दराजको सबैभन्दा ठूलो सेल ‘दराज ११:११’ सुरू हुँदैछ। दराजले हरेक वर्ष नोभेम्बर ११ तारिखमा सबैभन्दा ठूलो एक दिने सेल दराज ११:११ आयोजना गर्दैछ।
उक्त दिनलाई नेपालसँगै बंगलादेश, पाकिस्तान, म्यानमार र श्रीलंका दराजले पनि मनाउँछ। दराज नेपालको यो पाँचौ संस्करण हो।
सन् २०२२ को दराज ११:११ सेल नजिकिँदै गर्दा दराज नेपालले यतिबेला ‘काउन्टडाउन सेल’ सुरू गरिसकेको छ। अर्थात् अहिले ग्राहकहरूले सामग्री खरिदमा थुप्रै छुटहरू पाउन सक्नेछन्। दराज ११:११ को दिन भने हालको भन्दा बढी छुटसँगै सामग्री खरिद गर्न सकिन्छ।
कम्पनीले यसपटकको फेस्टलाई थप प्रभावकारी बनाउन विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवा प्रदायकहरूसँग सहकार्य गरेको छ।
यिनै विषयलाई समेट्दै ११:११ सेलको तयारी, अपेक्षित ग्राहकहरू, विक्रेताहरूको तयारी लगायतबारे सतोपाटीले कम्पनीका भुक्तानी एवम् साझेदारी विभागका प्रमुख अरुण फुँयालसँग कुराकानी गरेको छ।
पढ्नुहोस् फुँयालसँगको कुराकानीको सम्पादित अंशः
१. दराज ११:११ निजिकिँदै छ। यसको तयारी कसरी हुँदैछ?
दराज ११:११ नेपालको सम्भवतः सबैभन्दा ठूलो अनलाइन सेल बजार हो। जहाँ ग्राहकहरूले सामग्री व्यापक मात्रामा छुट पाउनु हुनेछ। गत वर्षको दराज ११:११ समापनसँगै हामी यस वर्षको दराज ११:११ को तयारीमा थियौं। करिब एक वर्षदेखि यसको लागि काम गर्दैछौं।
ग्राहकहरूलाई सहजता प्रदान गर्न ग्राहक सेवा केन्द्रदेखि डेलिभरीसम्मको लागि कर्मचारी संख्या बढाएका छौं। हामी अहिले विभिन्न क्षेत्रमा गरी १५०० जना कर्मचारी छौं। विक्रेता र भुक्तानी साझेदारहरूसँग यसैको लागि नियमित सम्पर्कमा छौं।
यसबाहेक गत सेप्टेम्बरबाट हाम्रो वेबसाइटमा ‘दराज लाइभ’ फिचर समावेश गरेका छौं। यहाँ ग्राहकहरूले भिडिओ हेर्दै, त्यहाँ देखाइएको सामग्री खरिद गर्न सक्नुहुन्छ। त्यस्तै विभिन्न सामाजिक सञ्चालमा मार्केटिङ गर्दैछौं।
२. हालसम्म दराजले देशका कति ठाउँमा आफ्नो सेवा विस्तार गरेको छ? ग्राहक अनुपात कस्तो छ?
अहिले दराजले नेपालभर १०१ वटा सहरमा आफ्नो सेवा विस्तार गरेको छ। दराजबाट सामग्री खरिद गर्ने ग्राहकहरूमध्ये महिला र पुरुषको अनुपात बराबारी छ। दराज नेपालको ग्राहकहरू प्रायः १८ वर्षदेखि ३५ वर्ष उमेर समूहको हुनुहुन्छ।
त्यस्तै पछिल्लो तथ्यांक हेर्दा काठमाडौं उपल्यका बाहिरबाट ग्राहकहरू बढिरहेको छ। उपत्यका बाहिर सिमित ब्रान्ड र विक्रेता उपस्थित हुने हुँदा पनि दराजप्रति मानिसको चासो बढेको बुझिन्छ।
३. दराज ११:११ मा ग्राहकहरूले कुन-कुन माध्यमबाट भुक्तानी गर्न सक्छन्?
ग्राहकहरूले आफ्नो बैंक वा भुक्तानी सेवा प्रदायकमार्फत सामग्री डेलिभरी हुनु अगावै भुक्तानी गर्न सक्छन्। वा सामग्री डेलिभरी भएपछि पनि राइडरहरूलाई भुक्तानी गर्न सक्छन्। तर पछिल्लो तथ्यांक हेर्दा अहिले ३० देखि ३५ प्रतिशत ग्राहकहरू डिजिटल भुक्तानी गर्न रूचाउनु हुन्छ। दराज ११:११ मा यो संख्या ५० प्रतिशतसम्म पुर्याउने योजना छ।
४. दराज ११:११ को लागि डिजिटल भुक्तानी पार्टनरहरू को-को हुनुहुन्छ?
हालसम्म हामीले २० वटा बैंक र एउटा वालेटसँग सम्झौता गरेका छौं। ग्राहकहरूको नबिल, सिद्धार्थ, कुमारी, ग्लोबल आइएमई, एनआइसी एशिया, सानिमा, स्टानडर्ड चार्टर्ड, माछापुच्छ्रे, एभरेष्ट, हिमालयन, सनराइज, मेगा, एनएमबी, सिटिजन्स, नेपाल बैंक, एनसिसी, नेपाल एसबिआई, सेन्चुरी, ज्योति विकास, सांग्रिला र कामना सेवा बैंकका ग्राहकहरूले विशेष छुट पाउनु हुनेछ। वालेट पार्टनमा हामीले आइएमई पेसँग सहकार्य गरेका छौं।
यी बाहेक थप बैंकहरूसँग पनि डिजिटल भुक्तानीको लागि सम्झौता गर्ने तयारीमा छौं।
५. यसरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरूलाई कसरी फाइदा हुन्छ? दराजले यस्तो कारोबार बढाउन के गरिरहेको छ?
दराजमा ग्राहकहरूले डिजिटल भुक्तानी गर्दा विशेष छुटहरू पाउनुहुन्छ। त्यस्तै सनराइज बैंक, एनआइसी एशिया बैंक, सिटिजन बैंक, माछापुचछ्रे बैंक, सानिमा बैंक र एनएमबी बैंकका ग्राहकहरूले दराजबाट क्रेडिट कार्डको मद्दतमा पनि सामग्री खरिद गर्न सक्नुहुन्छ। हामीले यी बैंकहरूसँग शून्य प्रतिशत इएमआईमा ग्राहकहरूलाई क्रेडिटमा सामग्री उपलब्ध गराउने सम्बन्धमा सम्झौता गरेका छौं। तर यसको लागि निश्चित मूल्यको सामग्री खरिद गर्नुपर्ने हुन्छ।
यसबाहेक गिफ्ट भाउचर, गिभअवे, विशेष छुट, निःशुल्क डेलिभरी लगायत पनि प्रदान गर्दैछौं। फेरि प्रि-पेमेन्ट प्रणालीले अहिलेको युगमा डिजिटल भुक्तानी गर्न प्रोत्साहन पनि त गर्छ।
६. विदेशमा हुने मानिसले दराजबाट सपिङ गर्न मिल्छ? मिल्छ भने कसरी?
मिल्छ। भिसा वा मास्टर कार्डको प्रयोगकर्ता वा ग्राहक हुनुहुन्छ भने विदेशमा रहेरै पनि दराज नेपालबाट सपिङ गर्न सक्नुहुन्छ।
७. दराज ११:११ जस्ता सेल र अन्य फेस्टहरूले कम्पनीको ग्राहक संख्या बढाउन कसरी मद्दत पुर्याइरहेको छ?
यस प्रकारको सेल र फेस्ट भन्ने बित्तिकै हामी मार्केटिङमा थप जोड दिन्छौं। विभिन्न बैंक र अन्य क्षेत्रसँग सहकार्य गर्दा ग्राहकहरूको चासो पनि बढिरहेको पाएका छौं। त्यस्तै विशेष अवसरमा प्रदान गरिने छुटहरूले पनि ग्राहकहरूलाई आकर्षित गर्छ। हामी जतिसक्दो धेरै विक्रेताहरूसँग जोडिरहेका छौं। हरेक ठाउँ र क्षेत्रको ग्राहक यसकारण पनि दराजसम्म आइपुग्नुभएको छ।
८. विक्रेताहरू दराज नेपालसँग कसरी जोड्न सक्छन्?
यतिबेला हामीसँग २० हजारभन्दा बढी विक्रेता जोडिसक्नु भएको छ। उहाँहरूले दराज नेपालको वेबसाइटमा गएर ‘विक्रेता बन्न चहान्छु’ भन्ने विकल्प चयन गरी त्यसमा भएको फारम भर्न सक्नुहुन्छ। त्यसपछि हामी उहाँहरूसँग सम्पर्क गर्छौं।
९. यस पटकको दराज ११:११ सेलमा कति ग्राहकसम्म पुग्ने र सेवा पुर्याउने लक्ष्य छ?
त्यो भन्नै सकिन्न। यतिबेला हामी ४३ लाख बढी ग्राहकसँग जोडिएका छौं। हजारौं ब्रान्ड छन्। अहिलेदेखि नै मानिसहरू सेलको तयारीमा छन्। त्यसैले हामी यसपटक पनि लाखौं मानिससम्म जोड्ने लक्ष्य राखेका छौं। ठ्याक्कै संख्या तोक्नै सकिन्न।
१०. दराज ११:११ मा सपिङ गर्ने सोचिरहनु भएका ग्राहकहरूलाई कसरी सपिङ गर्न सकिन्छ भन्ने विषयमा केही टिप्स दिनुहुन्छ?
हो, यसको लागि अहिलेदेखि तयारी गर्नुभए ग्राहकहरूले थुप्रै भाउचर र छुटहरू पाउन सक्नुहुन्छ। पहिलो भनेको ग्राहकहरूले आफ्नो खाता भएको बैंकबाट डिजिटल भुक्तानी उपलब्ध हुने बनाउनु पर्यो। यसको लागि बैंकसँग सम्पर्क गर्न सकिन्छ र यसो गर्न कुनै शुल्क पनि लाग्दैन।
त्यस्तै मन परेका सामग्रीहरू अहिलेदेखि नै आफ्नो ‘कार्ट’ मा राख्न सकिन्छ। यसो हुँदा ११:११ सुरू हुँदा कति प्रतिशत छुट पाइन्छ भन्ने सहजै हेर्न सकिन्छ। उपलब्ध भाउचरहरू संकलन गरेर राख्न सकिन्छ। र, पछि सामग्री खरिद गर्न पनि सहज हुन्छ।