सरकारी स्वामित्वमा सञ्चालित हेटौंडा सिमेन्टले मूल्य घटाउँदा पनि सिमेन्ट बिक्री नभएको बताएको छ।
उद्योगले निजीको मूल्य कम भएपछि बोरामा ४० रूपैयाँ घटाएको थियो।
मूल्य घटाउँदा उद्योगले गोदाममा मौज्दात रहेका सिमेन्ट बिक्ने अपेक्षा गरेको थियो तर हालसम्म अपेक्षाकृत रूपमा सिमेन्ट बिक्री नभएको हेटौंडा सिमेन्ट लिमिटेडका महाप्रबन्धक बसन्त पाण्डेले बताए।
'हालसम्म ४० देखि ५० बोरा सिमेन्ट बिक्री भएको छ,' उनले भने, 'हामीले एक लाख बोरा सिमेन्ट बिक्री होला भन्ने सोचेका थियौं।'
यो छुट योजना पुस मसान्तसम्म रहेकोले बिक्ने आशा रहेको उनको भनाइ छ। पुस मसान्तपछि भने बजार अध्ययन गरेर मूल्य निर्धारण हुनेछ।
घटाएको मूल्यअनुसार ग्राहकले प्रतिबोरा ७ सय ६ रूपैयाँ ९३ पैसा तिर्नुपर्ने हुन्छ। यो मूल्यमा ग्राहकले पुस मसान्तसम्म सिमेन्ट पाउने छन्।
छुट अघि उद्योगले सिमेन्ट प्रतिबोरा ७४६ रूपैयाँ ९३ पैसाका दरले बिक्री गर्दै आएको थियो।
एक महिना बन्द रहेको उद्योगले बिहीबारबाट फेरि उत्पादन सुरू गरेको लिमिटेडका महाप्रबन्धक बसन्त पाण्डेले जानकारी दिए।
'आवश्यक मर्मतसम्भार सकेर बिहीबारबाट उत्पादन सुरू गरेका छौं,' महाप्रबन्धक पाण्डेले भने।
आगो बाल्ने भट्टीमा प्रयोग हुने प्रि फिल्टर फ्यान, विद्युतीय मोटरलगायत केही उपकरण बिग्रिएकाले मर्मतसम्भारका लागि मंसिरको पहिलो सातादेखि नै उद्योग बन्द गरिएको थियो।
एशियाली विकास बैंक (एडिबी) को सहयोगमा हेटौंडा उपमहानगरपालिका–९ मा ०३२ सालमा स्थापना भएको यस उद्योगले ०४२ देखि उत्पादन सुरू गरेको हो।
उद्योगको हाल दैनिक ७५० टन सिमेन्ट उत्पादन गर्ने क्षमता छ। अहिले निर्माणका काम सुस्ताएकाले उद्योगले क्षमताअनुसार उत्पादन गरेको छैन।
हाल दैनिक २५ सय देखि तीन हजार बोरा सिमेन्ट बिक्री भइरहेको उद्योगले बताएको छ। सो परिमाणको सिमेन्ट घरायसी आवास बनाउन प्रयोग भइरहेका छन्।