बजारमा चिसो मौसममा छालाजन्य वस्तुहरूको माग बढ्छ। व्यवसायीहरूका अनुसार जाडो मौसममा छाला (लेदर)को ज्याकेट, बुट (जुत्ता), पन्जा र चेस्ट गार्ड (छातीमा हावा छिर्नबाट रोक्न लगाइने कपडा) धेरैको रोजाइमा पर्छ।
तर बजारमा धेरैले शुद्ध छालाको भन्दै रेन्जिनको कपडा बिक्री गरिरहेको पाइन्छ। यस्तोमा ग्राहकहरूले शुद्ध छालाको उत्पादन खरिद गरिरहेको हो वा होइन भन्नेमा विचार पुर्याउनुपर्छ।
शुद्ध लेदरको उत्पादन रेग्जिनको तुलनामा महँगो भने हुन्छ। त्यसैले धेरैजसो व्यवसायीले रेग्जिनकै कपडालाई छालाको भन्दै बिक्री गरिरहेका हुन्छन्।
छालाको उत्पादन खरिद गर्दै हुनुहुन्छ भने शुद्ध छाला छुट्याउने सजिलो तरिका छ। शुद्ध लेदर बाहिरपट्टि खस्रो र भित्र नरम हुन्छ। यसको गन्ध पनि छालाकै जस्तो आउँछ। तर रेग्जिन ज्याकेट बाहिरपट्टि चिल्लो हुन्छ। भित्र सामान्य कपडा जस्तै हुन्छ। यसको गन्ध पनि बेग्लै हुन्छ।
त्यस्तै शुद्ध लेदरमा आँगो बाल्दा बल्दैन। छालाको गन्ध मात्रै आउँछ। तर रेग्जिनमा आँगो बाल्दा आँगो नै लाग्छ।
यदी छालाजन्य वस्तुको खरिद गर्ने सोच्नुभएको छ भने तपाईको लागि यी ठाउँ उपयुक्त हुन सक्छ।
१. ह्युमनफिट नेपालः
सन् १९८० सालदेखि ह्युमनफिट नेपालले विभिन्न छालाजन्य वस्तुहरूको उत्पादन गर्दैछ। यसका संस्थापक एवम् सञ्चालक वीर मणि बज्राचार्य हुन्। कम्पनीले यतिबेला विभिन्न डिजाइनको ज्याकेट, ब्याग, पेटी, पर्स, कि-चेन र छालाबाट बनाइने जुत्ताबाहेक हरेक प्रकारको सामग्री बनाउँदैछ। ह्युमनफिटका सम्पूर्ण सामग्री नेपालमै उत्पादित हुन्।
हाल कम्पनीको कारखाना क्षेत्रपाटीमा छ भने जमल, पक्नाजोल, झम्सिखेल, पोखरा र धनगढीमा यसको सोरुमहरू छन्। यहाँ १५ हजार रूपैयाँदेखि ज्याकेट उपलब्ध छन् भने आकार र डिजाइनअनुसार दुई हजार रूपैयाँदेखिको पर्स/ब्याग उपलब्ध छन्।
२. राइनो लेदर्स क्राफ्टः
राइनो लेदर्स क्राफ्टले पनि विभिन्न डिजाइन र किसिमको शुद्ध छालाको प्यान्ट, स्कर्ट, सर्ट, झोला, ब्रिफकेस, किरिङ, पर्स, क्याप, पेटी, पन्जादेखि ल्यापटप, मोबाइल, डायरीका खोललगायत बनाउँदैछ। हाल कम्पनीको सम्पूर्ण जिम्मेवारी एलिसा साहले सम्हाल्दै छन्। राइनो लेदर्सका सञ्चालक भने एलिसाका बुवा अमित साह हुन्।
यसको कारखाना मैतीदेवीमा छ। त्यस्तै दरबारमार्ग, पाटन र मैतीदेवी मै गरी तीन ठाउँमा सोरुम छन्। राइनो लेदर्समा भने साढे ७ हजार रूपैयाँदेखिनै लेदर ज्याकेट पाइन्छ।
३. ल्याटिडो लेदर्सः
नेपालमै छालाजन्य वस्तुको उत्पादन गर्ने अर्को कम्पनी हो- ल्याटिडो लेदर्स। र, यसका सञ्चालक हुन् बिलाल अहमद शाह। यहाँ एउटा ज्याकेटको मूल्य कम्तीमा १३ हजार रूपैयाँ पर्छ। कम्पनीले ज्याकेटसँगै अन्य छालाजन्य वस्तुको उत्पादन गर्दै बजार पुर्याइरहेको छ। यसको सोरुम झम्सिखेलमा छ। ग्राहकहरूले सामग्री अनलाइन पनि अर्डर गर्न सक्छन्।
४. डुल्ला सुजः
शुद्ध छालाको जुत्ता खरिद गर्ने सोचमा हुनुहुन्छ भने डुला सुज तपाईंले आफ्नो विकल्पमा राख्न सक्नुहुन्छ। कम्पनीले विभिन्न डिजाइनमा छालाको जुत्ता र बुटहरू उत्पादन गर्दै बजार पुर्याइरहेको छ। जुत्तासँगै कम्पनीले लेदरको पर्स, ब्याग र पेटी पनि उत्पादन गर्दैछ। यहाँ तीन हजार रूपैयाँदेखि जुत्ता खरिद गर्न सकिन्छ। अहमेद डुल्ला ‘डुल्ला सुज’का सञ्चालक हुन्।
यीबाहेक ग्राहकहरूले ‘द ह्वाइट याक’, ‘टुडेज् टेलिग्राम’,‘छाला’, ‘ए-वान लेदर क्राफ्ट’ लगायत कम्पनीहरूमा पनि शुद्ध लेदरको सामग्री पाउन सक्नुहुन्छ। कुनै पनि छालाजन्य वस्तुको मूल्य छालाको प्रकार, आवश्यक मात्रा र डिजाइनमा पर्ने व्यवसायीहरू बताउँछन्।
यो पनिः छालाको ज्याकेट कसरी जतन गर्ने?