काठमाडौं उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकन गर्न आउने पर्यटकहरूलाई सहज सेवा दिन 'होप अन होप अफ' सिटी बस सञ्चालन हुने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अघि सारेको पर्यटन पुनरुत्थान कार्ययोजना अन्तर्गत ल्याइएको होप अन होप अफ सिटी बस सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकनमा पर्यटक तथा धर्मावलम्बीहरूलाई सहज बनाउन 'होप अन होप अफ' प्रकारको घुम्ती सेवा दिन लागिएको हो।
पहिलो चरणमा साझा यातायातका पाँच वटा बिजुली बस हरेक आधा घण्टामा पाटन, काठमाडौं दरबार, पशुपति, बौद्ध र स्वयम्भु पुग्नेछ। भविष्यमा भक्तपुर चाँगुनारायणसम्म लैजाने योजना बनाइएको छ।
पर्यटकले बसको एउटा टिकट लिएपछि दिनभर होप अन होप अफका जुनसुकै बस चढ्न पाउनेछन्। करिब ३० किलोमिटर लामो यात्रा गर्न तीन घण्टा लाग्नेछ। आगामी अंग्रेजी नयाँ वर्षदेखि होप अन होप अफ’ सिटी बस सञ्चालन गरिने मन्त्री श्रेष्ठले बताए।
मन्त्री श्रेष्ठले होप अन होप अफ सिटी बस प्रभावकारी रूपमा सञ्चालनबारे सरोकारवालाहरूसँग आइतबार मन्त्रालयमा छलफल समेत गरे।
छलफलमा साझा यातायातका सञ्चालक, व्यवसायी, विज्ञ तथा ट्राफिक प्रहरी लगायत सरोकारवालाको उपस्थिति थियो।
मन्त्री श्रेष्ठले काठमाडौंका सांस्कृतिक सम्पदा घुम्न आउने विदेशी तथा स्वदेशी पर्यटकहरूलाई सम्पदा क्षेत्र अवलोकनमा सार्वजनिक सवारी सहज बनाउन होप अन हप अफ बस सञ्चालनको अवधारणा ल्याएका हुन्।
पर्यटकलाई सम्पदा क्षेत्रको अवलोकन गर्न सार्वजनिक सवारी सहज नहुँदा हैरानी खेप्नुपरेको गुनासो आउने गरेको छ।
काठमाडौंका विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा तथा मुख्य पर्यटकीय क्षेत्रमा होप अन होप अफ बस सञ्चालन भएपछि पर्यटकहरू केही घण्टामै मुख्य पर्यटकीय क्षेत्रको अवलोकन गर्न सक्नेछन्।
होप अन होप अफका लागि वातावरणमैत्री तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपका बस सेवा सञ्चालन गरिने साझा यातायात संचालक समिति सदस्य भुषण तुलाधरले जानकारी दिए।