इस्लिङ्टन कलेज, लन्डन मेट्रोपोलिटन विश्वविद्यालय, माइ सेकेन्ड टिचर र आरभिआई ग्रुप बीचमा लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको बिए (अनर्स) बिजनेस प्रशासन कोर्ष अध्ययन गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
शनिबार चार निकायबीच सम्झौता भएपछि विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित इस्लिङ्टन कलेजले नेपालमै पहिलो पटक विदेशको कलेजको व्यवस्थापन जिम्मा लिएको हो।
लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धनमा अनलाइन बिए (अनर्स) बिजनेस प्रशासन तहको कक्षा सञ्चालन गर्ने विषयमा चार निकायबीच सम्झौता भएको हो। जसअनुसार विश्वविद्यालयले तयार गरेको पाठ्यक्रम म्यानम्यार र थाइल्यान्डमा अध्यापन हुने भएको छ। कक्षा फेब्रुअरी सेसनबाट सञ्चालन हुनेछ।
विश्वको चर्चित मानिने आरभिआई ग्रुपले विश्वविद्यालयको पाठ्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सम्पूर्ण सहयोग गर्नेछ। सिंगापुरमा कार्यालय रहेको आरभिआई ग्रुपले विश्वका २० शैक्षिक केन्द्र र ६ वटामा एकेडेमिक्स काम गरिरहेको छ।
आरभिआईका प्रमुख कार्यकारी अधिकृत आर्गस एङ्गले आरभिआई ग्रुपले भियतनाम, इन्डोनेसिया, कम्बोडिया, म्यानमार, थाइल्यान्ड लगायत अन्य मुलुकमा काम गरिरहेको जानकारी दिए।
'निकट भविष्यमा चार निकायको सहकार्यमा थाइल्यान्ड र म्यानमारमा अनलाइन कक्षा सञ्चालन कक्षा सञ्चालन गर्नेछौं,' प्रमुख कार्यकारी अधिकृत एङ्गले भने।
इस्लिङ्टन कलेजले यस साझेदारीमा विद्यार्थीको स्नातकसम्मको यात्रामा सम्पूर्ण प्रक्रियालाई सहजीकरण गरेर यस साझेदारीमा प्रमुख भूमिका खेल्नेछ। जस अन्तर्गत कलेजले विद्यार्थी परामर्शदेखि भर्ना प्रक्रिया र विद्यार्थीको क्षमता अभिवृद्धि गराउने व्यवस्था गर्ने लगायतको मुख्य भूमिका रहनेछ।
इस्लिङ्टन कलेजका संकाय पनि मूल्यांकन विकास प्रक्रिया सिर्जना गर्न साथै लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको दिशानिर्देशअनुसार मार्किङ प्रक्रियाहरू सञ्चालन गर्न जिम्मेवार हुने कलेजका अध्यक्ष शुलभ बुढाथोकीले बताए।
उनले भने, 'हामी विदेशी कलेजमा व्यवस्थापन गरेर नेपालको शिक्षाा क्षेत्रमा मुख्य भूमिका खेल्न सफल भएका छौं। यो हाम्रो मात्र होइन मुलुकमै गर्व गर्ने विषय हो।'
यो साझेदारीमा समावेश गरिएको अर्को अग्रगामी पहल र सायद सबैभन्दा महत्त्वपूर्ण मध्ये एक, अनलाइन शिक्षाका लागि प्लेटफर्मको रूपमा माइ सेकेन्ड टिचरको प्रयोग गर्दैछ। माइ सेकेन्ड टिचरको सहयोगमा सबै पाठ्यक्रम सामग्री विद्यार्थीहरूलाई उपलब्ध गराइनेछ र तिनीहरूको असाइनमेन्टहरू पनि सोही प्लेटफर्ममा वितरण गर्ने माइ सेकेन्ड टिचरका संस्थापक डा. बेन्सन सुङले जानकारी दिए।
अनलाइन कक्षा सञ्चालन गर्न शिक्षकको पदपूर्ति लगायतका सम्पूर्ण काम माइ सेकेन्ड टिचरले गर्नेछ। सम्झौता पत्रमा आरभिआई ग्रुपका आर्गस एङ्ग, माइ सेकेन्ड टिचरका संस्थापक डा. बेन्सन सुङ, इस्लिङ्न कलेज र इनोभेट नेपाल ग्रुपका संस्थापक अध्यक्ष शुलभ बुढाथोकी र लन्डन मेट्रोपोलिटन विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा. वेन्डी ब्लोइसीले हस्ताक्षर गरेका छन्।
यसको आधिकारिक उद्घाटनले दक्षिण एसिया भरिका धेरै विद्यार्थीहरूलाई लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको प्रतिस्पर्धात्मक बिजनेस पाठ्यक्रममा थप पहुँच दिनेछ र साथै इस्लिङ्टन कलेजका उद्योग–अग्रणी संकाय र प्रशासनिक कार्यहरू विश्वव्यापी स्तरमा दोहोरिने माध्यम प्रदान गर्नेछ।
सम्झौतापत्रमा हस्ताक्षरपछि लन्डन मेट्रोपोलिटन विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा. बेन्डीले नेपालमा उत्कृष्ट शिक्षा दिन सफल इस्लिङ्टन कलेजले दुई देशका कलेजको व्यवस्थापन जिम्मा लिनु महत्वपूर्ण विषय भएको बताए।