन्।
भन्छन्, 'व्यापार आफ्नो ठाउँमा छ। म त थारूको पहिचान प्रवर्द्धनमा लागेको हुँ। आशावादी हुँदै कामलाई निरन्तरता दिएँ।'
कोरोना मत्थर हुँदै गएपछि रेस्टुरेन्टले आफ्नो लय समातिसकेको छ। कोरोनाअघि वरघरमा हुने थारू भाषाको साहित्यिक कार्यक्रम भने रोकिएको छ। अब चाँडै सुरू गर्ने योजना बनाएको उनले बताए।
थारू रैथाने परिकारको ब्रान्डिङमा लागिपरेका सीताराम वरघर रेस्टुरेन्टको भविष्यप्रति आशावादी छन्। अहिलेसम्मको सुखद अनुभवकै कारण हौसला बढेको छ। सोचेजस्तै भयो भने पोखरामा पनि यस्तै रेस्टुरेन्ट चलाउने योजना बुनेका छन्। आफ्ना हरेक रेस्टुरेन्टलाई थारू संस्कृतिसँग जोड्ने र यसलाई संग्रहालयको स्वरूपमा पनि चिनाउने उनको चाहना हो।
'थारू संस्कृति र परिकार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउने इच्छा छ,' सीतारामले भने, 'थारू समुदायकै खुला पुस्तकालय पनि सञ्चालन गर्ने योजना छ।'
सबै तस्बिर र भिडिओः सुसन चौधरी/सेतोपाटी