वर्ल्डलिंक कम्युनिकेसनले देशभरबाट छनोटमा परेका ७ जना ग्राहकलाई ४३ इन्चको स्मार्ट टेलिभिजन (टिभी) प्रदान गरेको छ।
कम्पनले सेवा सुरू गरेको २७ वर्षमा ७ लाख ग्राहक बनाउन सफल भएको अवसरमा पारी ७ जना ग्राहकलाई टेलिभिजन कोसेली दिएको हो।
१ लाखदेखि ७औं लाख ग्राहक नम्बर भएका ग्राहकलाई टिभी प्रदान गरेको वर्ल्डलिंकले जनाएको छ।
टिभी पाउनेमा मकवानपुर हेटौंडाका निरज बराइली, झापा बिर्तामोडकी मनिसा राई, बुटवलका विजय थापा, सुर्खेतका शिवराम रोकाया, भक्तपुर गठ्ठाघरका भीमबहादुर कुमाल, राष्ट्रबैंक चोक पोखराका रविन थापा र बालाजुका हुमनाथ अघिकारी छन्।
बराइली वर्ल्डलिंकको इन्टरनेट सेवा लिने १ लाख नम्बरका ग्राहक हुन्। सन् २०१७ को मे महिनामा वर्ल्डलिंकले १ लाख ग्राहक बनाएको थियो।
यस्तै, बिर्तामोडकी राई वर्ल्डलिंककी २ लाख नम्बरकी ग्राहक हुन्। सन् २०१८ मा कम्पनीले २ लाख ग्राहक संख्या पार गरेको थियो।
बुटवलका थापा ३ लाख नम्बरका ग्राहक हुन्। उनी सन् २०१९ मा कम्पनीको ग्राहक बनेका थिए। सोही वर्षको फेब्रुअरीमा कम्पनीले ३ लाख ग्राहक बनाउन सफल भएको थियो।
सुर्खेतका रोकाया, गठ्ठाघरका कुमाल, पोखरा राष्ट्र बैंक चोकका रविन र बालाजुका अधिकारी क्रमशः ४ लाख, ५ लाख, ६ लाख र ७ लाख नम्बरका ग्राहक हुन्। उनीहरू सन् २०२० यता कम्पनीको ग्राहक बनेका थिए।
सन् १९९५ बाट सेवा सुरू गरेको वर्ल्डलिंकले २७ वर्षमा नोभेम्बर १४ मा ग्राहकको संख्या ७ लाख पुर्याएको हो।
सबैभन्दा बढी ग्राहक कोभिड–१९ महामारीपछि थपिएको कम्पनीले जनाएको छ। सन् २०१९ को फेब्रवरीसम्म ३ लाख ग्राहक बनेकोमा सन् २०२२ को नोभेम्बरसम्म आइपुग्दा थप ४ लाख ग्राहक थपिएका छन्।
देशभर १५० भन्दा बढी शाखा कार्यालय रहेको कमपनीमा ५ हजार नागरिकले रोजगारीको अवसर पाएका छन्।
देशका सात वटै प्रदेशका ७३ जिल्लामा कम्पनीको इन्टरनेट पहुँच पुगिसकेको छ। बाँकी रहेका दार्चुला, बैतडी, मनाङ र मुस्ताङ जिल्लामा पनि चाँडै आफ्नो सेवा विस्तार गर्ने कमपनीले जनाएको छ।