काठमाडौं उपत्यकामा घरको तलैपिच्छे होटल र रेस्टुरेन्ट देखिन्छन्। मुश्किलले एक हात दूरीमा खुम्चिएका टेबल र कुर्सीमा बसेर खानुपर्ने बाध्यता पनि छ। यस्तोमा रेस्टुरेन्टको परिभाषा नै 'खाना खान जाने ठाउँ' मात्रै भइसक्यो।
यही समस्यालाई मध्यनजर गर्दै आकाश पौडेलले सञ्चालनमा ल्याएका हुन् 'वालनट बिस्ट्रो'।
पाँच रोपनी क्षेत्रफलमा फैलिएको वालनट बिस्ट्रो काठमाडौं, पानीपोखरीमा छ। यहाँ प्रवेश गर्दा गाडीको गाइँगुइँ र कोलाहलभन्दा टाढा पुगेको अनुभूति हुन्छ। वरिपरि साना-ठूला रूखबिरूवा सजिएकाले आनन्दको प्राकृतिक वातावरणमा विभिन्न परिकारको मजा लिन सकिन्छ।
'काठमाडौं जस्तो व्यस्त सहरमा शान्त र आरामदायी रेस्टुरेन्ट खोल्ने इच्छा थियो,' रेस्टुरेन्ट सञ्चालक आकाशले भने, 'यहाँको वातावरणको धेरैले प्रशंसा गर्नु हुन्छ। निकै शीतल महशुस हुने बताउनु हुन्छ।'
वालनट बिस्ट्रो रेस्टुरेन्टसँगै बैंक्वेट पनि हो। यहाँ सभा-समारोह आयोजना गर्न मिल्ने हल छ। सामान्य दिनमा रेस्टुरेन्टमा एकैपटक २५० जनासम्म ग्राहक अटाउन सक्छन्।
अंग्रेजी शब्द 'वालनट' को अर्थ ओखर हो भने बिस्ट्रो भनेको रेस्टुरेन्ट। वालनट बिस्ट्रोको क्षेत्रफलभित्र एउटो पुरानो ओखरको रूख छ। यही रूखको नामबाट रेस्टुरेन्टको नाम राखिएको आकाश बताउँछन्।
रेस्टुरेन्ट क्षेत्रमा आँप, अम्बा, मौसमी फलफूल र विभिन्न फूलका बोट छन्। गमलामा पनि थरीथरीका फूल र लहराहरू देखिन्छन्। भित्ते चित्रकला, काठमा लेखिएका साहित्यहरू र ढुंगामा कोरिएका कलात्मक डिजाइनले रेस्टुरेन्ट सजिएको छ। काउन्टर डेस्कमुनि रहेको एक्वेरियममा चलिरहेका माछाले यहाँको सौन्दर्य थप बढाएका छन्।
यहाँको साजसज्जा काठमाडौंका अधिकांश रेस्टुरेन्टको भन्दा फरक देखिन्छ। यहाँ पाइने खानाको नाम र स्वाद पनि अलग भएको आकाश बताउँछन्। वालनट क्रिस्पिकानो, चिकेन मुक्का, पोलपाल चिकेन, कोर्न अन द कप, गोलोमोलो मस्रुम, वालनट रोटी, पिरो पिज्जा, यमलोकको अकबरे चिकेन, मामाघरे नुडल्स र मायालु सलाद यहाँका विशेष परिकार हुन्। यी परिकार रेसिपी आफैंले तयार पारेको आकाशले बताए।
'विभिन्न समयमा मैले खाएका परिकार परिमार्जन गर्दै आफ्नै रेसिपी तयार पारेँ,' आकाशले भने, 'हरेक परिकारसँग मेरो फरक अनुभव र कथा जोडिएको छ।'
जस्तै मामाघरे नुडल्स। यो उनका मामाले चाउमिन बनाउने तरिका परिमार्जन गर्दै तयार भएको परिकार हो। त्यस्तै हिमाली भेगमा पदयात्रा जाँदा उनले दूधमा पकाएको दूधालु मकै खाएका थिए। यसलाई परिमार्जन गरेर उनले 'कर्न अन द कप' नामक परिकार बनाए। यो दूधसँगै दूधालु मकैमा चिज हालेर पकाइन्छ र चिजकै बटुकामा पस्किइन्छ।
पिरो पिज्जामा इटालियनसँगै नेपाली स्वाद पाउन सकिन्छ। पोलपाल चिकेन आगोमा सेकाउँदै पकाइन्छ जसले मासुमा मिठो स्वाद र बासना थप्छ।
रेस्टुरेन्टमा यी विशेष परिकारसँगै नेपाली खाना सेट, इन्डियन र कन्टिनेन्टल परिकार पाइन्छ। त्यसैले वालनट बिस्ट्रो नेपालीसँगै विदेशी ग्राहकको पनि रोजाइमा परेको छ।
आकाशको अनुभवमा रेस्टुरेन्टमा ग्राहकहरू आफ्ना कथा सुनाउन र कुराकानी गर्न आइपुग्छन्। त्यसैले वालनट बिस्ट्रोमा एउटा टेबलदेखि अर्को टेबलसम्म कम्तीमा दुई मिटर दूरी राखिएको छ। आवश्यकताअनुसार समूहका लागि छुट्टै कोठा (ठाउँ) पनि छ।
'मानिसहरू खानासँगै कुराकानी गर्न रेस्टुरेन्ट पुग्छन्। हामीले गोपनीयतालाई प्राथमिकतामा राखेर टेबल-कुर्सीको सेटअप गरेका हौं,' उनले भने।
बिहान ९ बजेदेखि बेलुका ११ बजेसम्म खुल्ने वालनट बिस्ट्रोमा विभिन्न उमेर समूह र वर्गका ग्राहक पुग्छन्। तीमध्ये ४० प्रतिशत नियमित ग्राहक छन्। आफ्नो सहजता र आवश्यकताअनुसार टेबल रोजेर बस्छन्। कोही यहीँ बसेर काम पनि गर्छन्।
वालनट बिस्ट्रोमा पर्याप्त मात्रामा पार्किङको पनि व्यवस्था छ। पार्किङ क्षेत्र मात्रै करिब दुई रोपनी क्षेत्रफलमा फैलिएको छ। यहाँ बालबच्चाका लागि खेल्ने सानो मैदान, सानो पुस्तकालय र बोटबिरूवा किन्न मिल्ने ठाउँ छ। भविष्यमा 'लाइभ आर्ट' को अवधारणा ल्याउने योजना रहेको आकाशले बताए।
हाल यहाँको सबै व्यवस्थापन आकाश एक्लैले सम्हालिरहेका छन्। सुरूआती लगानीमा भने उनलाई काका विष्णु भण्डारीले मद्दत गरेका थिए। वालनट बिस्ट्रो दुई करोड ७० लाख रूपैयाँ लगानीमा खुलेको हो। यहाँ करिब ३५ जना कर्मचारी छन्। भान्सा मात्रै १४ जना सेफ र कर्मचारीको जिम्मामा छ।
समय हुँदा आकाश आफैं पनि भान्सामा पुग्छन्। खाना पकाउन रमाइलो लाग्छ उनलाई।
खाना पकाउने कामलाई कला र ध्यान मान्ने उनी भन्छन्, 'जस्तोसुकै रिस वा खराब मुड भए पनि खाना पकाउँदै जाँदा फेरिन्छ। त्यसैले यसलाई ध्यान ठान्छु।'
आकाशलाई सानैदेखि पकाउनमा रूचि थियो। प्लस-टुमा होटल व्यवस्थापन रोजेर स्नातक पनि यही विषयमा गरे। कलेजले व्यावहारिक सिकाइलाई प्राथमिकतामा राख्थ्यो। विद्यार्थीहरूलाई प्रशिक्षणका लागि विभिन्न होटल तथा रेस्टुरेन्ट लग्थ्यो। यही क्रममा २०६४ सालतिर कलेजबाटै प्रशिक्षणका लागि बेलायत जाने मौका पाए। लन्डन सहर पुगेपछि उनलाई फर्किन मन भएन।
'त्यहाँको परिवेश, सभ्यता र विशेष रेस्टुरेन्ट संस्कृतिले मलाई लोभ्यायो,' आकाशले भने, 'त्यसैले पढाइ छाडेर एक वर्ष उतै बसेँ।'
आफूलाई मन लागेको काम गरिहाल्ने स्वभावका छ उनको। त्यसैले त्यस बेला उनले लिएको उक्त निर्णय परिवारले पनि स्वीकार गर्यो। बेलायत बसाइमा उनले त्यहाँको रेस्टुरेन्टहरूबारे बुझे। मानिसहरूको धारणा र खानपिनको चलनबारे अध्ययन गरे। उनलाई त्यसै बेला नेपालमा पनि आफ्नै रेस्टुरेन्ट सञ्चालन गर्ने जोस पलाएको हो।
'त्यस बेला नेपालमा चलेका रेस्टुरेन्टहरू सीमित थिए। मलाई विशेष परिवेश र मानिसलाई लोभ्याउने वातावरण भएको रेस्टुरेन्ट सञ्चालन गर्ने हुटहुटी चल्यो,' उनले भने, 'अनि नेपालमा रेस्टुरेन्ट खोल्ने सोचले फर्किएँ।'
एक वर्षपछि नेपाल फर्केर उनी यहाँ रेस्टुरेन्ट खोल्न तम्से। सोचेजस्तो सहज भएन। उनीसँग पुँजीकै अभाव भयो। अनि पढाइलाई पनि निरन्तरता दिन मन थियो। रेस्टुरेन्ट खोल्ने सपना पछाडि राख्दै उनी पुनः स्नातक भर्ना भए। तर यसपटक होटल व्यवस्थापन होइन, फिल्म निर्माण पढ्न।
'सानैदेखि धेरै फिल्म हेर्थेँ। यसले फिल्म निर्माणमा पनि रूचि बढेको थियो,' ३३ वर्षीय आकाशले भने।
उनले अस्कर कलेजबाट फिल्म निर्माणमा स्नातक सके। यसपछि उनी यही क्षेत्रमा लागे। केही सयमअघि मात्रै उनले निर्माण गरेको फिल्म 'ऐना झ्याल्को पुतली' प्रदर्शनमा आएको थियो। यसले आफूलाई ठूलो जमातमा चिनाएको आकाश बताउँछन्।
ऐना झ्यालको पुतलीभन्दा अघि उनले २०७२ सालमा 'कथा ७२' र २०७८ सालमा 'चिसो एस्ट्रे' निर्माण गरेका थिए। यसबाहेक थुप्रै छोटा फिल्म पनि बनाएका छन्। उनले पहिलो पटक कलेजको प्रोजेक्टका लागि २०६९ सालमा छोटो फिल्म बनाएका थिए। त्यसै बेलादेखि उनको फिल्मी करिअर सुरू भएको भन्दा फरक पर्दैन।
रेस्टुरेन्टको योजना उनले फेरि ब्युँताएको २०७४ सालको अन्त्यदेखि हो। सुरूमा ठाउँ खोजे। हाल वालनट बिस्ट्रो भएको ठाउँ पाउनै करिब ८ महिना लागेको उनी बताउँछन्। यो ठाउँ उनले १५ वर्षका लागि भाडामा लिएका हुन्। ठाउँ पक्का भएपछि मर्मत र साजसज्जामा थप चार महिना लाग्यो। सबै तयार भएपछि २०७५ सालको पुसमा वालनट बिस्ट्रो खुलेको हो।
केही समयमै कोरोना महामारी फैलियो। लकडाउनसँगै रेस्टुरेन्ट बन्द रह्यो।
'त्यसपछि केही दिन निकै आत्तिएँ। कसरी व्यवसाय अगाडि बढाउने भन्ने भयो,' आकाशले भने, 'चिनजानको एक जना डाक्टर दाइले सावधानी अपनाउँदै डाक्टर र अस्पतालका कर्मचारीका लागि खाना बनाउन सल्लाह दिनुभयो।'
पानीपोखरी वरिपरि थुप्रै अस्पताल छन्। त्यहाँका डाक्टरहरूसँग आकाशले चिनजान गरे। लकडाउनमै उनीहरूको खानपिनको जिम्मेवारी लिए। यसरी लकडाउनमा समेत व्यवसाय विस्तार गर्ने अवसर मिल्यो। उनका अनुसार हाल वालनट बिस्ट्रोका नियमित ग्राहकमा अस्पतालका कर्मचारी पनि पर्छन्।
रेस्टुरेन्टसँगै आकाश 'केक मोनार्क' बेकरी पनि चलाइरहेका छन्। त्यस्तै नयाँ फिल्मको काम पनि चलिरहेको छ। छिट्टै फिल्म 'आले-मैचा' बाट डेब्यू निर्देशन पनि गर्ने बताए।
आफूले आँटेको हरेक काममा उत्तिकै समर्पित भई लाग्ने आकाश व्यवसाय र कला क्षेत्रलाई सँगै अघि बढाउन लागिपरेका छन्।
बजार प्रतिस्पर्धालाई सकारात्मक दृष्टिकोणले हेर्ने उनी भन्छन्, 'कुनै पनि व्यवसाय गर्दा त्यसमा नवीनता ल्याउन सके ग्राहकले रूचाउँछन्।'
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी