आरजु राईस मिलले किसान, प्राविधिक, संघीय, प्रदेश र स्थानीय पदाधिकारीको उपस्थितिमा चैते धानको न्यूनतम समर्थन मूल्य प्रति मन ९०० रूपैयाँ तोकेको छ।
धानमा ‘नमी’ को मात्रा २५ प्रतिशत हुनुपर्नेछ।
धान मिलमा ल्याएको दुई दिनभित्रै बैंकिङ प्रणालीबाट किसानको बैंक खातामा रकम जम्मा हुने आरजु राईस मिलका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले जानकारी दिए।
यसबाट किसानहरुको बैंकमा ‘क्रेडिट रेटिङ’ पनि बढ्ने भन्दै उनले किसानलाई खेतीपातीका लागि चाहिने चालुपुँजीको जोहो पनि सजिलो हुने बताए।
नेपाली किसानबाहेक कहिँकतैबाट धान नभित्र्याउने’ उद्घोष गरेका उनले खर्बौको खाद्यान्न आयातलाई अब सबै मिलि निरुत्साहित गर्नुपर्ने बताए।
‘खाद्यान्न आयातका नकारात्मक परिणाम थुप्रै रहेका छन्। विदेशी मुद्रा रित्तिनु, रोजगारमा कमीका साथै किसानका उत्पादनले सम्मानजनक मूल्य नपाउनु पनि हो’, उनले भने।
खेतीपातीको ४२ प्रतिशत धान खेतीले ओगटेको छ। यसमा पनि धेरैजसो वर्षे धान छ। धानको खेती दुई चोटी भएमा किसानले थप आम्दानी र खाद्य सुरक्षामा पनि प्रभावकारी भूमिका हुनेछन्।
‘अहिले धेरैजसो किसानले मोटो चामलको उत्पादन र उपभोक्ताले मसिनो र लङग्रेन चामल खानामा प्रयोग हुँदा बेमेल देखिएको छ। आरजु राईस मिलले किसानहरुलाई उपभोक्ताको रोजाई अनुसार धानबाली लगाउन आग्रह गरेको छ’, बस्नेतले भने।
आरजु राईस मिल गाउँघरमै स्थापित र अबको केही सातामै सञ्चालन आउन लागेको छ। यसले स्थानीयस्तरमा रोजगारी वृद्धि र किसानका धानले उचित मूल्य पाउने निश्चित गरेको छ।