अधिकांश मान्छेले बीस-तीस वर्षको उमेरमा आफ्नो पेसा छानिसक्छन्। कसैले सानैदेखि सपना देखेर त्यसैलाई पछ्याएका हुन्छन्, कसैले विस्तारै आफूलाई उपयुक्त लागेको काम रोज्छन्।
कोही यस्ता हुन्छन्, जो गरिआएको काम राम्रै भए पनि आफ्नो रहरको बाटो हिँड्न रूचाउँछन्। जतिसुकै समय र उमेर भए पनि फड्को मार्न डराउँदैनन्।
यस्तैमध्ये एक हुन् जनकपुर स्थायी घर भएका रामुप्रसाद साह।
उनले १२ वर्षसम्म बैंकमा काम गरे। बैंकिङ क्षेत्रमै आफ्नो पेसागत जीवन बित्छ भन्ने सोचेका थिए। एक दिन यस्तो आयो, उनले चटक्कै यो काम छाडेर कला क्षेत्र रोजे।
३६ वर्षीय रामु अहिले ट्याटु-आर्टिस्टका रूपमा आफ्नो पहिचान बनाउन लागिपरेका छन्।
'कुनै पनि आर्टिस्टको पहिचान उसको कलाले नै दिन्छ। त्यसैले म अहिले आर्टमा काम गर्दैछु,' रामुले भने, 'भविष्यमा राम्रा आर्टिस्टमध्ये मेरो नाम पनि परोस् भन्ने सपना छ।'
रामु व्यावसायिक रूपमै ट्याटु बनाउने काममा होमिएको दुई महिना मात्र भयो। उनी हरेक किसिमका ट्याटु बनाउन पोख्त भइसके। ग्राहकको विश्वास जित्न मेहनत जारी छ।
अहिले उनी ठमेलको 'इरोस इंक' मा काम गरिरहेका छन्। छिट्टै आफ्नै ट्याटु स्टुडियो खोल्ने सपना छ। अझै ठूलो सपना नेपालमा ट्याटुसम्बन्धी पढाइ हुने स्कुल खोल्नु हो। उनका अनुसार नेपालमा ट्याटुसम्बन्धी पढाइ हुने स्कुल छैन। त्यसैले उनले भारतको मुम्बई गएर एलियन्स ट्याटु स्कुलमा अध्ययन गरेका हुन्।
त्यसअघिसम्म रामुलाई बैंकिङ करिअर, एक दशकभन्दा बढीको जागिरे जीवन छाडेर ट्याटु-आर्टिस्ट बन्छु भन्ने कहिल्यै लागेको थिएन।
'हुर्किँदै जाँदा पारिवारिक जिम्मेवारीका कारण जागिरमा होमिएँ,' उनले भने, 'अरू केही सोचिनँ। चित्रकलामा भने सानैदेखि विशेष रूचि थियो।'
रामुले जनकपुरको रारा क्याम्पसबाट स्नातक पढेका हुन्। उनको परिवार जनकपुरमै खाजा पसल चलाउँछ। रामु जेठा छोरा। उनका दुई बहिनी र एक भाइ छन्। जिम्मेवारी भइहाल्यो। आर्थिक सहयोग गर्न स्नातक सकेलगत्तै कोरिया जाने तयारी थियो। तर नाम निस्केन।
'त्यसपछि विदेशिने सोच छाडेर जागिर खाने मनसाय बनाएँ,' रामु भन्छन्, 'बैंकको सहायकबाट जागिर सुरू गरेँ। पदोन्नति हुँदै जुनियर अफिसरसम्म भएँ।'
रामुका अनुसार सुरूमा उनले रौतहट, गौरको तत्कालीन जनता बैंकमा काम गरे। एक जना नजिकका आफन्त दाइबाट बैंकले नयाँ शाखाका लागि कर्मचारी खोजिरहेको थाहा पाए। रामुले आवेदन दिए। नाम निस्कियो।
यो २०६७ सालतिरको कुरा हो।
यो बैंकमा उनले करिब सात वर्ष काम गरे। त्यसपछि एनआइसी एसिया बैंक गए। गौर र वीरगन्ज शाखामा काम गरे। करिब १७ महिनापछि सनराइज बैंकमा 'अपरेसन इन्चार्ज' भएर गए। २०७६ सालदेखि पोहोरसम्म सनराइजकै वीरगन्ज, जनकपुर र काठमाडौंको महाराजगञ्ज शाखामा काम गरे।
यसरी बैंकहरूमा दौडधुप गरिरहेका रामु एक्कासि कसरी होमिए त ट्याटुतिर?
रामुको मनभित्र गढेर बसेको रूचि र इच्छा उनकी साथी श्रुति श्रेष्ठका कारण प्रस्फुटन भएको हो।
उनीहरूको भेट करिब चार वर्षअघि भएको थियो। त्यस बेला रामु एनआइसीको जनकपुर शाखामा काम गर्थे। कोरोनाको दोस्रो लकडाउन खुकुलो भएपछि एक दिन रामु श्रुतिको घर गए। साँझ खानपिनपछि श्रुतिकी दिदीसँग कुराकानी गर्दै थिए। दिदीले जीव-विज्ञानका केही चित्रहरू बनाउनुपर्ने थियो। रामु मद्दत गर्ने भन्दै तम्सिए र चित्र कोर्न बसे।
'त्यो बेला कति समय बित्यो, मलाई अझै हेक्का छैन। चित्र कोर्न घोत्लिएँ। बिहानीपख श्रुति कुरा गर्न आएपछि बल्ल भोलिपल्ट भएको चाल पाएँ,' रामुले सुनाए।
चित्रमा रामुको यस्तो लगाव देखेपछि श्रुतिले उनलाई आफ्नो रूचि पछ्याउन सल्लाह दिइन्। हौस्याइन्। रामुलाई पनि झल्याँस्स भएझैं भयो। लाग्यो- मेरो रहर त यो पो हो!
त्यसपछि नै हो रामुले फड्को मार्ने सोचेका।
'त्यसअघि त जागिरलाई नै जिन्दगी ठानिसकेको थिएँ। श्रुतिले मेरो आफ्नो इच्छा र खुसी पनि ख्याल गर्नुपर्छ भन्दै हौसला दिइन्,' उनले भने, 'त्यही हौसलाले म यहाँसम्म आइपुगेको हुँ।'
चित्रकलामा रूचि भएका उनलाई ट्याटु मनपर्थ्यो। शरीरमा खोपाएका पनि थिए। कलाको यही विधाले उनलाई तान्यो।
ट्याटु-आर्टिस्ट बन्ने सपना देखेपछि उनी यसबारे बुझ्न ठमेलस्थित इरोस इंकका संस्थापक इरोस महर्जनसँग कुरा गर्न गए। उनीहरूको चिनजान फेसबुकमार्फत भएको थियो। इरोसले सुरूमा रामुलाई जागिर नछाड्न र रूचि भए पार्ट-टाइम ट्याटु-आर्टिस्ट बन्न सल्लाह दिए।
रामुलाई यसरी काम गर्न मुश्किल थियो। भारतमा पढ्न जान छुट्टी चाहिन्थ्यो। रोजेको पाठ्यक्रम ६ महिनाको थियो। यति लामो बिदा स्वीकृत भएन। त्यसैले कि जागिर खानुपर्यो कि छाड्नुपर्यो!
'धेरै सोचेर जागिर छाड्ने नै निष्कर्षमा पुगेँ। पारिवारिक जिम्मेवारी सम्हाल्दै गर्दा आफ्नो खुसी र इच्छा कतै लुकेका थिए,' उनले भने, 'लुकेको त्यो सपनालाई यथार्थ बनाउँछु भन्ने भयो।'
सनराइज बैंकको महाराजगञ्ज शाखामा कार्यरत रामुले २०७८ माघतिर राजीनामा दिए। अनि ट्याटु-आर्ट पढ्न मुम्बई हानिए। ६ महिने पाठ्यक्रम सकेर उनी गत असोजमा मात्रै नेपाल फर्केका हुन्। फर्केपछि ट्याटु-आर्टिस्ट इरोससँगै कुरा गरे, त्यहीँ काम थाले।
'अहिले दैनिक जसो ट्याटु बनाउन ग्राहक आउनु हुन्छ,' रामु भन्छन्, 'काम गर्न रमाइलो लाग्छ। खुसी लागिरहेको छ।'
रहरलाई पेसा बनाउने प्रयासमा लागेका उनको निर्णयमा परिवार-आफन्तको अलिकति गुनासो छ। सुरक्षित जागिर छाडेर नयाँ पेसामा लाग्दा राम्रो मानेका छैनन्।
'बुवाआमा पनि सन्तुष्ट हुनु हुन्न,' रामु भन्छन्, 'तर म आफ्नो इच्छा पछ्याउँदै छु र सन्तुष्ट छु। आर्थिक हिसाबमा केही कमजोर भए पनि जिम्मेवारी पूरा गरिरहेको छु। नयाँ पेसामा प्रोफाइल बनाउँदै छु, सेटल हुन केही समय लाग्छ।'
उनका अनुसार ट्याटु बनाउन लाग्ने समय, डिजाइन, रङअनुसार शुल्क लाग्छ। हामीकहाँ सस्तोमा घन्टाको एक हजार पाँच सय रूपैयाँदेखि १५-२० हजारसम्म काम गर्ने आर्टिस्ट छन्। ग्राहक भने विशेषगरी १८ देखि ४० वर्ष उमेरबीचका हुन्छन्।
कुनै पनि ट्याटु बनाइदिनुअघि रामु त्यसको अर्थ सोध्छन्। मेटाउन नमिल्ने भएकाले कसैलाई भविष्यमा पछुतो नहोस् भन्ने उनको चाहना हो। जतिसक्दो नौलो, फरक र आकर्षक डिजाइन बनाउन सल्लाह पनि दिन्छन्।
'हरेक ट्याटु बनाउँदा लाग्ने समय र समर्पण बेग्लै हुन्छ। त्यसैले ग्राहकभन्दा म बढी खुसी हुन्छु जस्तो लाग्छ,' उनले भने।
रामुले आफ्नो शरीरमा तीन वटा ट्याटु खोपाएका छन्। ट्याटु बनाउँदा धेरै कुरामा ख्याल राख्नुपर्ने उनी बताउँछन्। ग्राहकको छालाको संवेदनशीलता, मसी र मेसिनको गुणस्तर, सियोको आकार लगायत स-सानामा कुरामा ज्ञान र ध्यान दुवै हुन आवश्यक छ। रामुले यी सबैबारे मुम्बईमा पढेका थिए। नेपालमा ट्याटु बनाउन प्रयोग हुने उपकरण धेरैजसो जर्मन र केही अमेरिकी ब्रान्डका हुने पनि उनले जानकारी दिए।
ट्याटु-आर्टिस्ट अन्य पेसाजत्तिकै सम्मानित भए पनि मानिसहरूको दृष्टिकोण परिवर्तन हुन आवश्यक भएको अनुभव उनले गरेका छन्।
'ट्याटु बनाउनु कला हो। तर कतिले ट्याटु-आर्टिस्टलाई सकारात्मक सोच्दैनन्। शरीर ट्याटुले भरिएको, लामो कपाल, नाक/कान छेडेका व्यक्ति भन्ने मात्र सम्झिन्छन्। यो त व्यक्तिगत रूचि भयो। सबैको रूचि एकनास हुँदैन। मलाई मानिसको यही दृष्टिकोण फेर्नुछ। असामान्य मान्ने कुरालाई सामान्य महसुस गराउनु छ,' रामुले भने।