धनकुटाको जोरपाटीमा तीन करोड रुपैयाँको लागतमा कन्दरा रिसोर्ट सञ्चालनमा आउने भएको छ।
छथर जोरपाटी गाउँपालिका–२ को मध्यपहाडी लोकमार्गस्थित निर्माणाधीन उक्त रिसोर्ट स्थानीय युवा व्यवसायी बलदिव राईले सञ्चालनमा ल्याउन लागेका हुन्।
करिब २७ रोपनी क्षेत्रफलमा गत वर्षदेखि निर्माण थालिएको उक्त रिसोर्ट दुई वर्षभित्र सञ्चालनमा आउने सञ्चालक राईले जानकारी दिए।
सेन्चुरी बैंकको रु दुई करोड, राष्ट्रिय वाणिज्य बैंकको रु ४५ लाख र बाँकी निजी लगानीमा बन्न लागेको उक्त रिसोर्ट प्रदेश नं १ का आन्तरिक पर्यटकलाई लक्षित गरेर सञ्चालनमा ल्याउन लागिएको राईले बताए।
'यहाँ तराईबाट तीनजुरे, जलजले मिल्के क्षेत्र जाने पर्यटकलाई गाँसबास उपलब्ध गराइनेछ', उनले भने।
तीन सय पाहुनालाई सेवा दिन मिल्ने क्षमताको उक्त रिसोर्टमा यही उत्पादन भएका तरकारी, सिस्नु, माछा, लोकल कुखुरासहित अर्गानिक खाना खुवाइनेछ।
वार्षिक रु ५० लाखको कारोबार गर्ने लक्ष्यसहित रिसोर्ट सञ्चालनमा आउन लागेको हो।
समुद्री सतहबाट एक हजार नौ सय मिटरको उचाइमा रहेको यस स्थानबाट यहाँ आउने पर्यटकले यस क्षेत्रका मनोरम पहाडी शृङ्खला र कञ्चनजङ्घा हिमशृङ्खला अवलोकनको आनन्द लिन सक्नेछन्।