वार्षिक रूपमा १२ अर्ब रूपैयाँ बराबरको हस्तकलाका सामग्री विश्व बजारमा निर्यात हुँदै आएको छ। नेपालमा उत्पादित ती सामग्रीहरू विभिन्न मुलुकमा निर्यात हुँदै आएको नेपाल हस्तकला महासंघले जनाएको छ।
महासंघका अनुसार विश्वका ६० भन्दा बढी मुलुकमा वार्षिक १२ अर्ब मूल्य बराबरको हस्तकला निर्यात हुने गरेको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष प्रचण्ड शाक्यले देशको व्यापार घाटा कम गर्दै राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन हस्तकला क्षेत्रले महत्वपूर्ण योगदान गरेको दाबी गरे।
'स्वदेश तथा विदेश गरेर वार्षिक झन्डै २४ अर्ब बराबरको हस्तकला कारोबार हुँदै आएको छ। यस क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आठ लाखलाई रोजगारी प्रदान गर्दै आएको छ,' अध्यक्ष शाक्यले भने।
उनका अनुसार नेपालमा उत्पादित हस्तकलाका सामग्रीलाई स्वदेश तथा विदेशी बजारमा प्रवर्द्धन, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मंसिर २३ देखि २७ गतेसम्म होटल ह्यातमा १९औं हस्तकला व्यापार मेला तथा १७ औं हस्तकला प्रतियोगिता हुनेछ।
नेपाली उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ता बीचमा व्यावसायिक सम्बन्ध, विकास, विदेशी हस्तकला आयातकर्ता र उपभोक्तलाई एकै स्थानमा भेला गराइ हस्तकला वस्तुको बजारीकरणमा सहयोग पुर्याउने उद्देश्य छ। मेलामा एक सय ३० व्यापारिक कक्ष राखिने मेलाका संयोजक दिल्लीरत्न तुलाधरले जानकारी दिए।
उनका अनुसार मेलामा एउटै छातामुनि हस्तकला वस्तुको प्रदर्शनी, उत्कृष्ट व्यापारिक कक्ष प्रतियोगिता, परम्परागत र नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शनी, अमूर्त सांस्कृतिक सम्पदाको उजागर, जेष्ठ तथा वरिष्ठ कलाकारलाई सम्मान, अग्रणी निर्यातकर्तालाई सम्मान गरिनेछ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले नेपालको निर्यात क्षेत्रमा हस्तकला क्षेत्रको ६ प्रतिशत योगदान रहेको बताउँदै आगामी दिनमा यसलाई बढाउन आवश्यक रहेको बताए। उनले सीप भएका कलाकारलाई राज्यले सम्मान गरे मात्र यो क्षेत्रले अझै गति लिने विश्वास व्यक्त गरे।
यसै वर्ष हस्तकला महासंघले स्वर्ण जयन्तीसमेत मनाउन लागेको छ। स्वर्णजयन्तीका अवसरमा महासंघले हस्तकलासम्बन्धी अन्तर्क्रियात्मक कार्यक्रम, रक्तदान, वृक्षरोपण, ज्येष्ठ कलाकारलाई सम्मान लगायत कार्यक्रमको आयोजना गरेको अध्यक्ष शाक्यले बताए।