चौधरी ग्रुपद्वारा प्रवर्द्धन गरिएको १८ मेगावाट क्षमताको मिडिल मोदी जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरू भएको छ।
मोदी खोलामा निर्माण भएको यस आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादन सुरू भएको हो।
मिडिल मोदी जलविद्युत आयोजना निर्माण सम्पन्न भई उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा आवद्ध भइसकेको छ।
१५ दिन परीक्षण उत्पादनपछि नियमित उत्पादन सुरू हुने चौधरी ग्रुपले जनाएको छ।
यस आयोजना चौधरी ग्रुपले लगानी गरेको पहिलो आयोजना हो।
जलविद्युत उत्पादनमा प्रवेश गर्ने ग्रुपको दशक पहिलेको योजना कार्यान्वयनमा सम्बन्धित निकायबाट सहयोग नभएपछि यस क्षेत्रको प्रवेशमा केही ढिलाइ भएको बताइएको छ।
ग्रुपले अगाडि बढाएको आयोजना सम्पन्न भएकोमा ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले खुसी व्यक्त गर्दै नेपालको जलविद्युत उत्पादनमा निजी क्षेत्रले उल्लेख्य योगदान गर्न सक्ने बताए।
'चौधरी ग्रुपले आफ्नो पहिलो जलविद्युत् आयोजनाको निर्माण पूरा गरेको छ। बिजुलीको अत्यधिक खपत हुने सुक्खा याममा आयोजना सकिएर केन्द्रीय प्रसारण लाइनमा जोडिएकोमा हामी खुसी छौं,' चौधरीले भने।
उनले भने 'यसबाट देशको आर्थिक विकासमा सकारात्मक योगदान पुग्नेछ। आर्थिक विकासका लागि पूर्वाधारहरूमा गरिने लगानीले निकै महत्वपूर्ण अर्थ राख्छ।'
चौधरी ग्रुपले अन्य जलविद्युत आयोजनामा पनि काम गरिरहेको जानकारी समेत उनले दिए।
पर्वतको मोदी गाउँपालिका–२ केङ्गामा पावर हाउस निर्माण गरिएको आयोजनाको बाँध कास्कीको अन्नपूर्ण गाउँपालिका–३ वीरेठाँटीमा रहेको छ।
यस आयोजनामा दुई हजार तीन सय ९३ मिटर लामो सुरुङमार्फत् मोदी खोलाको पानी खसालिएको छ।