नेपालमा बसेर अरेबियन परिकार खान चाहनुहुन्छ?
चाहनुहुन्छ भने त्यो सेवा उपलब्ध गराउँछ काठमाडौंको कलंकीमा रहेको 'एलस् स्वार्मा ग्रिल एन्ड बार' ले।
यसका सञ्चालक हुन् चितवनका अमृत न्यौपाने। २०७२ सालमा उनी रोजगारीका लागि दुबई गएका थिए। बसाइका पाँच वर्षमा दिनहुँजसो 'स्वार्मा' खाए। मिठो, सस्तो र पेट पनि भरिने हुँदा उनको खाजा रोजाइमा स्वार्मा पर्यो।
एकदिन सोचे– यही परिकार र स्वाद नेपालमा पनि कसो नरूचाइएला!
अनि आफैं व्यवसाय गर्ने योजनाका साथ नेपाल फर्केका ३१ वर्षीय अमृतले खोले- एलस् स्वार्मा ग्रिल एन्ड बार।
'दुबईमा हुँदा कामबाट फुर्सद कम हुन्थ्यो। त्यहाँ सहजै पाइने, स्वस्थकर र मिठो खाजा स्वार्मा नै थियो,' उनले भने, 'यसभित्र पर्याप्त मात्रामा खानेकुरा राखिन्छ। तेलको प्रयोग कम हुन्छ।'
अमृतका अनुसार स्वार्मा बनाउँदा पातलो गरी रोटी बेलिन्छ। त्यो रोटीलाई पिटा-ब्रेड भनिन्छ। पाकेको त्यो रोटीमा प्याज, गोलभेँडा, काँक्रो, मासु, विभिन्न मसला र सस हालेर गोलो गरी बेरेपछि स्वार्मा तयार हुन्छ।
स्वार्मा बनाउन प्रयोग गरिने मासु एक स्थिर तापक्रममा ग्रिल गरिन्छ। ग्रिल गर्नुअघि मसलाहरू हालेर म्यारिनेट गरिन्छ। म्यारिनेट गर्नु भनेको मसलाहरू मोलेर केही समय राख्नु हो।
झट्ट हेर्दा स्वार्मा बजारमा पाइने रोटी-रोलजस्तै देखिन्छ। तर यसको स्वाद भिन्न हुने अमृतको भनाइ छ।
'स्वार्मा मध्यपूर्वी परिकार हो। यस क्षेत्रका देशहरूमा निकै रूचाइन्छ,' उनले भने।
एलस् स्वार्मा खुलेको करिब एक वर्ष भयो।
विदेशी परिकार काठमाडौंमा विस्तार गरिरहेका अमृत आफ्नो रहरले मात्र विदेश पसेका थिएनन्।
चितवनका उनी एसएलसी परीक्षा दिएर २०६४ सालमा काठमाडौं आएका थिए। उनलाई सानैदेखि पाककलामा रूचि थियो। काठमाडौंमा ६ महिना कुकिङ (खाना पकाउने) तालिम पनि लिए। क्यारेबियन कलेजमा होटल म्यानेजमेन्ट विषय लिएर बाह्र कक्षा पूरा गरे। थप पढाइका लागि बेलायत गए। होटल म्यानेजमेन्टमै स्नातक पूरा गरेर २०६९ सालमा नेपाल फर्के।
यहाँ भनेजस्तो रोजगारी मिलेन। विभिन्न क्षेत्रमा काम गरे। कहिले ट्रेकिङ एजेन्सीमा त कहिले निर्माण कम्पनीमा। एक समय फेसन क्षेत्रमा पनि जोडिए। तर कतैबाट सन्तुष्टि नमिलेपछि विदेश हानिएको उनी बताउँछन्।
दुबईमा उनले आयात–निर्यात कम्पनीमा काम गरे। त्यहाँ पनि रमाउन नसकेपछि स्वदेश फर्केका हुन्।
'विदेशमा अर्काको काम गर्नुभन्दा नेपालमै सानै भए पनि आफ्नै व्यवसाय गर्ने सोचेर फर्केँ,' अमृतले भने, 'स्वार्मा नेपाली जिब्रोले रूचाउने स्वाद हो। यही सोचेर नेपाली बजारमा स्वार्मा पस्किएँ।'
उनका अनुसार नेपालमा मध्यपूर्वी परिकार पाइने होटल तथा रेस्टुरेन्ट कम छन्। अझ अरेबियन खाना पाइने रेस्टुरेन्ट त औंलामै गन्न सकिन्छ।
'सबै कुरा विचार गरेर नेपालमा अरेबियन परिकार पाइने रेस्टुरेन्ट सञ्चालन गर्ने निष्कर्षमा पुगेको हुँ,' उनले भने।
काम त सुरू गर्ने तर कुन स्तरमा भन्ने निर्णयमा पुग्न कठिन भयो। उनले सुरूमा सानो कोठा लिएर स्वार्मा मात्र बनाउने विचार गरेका थिए। करिब छ महिना बजार अध्ययन गरे। काठमाडौं उपत्यकामा सञ्चालित अरेबियन रेस्टुरेन्टहरूमा पुगे। त्यहाँका परिकार खाए। ती परिकार दुबईमा खाएभन्दा केही भिन्न पाए।
अनि उनले रेस्टुरेन्ट नै खोलेर स्वार्माको खास स्वाद दिने विचार गरेका हुन्।
उनको रेस्टुरेन्टमा स्वार्मासँगै अन्य अरेबियन परिकार पाइन्छ। तीमध्ये अरेबियन मिक्स ग्रिल, बफेलो विङ्स्, सिस्टोक, अरेबिक सलाद मुख्य छन्। यसबाहेक नेपाली, इटालियन, इन्डियन, चाइनिज र कन्टिनेन्टल परिकार पाइन्छ। नेपाली बजारमा प्रचलित फास्ट फूडका परिकार पनि पाइन्छ।
एलस् स्वार्मामा शाकाहार र मांसाहार गरी १५० वटाभन्दा बढी परिकार पाक्छ। मुख्य विशेषता भने अरेबियन खाना नै भएकाले रेस्टुरेन्टको नाममा अरबी शब्द प्रयोग गरेको अमृतको भनाइ छ।
उनका अनुसार अरबी भाषामा 'एलस्' ले 'जाऔं' भन्ने बुझाउँछ। स्वार्मा अरबी मुलुकको प्रसिद्ध खाना भएकाले रेस्टुरेन्टको उद्देश्यअनुसार 'एलस् स्वार्मा' नाम रोजेको उनले बताए।
हाल रेस्टुरेन्ट सञ्चालनमा अमृतसँगै उनकी श्रीमती रश्मी घिमिरे, दिदी अनिता न्यौपाने र भिनाजु मोतिराम देवकोटा सक्रिय छन्। थप दुई जना कर्मचारी छन्।
अमृत र रश्मीको बिहे भएको दुई वर्ष भयो। रश्मीले नर्सिङ पढेकी हुन्। केही समय क्लिनिकमा काम पनि गरिन्। अमृतले रेस्टुरेन्ट चलाउने भएपछि क्लिनिक छाडेर २३ वर्षीया रश्मी पनि यतै लागिन्।
'रेस्टुरेन्ट व्यवसायमा उहाँ (अमृत) पनि नयाँ हुनुहुन्थ्यो। एउटै व्यवसाय गर्ने सोचेर क्लिनिकको काम छाडेँ,' उनले भनिन्, 'अब यसमै निरन्तरता दिन्छु होला।'
रश्मीका अनुसार सुरूआती दिनमा उनलाई रेस्टुरेन्ट व्यवसाय बुझ्न निकै कठिन भयो। बिस्तारै सिक्दै र बानी पर्दै गइन्।
भनिन्, 'अहिले काउन्टरदेखि भान्सासम्मको काम भ्याउँछु। सेफहरूले बनाएको हेर्दै र आफूले कोसिस गर्दै खाना पकाउन पनि सिकेँ।'
अमृतकी दिदी अनितालाई पनि यो कामको अनुभव थिएन। गर्दागर्दै अभ्यस्त भएकी हुन्।
'म पनि रेस्टुरेन्टमा नयाँ थिएँ। काम हेर्दै, गर्दै सिकेँ। आवश्यक परेपछि छिटै सिकिने रहेछ,' उनले भनिन्।
अनिता र उनका श्रीमान मोतिराम १२ वर्ष अस्ट्रेलिया बसेर करिब साढे एक वर्षअघि नेपाल फर्केका हुन्। यता के व्यवसाय गर्ने भन्ने अलमल थियो। त्यही बेला अमृतसँग कुरा भयो। एक्लै नयाँ व्यवसाय सुरू गर्नुभन्दा मिलेर गरौं भन्ने सल्लाह भयो।
'हामी परिवार मिलेर काम गर्दैछौं। बिहानदेखि बेलुकी अबेरसम्म रेस्टुरेन्टमै हुन्छौं,' ३३ वर्षीया अनिताले भनिन्।
उनीहरूले ३५ लाख रूपैयाँ लगानीमा एलस् स्वार्मा सुरू गरेका हुन्।
यो रेस्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका १० बजेसम्म खुल्छ। एक पटकमा ५० जनासम्म ग्राहकले सेवा पाउन सक्छन्। हाल दैनिक सरदर ६० जना ग्राहक आउँछन्। शुक्रबार र शनिबार चाप बढी हुन्छ। तर रेस्टुरेन्ट केन्द्रीय हबभन्दा केही पर भएकाले अरेबियन खानाबारे अझै राम्ररी बुझाउन नसकेको अमृतलाई लागेको छ। त्यसैले उनीहरू व्यवसाय विस्तारको योजना बनाइरहेका छन्।
अमृतका अनुसार अरेबियन परिकारहरू स्वस्थकर हुन्छन्। हरेक परिकारमा काँक्रो, मुला, गाँजर र हरियो सागपातको सलाद अनिवार्य समावेश हुन्छ। पकाउन ओलिभ (जैतनु) तेल प्रयोग गरिन्छ।
'परिकार नखाई त्यसको स्वाद थाहा हुँदैन। अरेबियन परिकार अन्य फास्ट फूडको तुलनामा स्वस्थकर हुन्छ,' अमृतले भने।
रेस्टुरेन्टमा 'के खाने होला' भनेर अलमल परेका ग्राहकलाई अरेबियन परिकार खान सल्लाह दिने गरेको उनले बताए। यसरी खाने ग्राहकहरू सन्तुष्ट भएको उनीहरूको अनुभव छ।
'आफ्नै व्यवसाय गर्दैछु भन्दा खुसी लाग्छ। कामको चाप बढी भए पनि यसमा सन्तुष्ट छु,' उनले भने, 'नेपालमै राम्रा अवसरहरू सिर्जना गर्न सकिने रहेछ। बजारले नयाँ अवधारणा खोजेको हुन्छ। त्यसअनुसार काम गर्ने हो भने सफलता पाइन्छ भन्नेमा ढुक्क छु।'
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी