धेरैलाई जिज्ञासा हुनसक्छ, नेपालमा लोकप्रिय राइड सेयरिङ कम्पनी पठाओ कुन देशको हो?
कतिपयले यसलाई अमेरिकी भन्छन् त कतिपयले बंगलादेशी पनि। पठाओ नेपालको आधिकारिक वेबसाइटमा पठाओ सन् २०१५ मा बंगलादेशमा स्थापना भएको उल्लेख छ। यसले गर्दा धेरैलाई यो कम्पनी बंगलादेशी हो भन्ने छाप परेको छ।
तर पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातका अनुसार यो कम्पनी अमेरिकी हो।
‘धेरै पहिलेदेखि नै हामीले पठाओ अमेरिकी कम्पनी हो भन्दै आएका छौं। तर सबैले गलत बुझिरहनुभएको छ। हामीले देखेसम्म सच्याउन भनेका छौं। यो अमेरिकी लगानीको कम्पनी हो। यसले बंगलादेशमा पनि लगानी गरेको छ,’ बस्न्यातले सेतोपाटीसँग भने।
उनका अनुसार पठाओ नेपाल प्रत्यक्ष वैदेशिक लगानीमा स्थापना भएको अमेरिकाको जनरल एडमिनिस्ट्रेसन पठाओ इंक कर्पाोरेटेडको स्वामित्वमा सञ्चालनमा छ।
‘मलाई जानकारी भएसम्म उक्त अमेरिकी कम्पनीमा सिंगापुर, हङकङ, इन्डोनेसिया जस्ता विदेशीको लगानी पनि छ। तर समग्र लगानीको विषयमा मलाई जानकारी छैन,’ बस्न्यात भन्छन्, ‘पठाओ नेपाल चाहिँ अमेरिकाबाट स्वीकृति लिएर आएको पुँजी हो। हामी अमेरिकी दूतावाससँग सहकार्य गरेर अघि बढिरहेका छौं।’
पठाओ नेपाल अमेरिकी चेम्बर अफ कमर्स नेपालको फाउन्डिङ बोर्ड सदस्य भएको पनि उनले बताए।
पठाओ नेपालमा सन् २०१८ मा प्रवेश गरेको हो। पठाओकी प्रवक्ता सुरक्षा हमालका अनुसार हाल पठाओ एप ३५ लाखभन्दा धेरै पटक डाउनलोड भएको छ। हाल पठाओमा एक लाख ५० हजार बढी चालकहरू जोडिएका छन्। पठाओ एप दैनिक ५० हजार यात्रुले यात्रा गर्छन्।