बौद्ध धर्मावलम्बीहरूलाई हरेक अवसरमा नभई नहुने सामग्री हुन् खादा र लुङ्दर।
खादा मानिसको जन्मदेखि मृत्युसम्म प्रयोग हुन्छ। पूजापाठमा पनि उत्तिकै चाहिन्छ।
लुङ्दर चाहिँ 'प्रार्थना झन्डा' हो। बौद्ध धर्मावलम्बीहरूले यसलाई गुम्बा, स्तुप, चैत्य, घर, बौद्ध तीर्थधाम र पर्यटकीय स्थलहरूमा फहराउँछन्। बौद्ध परम्परामा लुङ्दरको हावा पुग्ने ठाउँ पवित्र मानिन्छ। हिन्दु धर्मावलम्बीले तोरण टाँगेजस्तो गरी बौद्ध परम्परामा लुङ्दर टाँगिन्छ।
अचेल खादा अन्य समुदायमा पनि प्रयोग हुन्छ। खासगरी पाहुनाको स्वागत तथा बिदाइ तथा शुभकार्यहरूमा गलामा खादा लगाइदिएर सम्मान गर्ने चलन छ।
'तर यस्तो खादा वातावरणअनुकूल नभएको भनेर बेलाबेलामा प्रश्न उठ्ने गरेको छ,' उत्पला क्राफ्टकी सञ्चालक आङडोल्मा शेर्पा भन्छिन्, 'झट्ट हेर्दा कपडाजस्तो देखिने भए पनि धेरैजसो खादा पोलिस्टर र प्लास्टिकले बनेको हुन्छ। यस्तो खादा वातावरणसंगत हुँदैन।'
आङडोल्मा वातावरण संरक्षण र प्रदूषण नियन्त्रण अभियानमा सक्रिय छिन्। उनको उत्पला क्राफ्टले वातावरणसंगत खादा र लुङ्दर उत्पादन गर्छ। व्यावसायिक उत्पादन सुरू गरेको दुई वर्ष मात्र भयो। यसअघि आङडोल्मा बाँसको रेसा निकालेर वातावरणसंगत खादा बनाउँथिन्, परीक्षणका रूपमा।
उनले २०७३ सालमा बाँसको रेसाबाट एक सय वटा खादा बनाएर गुम्बाहरूमा देखाइन्। त्यो उत्पादन बौद्धअनुयायी र पर्यटकले मन पराए। तर उनले व्यावसायिक उत्पादनबारे केही सोचिनन्। बरू कपडाको खादा बनाएर वातावरणीय परीक्षण गरिन्।
आङडोल्मा आफ्नो व्यावसायिक उत्पादन वातावरणलाई हानी नपुर्याउने खालको होस् भन्ने चाहन्थिन्। यसबारे ठोस आइडिया फुरेको थिएन।
२०७६ सालको एक दिन आङडोल्माले 'आइडिया स्टुडियो' बारे सुनिन्। आफ्नो अवधारण लिएर त्यहाँ पुगिन्। आइडिया स्टुडियो एक रियालिटी शो हो जसले व्यावसायिक अवधारण भएका व्यक्तिलाई आफ्नो अवधारणा उद्यम 'स्टार्ट-अप' मा परिणत गर्न मद्दत गर्छ।
आङडोल्मा आइडिया स्टुडियोको चौथो संस्करणमा सहभागी भएर पुरस्कृत पनि भइन्। उनलाई हौसला मिल्यो। आफ्नो उत्पादनमा विश्वस्त भइन्। अन्ततः व्यावसायिक रूपमा खादा उत्पादन गर्ने निर्णयमा पुगिन्।
व्यवसाय सुरू गर्न नाम चाहियो। उनलाई फुर्यो 'उत्पला'। उनका अनुसार उत्पला भनेको नीलो कमलको फूल हो। यो फूल नवीकरणको प्रतीक मानिन्छ।
'खादा शब्द खातकको अपभ्रंश हो। तिब्बती भाषामा खा भनेको हिउँ र ताक भनेको चिह्न हो,' उनले भनिन्, 'खादाको इतिहास र प्रयोग तिब्बतसँग जोडिएको छ। नेपालको हिमाली भेगमा शुभकामना आदानप्रदान गर्न सेतो खादा लगाइदिने चलन छ।'
उनका अनुसार खासमा सुरूमा सुतीको कपडाको सेतो खादा प्रयोग हुन्थ्यो। पछि बजारमा भारत र चीनबाट प्लास्टिक र पोलिस्टरबाट बनेका रंगीन खादा आयात हुन थाल्यो। लुङ्दर पनि बजारमा यिनै सामग्रीबाट बनेका बढी पाइने देखेर वातावरणसंगत लुङ्दर बनाउन आफू अग्रसर भएको उनको भनाइ छ।
आङडोल्माले खादा र लुङ्दर उत्पादन एकसाथ सुरू गरेकी हुन्।
'बौद्ध धर्ममा लुङ्दरको विशेष महत्व छ। खादा र लुङ्दर एकसाथ बनाउने योजना लिएरै काम गरेँ,' उनले भनिन्, 'सुरूमा सुती कपडाको लुङ्दर बनाएर ससाना गुम्बाहरूमा झुन्ड्यायौं।'
उत्पला क्राफ्टमा उत्पादित खादामा 'अष्टमंगलम्' मन्त्र लेखिएको हुन्छ। लुङ्दर मुख्य गरेर मन्त्र र प्रार्थनाकै लागि तयार गरिएको हुन्छ। यसलाई कतैकतै लुङ्ता भन्ने चलन पनि छ। तिब्बती भाषामा भने 'दरछ्या' भनिन्छ।
उत्पलाले २०७८ पुसमा काठमाडौंको बौद्ध स्तुपमा आफ्नो उत्पादन लुङ्दर टाँग्यो। स्थानीय बासिन्दाहरूलाई जम्मा गरेर वातावरणअनुकूल लुङ्दरबारे जानकारी पनि गरायो।
उनले बनाउने लुङ्दरमा २५ वटाको सेट हुन्छ र करिब ९ मिटर लामो हुन्छ। आवश्यकताअनुसार लम्बाइ बढाउन वा घटाउन सकिन्छ।
लुङ्दर विभिन्न पाँच वटा रङको संयोजनमा तयार पारिन्छ। सबैभन्दा पहिले नीलो, त्यसपछि क्रमशः सेतो, रातो, हरियो र अन्तिममा पहेँलो रङको राखिन्छ।
'यी पाँच रङले ब्रह्माण्डको पाँच तत्त्व बुझाउँछ। नीलोले आकाश, सेतोले वायु, रातोले अग्नि, हरियोले जल र पहेँलोले पृथ्वी जनाउँछ,' उनले भनिन्, 'यी पाँच रङले प्रकृति र प्राणीलाई सकारात्मक र सन्तुलित ऊर्जा दिन्छ भन्ने मान्यता छ।'
उत्पलाले सेतो कपडाको मात्रै लुङ्दर बनाउँछ। कृत्रिम रङमा वातावरणलाई हानि पुर्याउने रसायन हुने भएकाले रंगीन नबनाउने निर्णय गरेको उनले बताइन्।
'मैले बौद्ध धर्म गुरुहरूसँग सल्लाह लिएँ। लुङ्दरमा अक्षरहरू मात्रै रंगीन भए हुने र यसो हुँदा धार्मिक आस्थामा असर नपर्ने बताउनुभयो। त्यसैले मन्त्रहरू मात्रै रंगीन बनायौं।'
मन्त्र लेख्न पाँच वटै रङको मसी प्रयोग हुन्छ।
बौद्ध अनुयायीहरूले आफ्नो घर र गुम्बा परिसरमा टाँगिएको लुङ्दर प्रत्येक वर्ष ल्होसारमा फेर्छन्। उत्पलाको खादा र लुङ्दर कम्पोस्ट गरेको सात महिनामा कुहिने उनको भनाइ छ। विभिन्न चरणको अध्ययन र अभ्यासबाट आफू उक्त तथ्यमा पुगेको उनले बताइन्।
'ब्रिटिस कोलम्बिया विश्वविद्यालयले पनि हामीले उत्पादन गरेको खादा र लुङ्दरको वातावरणीय परीक्षण गर्ने भएको छ। त्यहाँबाट पुष्टि भएमा उत्पला क्राफ्टले अन्तर्राष्ट्रिय मान्यता पाउने छ,' ४१ वर्षीया उनले भनिन्।
हाल उत्पला क्राफ्टमा आङडोल्मासँगै १८ जना संलग्न छन् जसमध्ये १२ जना गृहिणी हुन्। लुङ्दरको आकारमा कपडा तयार भएपछि मन्त्र छपाइका लागि छापाखाना पठाइन्छ। खादाको माग वर्षभरि नै भए पनि लुङ्दरको खास अवसरमा मात्र हुन्छ। उत्पलाले एक वर्षमा ६ हजार वटा खादा र साढे तीन हजार लुङ्दर बनाएको आङडोल्माले जानकारी दिइन्।
गुम्बा, स्तुप, बैंकहरू, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, पर्यटन व्यवसायी लगायत उत्पला क्राफ्टका मुख्य ग्राहक हुन्। यसले अनलाइनमार्फत सामान बिक्री गर्छ। केही पसलहरूमा पनि पाइन्छ। जर्मनी, मलेसिया, अमेरिका, बेलायत, फ्रान्सलगायत देशमा निर्यात हुने गरेको पनि उनले बताइन्।
अमेरिकाको न्यूयोर्कस्थित 'युनाइटेड शेर्पा एसोसिएसन' ले वातावरणअनुकूल खादा र लुङ्दर मात्रै प्रयोग गर्ने नीति लिएर उत्पला क्राफ्टसँग सहकार्य गरेको छ।
पुर्ख्यौली घर सोलुखुम्बु भएकी आङडोल्मा काठमाडौंमै जन्मेहुर्केकी हुन्। ए लेभलसम्मको पढाइ पूरा गरेपछि उनले मार्केटिङको जागिर खाइन्। शिक्षण पनि गरिन्। २०६४ सालदेखि लैनचौरस्थित सिविक क्लिनिकमा मार्केटिङको जिम्मेवारीमा खटिइन्। यहाँ करिब ७ वर्ष काम गरिन्।
'२०७२ सालको भूकम्पपछि म अमेरिका गएँ। मेरो आमा अमेरिकामा भएकाले उहाँकै माध्यमबाट ग्रिन कार्ड पाएकी थिएँ,' उनले भनिन्।
तर त्यहाँको दिनचर्यामा उनी रम्न सकिनन्। तीन महिनामै फर्किन्। फर्केपछि नै उनलाई वातावरणअनकूल खादा र लुङ्दर बनाउने अवधारण फुरेको हो।
'आमाले धेरैअघिदेखि घरायसी सामान पुनः प्रयोग गर्ने, रिसाइकल गर्ने, कुहिने र नकुहिने छुट्याउने काम गर्नुहुन्थ्यो,' उनले भनिन्, 'कुरा नबुझुन्जेल त आमाले गरेको देखेर दिक्क लाग्थ्यो। पछि बुझ्दै गएँ। आमाबाटै वातावरणको ज्ञान पाएँ।'
उत्पलाको बजार विस्तार हुँदै गए पनि महँगो भयो भन्ने गुनासो आउने गरेको छ।
यसबारे उनी भन्छिन्, 'वातावरणमा हानी नगर्ने, कुहिने सामान उत्पादन गर्नु अलिक महँगो नै हुन्छ। तर हाम्रा लागि वातावरण संरक्षण मुख्य कुरा हो।'