खुकुरी रमको उत्पादक कम्पनी द नेपाल डिस्टिलरिजले १२० जनाभन्दा बढी पूर्व गोर्खा सैनिकहरूलाई सम्मान गरेको छ।
पोखरामा बिहीबार साँझ एक समारोह आयोजना गरी नेपाली र वीरताको पर्यायको रूपमा स्थापित सेवानिवृत्त गोर्खा सैनिकहरूलाई सम्मान गरेको हो। कार्यक्रममा भारतीय सेना, ब्रिटिस सेना, सिंगापुर आर्मी लगायतमा काम गरी सेवानिवृत्तहरूको सहभागिता थियो।
कार्यक्रममा कम्पनीले वीरता प्रदर्शन गरी भारतमा विभिन्न पदक पाएका भारतीय सेनाका अवकाशप्राप्त सैनिक विष्णुप्रसाद श्रेष्ठ र क्वीन एलिजावेथ लगायतका प्रतिष्ठित मेडलबाट सम्मानित ब्रिटिस आर्मीको मेजर पदबाट सेवानिवृत्त दिलबहादुर गुरुङलाई विशेष सम्मान गरेको थियो।
कम्पनीको तर्फबाट मानव संसाधन प्रमुख जनकराज रेग्मीले श्रेष्ठ र गुरुङलाई विशेष प्रकारले सुसज्जित खुकुरी उपहार दिई सम्मान गरेका थिए।
यस्तै कार्यक्रममा सहभागी १२० जनाभन्दा बढी पूर्व गोरखा सैनिक र उनीहरूका पत्नीहरूलाई समेत कम्पनीले टोकन अफ लभले सम्मान गरेको थियो।
कार्यक्रममा गोर्खा सैनिकहरूले नेपाल र नेपालीको नाम विश्वमा चम्काएका विषयमा वक्ताहरूले चर्चा गरेका थिए।
कार्यक्रममा कम्पनीले लडाइँको मैदानमा वीरता प्राप्त गर्ने गोर्खा सैनिकका दुई जना बालबच्चालाई आगामी वर्ष उच्च शिक्षासम्मका लागि पूर्ण छात्रवृत्ति समेत घोषणा गरेको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहेको गण्डकी प्रदेशका नेपाली सेनाका प्रमुख मेजर जनरल दिपककुमार बानियाँले खुकुरी रमले थालेको नौलो र महत्वपूर्ण प्रयासका लागि धन्यवाद दिए।
गोर्खा समाज पोखराका अध्यक्ष लक्ष्मीबहादुर गुरुङले पनि आफूहरूलाई सम्झिएर सम्मान गरेकोमा धन्यवाद ज्ञापन गरे।