स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससिटी) द्वारा सञ्चालित स्मार्ट क्युआरमा आवद्ध मर्चेन्टहरूले एम डबलीमार्फत भुक्तानी गर्न सक्ने भएका छन्।
इन्फो डेभलपरद्वारा सञ्चालित एम डबली सहकारीहरूलाई लक्षित गरिएको मोबाइल बैंकिङ सेवा हो।
हाल १ सय ७० भन्दा धेरै सहकारीमा सञ्चालनमा ल्याइएको एम डबलीमा स्मार्ट क्युआर सेवा सुरू गरिएको हो।
हाल आर्जन बचत तथा ऋण सहकारीका एम डबली प्रयोगकर्ताले यो सुविधा लिन सक्नेछन् भने छिट्टै नै अरू सदस्य सहकारीहरूमा पनि यो सेवा विस्तार गरिने योजना रहेको इन्फो डेभलपरका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले बताए।
स्मार्टच्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले भने 'भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटल लगायतका १ लाख ६० हजारभन्दा धेरै मर्चेन्टहरु आवद्ध स्मार्ट क्युआर नेटवर्कमा हालसम्म बैंक तथा वालेटहरू मात्र आवद्ध रही आएकोमा अबदेखि एम डबलीमार्फत सहकारीका सदस्यहरुले पनि यो सुविधामार्फत लाभ लिन सक्ने कुराले उत्साहित छौं।'
उनले यो सेवा सञ्चालन गर्नका लागि इच्छुक सहकारीहरूले स्मार्टच्वाईस टेक्नोलोजिज वा इन्फो डेभलपरमा सिधै सम्पर्क गरी विस्तृत जानकारी लिन सक्ने व्यवस्था मिलाइएको बताए।