'खर्पन' शब्द सुन्दा तपाईंलाई के सम्झना हुन्छ?
काठमाडौं उपत्यकामा कृषि पेसा गर्ने नेवारी समुदायका व्यक्तिले काँधमा बोक्ने खर्पन, होइन त?
ठीक हो। काठमाडौं उपत्यकाका कृषकहरूले कृषि उपज राखेर बेच्न लैजाने र अन्य सामान बोक्ने साधन हो खर्पन। बुढापाकाहरूका अनुसार उहिले साना छोराछोरी बोकी हिँड्न पनि खर्पन प्रयोग हुन्थ्यो रे!
आधुनिक सवारी साधनको उपलब्धतासँगै खर्पन प्रयोग हराउँदै गएको पनि बूढापाकाहरू बताउँछन्। ३३ वर्षीय सञ्जीप बुढाथोकी र ४५ वर्षीय लोकेश अधिकारीले भने अहिले पनि 'खर्पन' समातेका छन्। कृषक संस्कृतिका रूपमा रहेको 'खर्पन' लाई उनीहरू व्यवसायका रूपमा अगाडि बढाउँदै छन्।
उनीहरूले 'खर्पन ट्रेड' मार्फत् तरकारी र फलफूल व्यापार चलाएको करिब साढे दुई वर्ष भयो। ग्राहकको मागअनुसार घरमै डेलिभरी हुन्छ। सञ्जीपका अनुसार खर्पन ट्रेडले बेच्ने तरकारी विषादीरहित हुन्छ। विषादीमुक्त गराउन खास प्रविधि प्रयोग गरेर प्रशोधन हुन्छ। किटाणुहरू नष्ट गरिन्छ।
'तरकारीमा जीवाणु र किटाणु हुँदैन। धेरै दिन ताजा राख्न सकिन्छ,' सञ्जीपले भने, 'यस्तो तरकारी र फलफूल पखाल्नु पर्दैन, सिधै पकाउँदा, खाँदा हुन्छ।
यो विधिलाई 'ओजन वास' भनिन्छ। नेपालमा ओजन वास्ड तरकारी र फलफूल घरघरमा पुर्याउने पहिलो कम्पनी खर्पन ट्रेड नै हुन सक्ने उनको अनुमान छ। हाल बजारमा अन्य कम्पनीले पनि यस्तो प्रविधि अपनाएको उनले बताए।
सञ्जीप र लोकेशको भेट १२ वर्षअघि एक निजी कार्यालयमा भएको थियो। साढे दुई वर्षयता व्यावसायिक साझेदार भएका छन्।
खर्पन ट्रेडको प्रारम्भिक अवधारणा लोकेशको हो।
२०७५ सालतिर लोकेश फोहोर व्यवस्थापनसम्बन्धी एक परियोजनामा काम गर्थे। कामका सिलसिलामा अनेक ठाउँ पुग्थे। एकपटक भक्तपुरको एउटा पुरानो बस्तीमा पुगे। त्यहाँ उनले कृषक र व्यापारीहरूले नजिकैको खोलामा तरकारी पखालेको देखे।
खोलाको पानी हेर्दै प्रदूषित थियो। यस्तो दृश्यले उनलाई उकुसमुकुस भयो। यही तरकारी सोझै बजार पुग्छ भन्ने पनि उनले थाहा पाए।
उनलाई लाग्यो- उपभोक्ताले सफा र सफा तरकारी खान पाउनुपर्छ। यस्तो काममा आफू संलग्न हुन सक्ने सम्भावना खोजे।
'उपभोक्ताले सफा र विषादीरहित तरकारी खान पाउनुपर्छ भन्ने सोचेर सञ्जीपसँग कुरा गरेँ,' लोकेशले भने, 'हामी योजना बनाएर अध्ययनमा जुट्यौं।
धेरै दिन बजार अध्ययन र अनुगमनपछि उनीहरू तरकारी र फलफूल सफा गर्न नेपालमा ओजन वास प्रविधि भित्र्याउने निष्कर्षमा पुगे। कोरोना लकडाउनले अवरोध सिर्जना गर्यो। अवस्था सामान्य हुँदै गएपछि तरकारी सफा गर्ने र विषादीरहित बनाउने अनेक तरिका परीक्षण गरे। केही तरकारी बजार पनि पुर्याए। लकडाउन खुलेपछि ओजन वास गर्ने उपकरण भारतबाट मगाए। अनि सुरू भएको हो खर्पन ट्रेड।
लोकेशका अनुसार उक्त स्वचालित मेसिनले प्रतिघन्टा कम्तीमा पाँच सय किलो तरकारी र फलफूल प्रशोधन अर्थात् सफा गर्छ। पूर्ण रूपमा जीवाणु र कीटाणुरहित बनाउँछ।
उनीहरूले खर्पन ट्रेडको प्रशोधनशाला चलाउन भक्तपुरको दधिकोटमा करिब पाँच रोपनी जमिन दस वर्षका लागि भाडामा लिएका छन्। विभिन्न तरकारीको नर्सरी पनि छ।
'काठमाडौं उपत्यकामा बग्ने खोलाको पानी तरकारी पखाल्न त के, खेतीमा सिँचाइका लागि उपयुक्त छैन,' उनले भने।
आवश्यक पानी उपलब्ध हुने ठाउँमा कारखाना सञ्चालन गर्न चाहन्थे उनीहरू। यस्तो ठाउँ खोज्दै दधिकोट पुगेका हुन्। हाल इनारको पानी प्रयोग गर्छन्।
खर्पन ट्रेडले बेच्ने धेरै जसो तरकारी भक्तपुरकै किसानको उत्पादन हो। अधिकांश सूर्यविनायक नगरपालिका वडा नम्बर १ र ४ का किसानले ल्याउँछन्।
कम्पनीले बजारबाट किनेर पनि ओजन वास गरी ग्राहकसम्म पुर्याउँछ। कम्पनीले कुन तरकारी स्थानीय उत्पादन हो र कुन बजारबाट किनेर प्रशोधन गरिएको भन्ने जानकारी ग्राहकलाई गराउँछ।
सञ्जीप भन्छन्, 'हामी जतिसक्दो स्थानीय उब्जनीलाई प्राथमिकतामा राख्छौं। कतिपय मौसमी तरकारी बजारबाट खरिद गर्छौं। अनि ओजन वास गरेर ग्राहकलाई दिन्छौं।'
फलफूल चाहिँ बजारबाटै खरिद गरेर ओजन वास गरिन्छ।
खर्पन ट्रेडको एप वा वेबसाइटबाट तरकारी र फलफूल अर्डर गर्दा ग्राहकले सबै जानकारी पाउँछन्।
हाल खर्पन ट्रेडमा दैनिक २०० जनासम्मले अर्डर गर्छन्। अर्डर गरेको भोलिपल्टसम्म सामग्री डेलिभरी हुने व्यवस्था छ। ग्राहकले सकारात्मक प्रतिक्रिया पाएको सञ्जीपको भनाइ छ। उनले ४० प्रतिशत ग्राहक नियमित रहेको बताए।
खर्पन ट्रेडसँग हाल करिब २५० कृषक परिवार प्रत्यक्ष आबद्ध छन्। कम्पनीले कृषकहरूलाई तरकारीका बिरूवा पनि उपलब्ध गराउँछ। विज्ञ र प्राविधिकको परामर्शमा खेती प्रविधि पनि सिकाउँछ।
सञ्जीप भन्छन्, 'प्रविधिले किसानलाई माटोको उर्वराशक्ति, मौसम अनुसारको तरकारी खेती र अन्य प्राविधिक कुरा बुझाउँछन्। अहिले कृषकहरूको उत्पादन वृद्धि भएको छ।'
किसानले धेरथोर, जति नै तरकारी ल्याए पनि खर्पनले किन्छ। कतिपय किसान दुई-चार किलो काउली र गोलभेँडा मात्र लिएर आउँछन् र पैसा लिएर जान्छन्। काम थालेपछि स्थानीय कृषकले तरकारी खेती बढाएको र नयाँ कृषक थपिएको पनि सञ्जीपले बताए।
तरकारी प्रशोधन गर्दा निस्केको फोहोरबाट कम्पनीले मल बनाएर आफ्नै खेतीमा प्रयोग गर्छ। बिक्री नभएको वा नबिक्ने खालको तरकारी सुकाएर 'ड्राइ' बनाइन्छ। सञ्जीपका अनुसार बजारमा सुख्खा (ड्राइ) तरकारीको पनि माग छ तर खर्पन ट्रेडले त्यस्तो तरकारी बेच्ने क्षमता बनाइसकेको छैन। त्यस्तो तरकारी बेकरीमा प्रयोग हुने गरेको उनले बताए।
खर्पनले 'रोल्स एन्ड ब्रेड' नामको बेकरी भने चलाएको छ। त्यो सुख्खा तरकारी आफ्नै बेकरीमा प्रयोग हुन्छ।
खर्पनका अर्का साझेदार लोकेशलाई बेकरीको अनुभव छ। उनले विभिन्न क्षेत्रमा काम गरे। स्नातकसम्मको पढाइ पूरा गरेर २०६४ को मध्यतिर बेलायत गएका थिए। कामकै सिलसिलामा कतार पुगे। त्यहाँ उनले बेकरीसम्बन्धी अध्ययन गरे र कामको अनुभव लिए।
'आफ्नो अनुभव र सीप व्यावसायिक कृषकसम्म पुर्याउन चाहन्छौं,' लोकेशले भने, 'यही कामका लागि चितवन र तनहुँका किसानहरूसँग भेटघाट गरिरहेका छौं।'
सञ्जीव भने पूर्णरूपमा खर्पनमै संलग्न छन्। ओखलढुंगाका स्थायी बासिन्दा उनी २०६३ सालमा उच्च शिक्षाका लागि काठमाडौं आएका थिए। पढाइसँगै ग्राफिक्स डिजाइनिङ सिके। यसै क्षेत्रमा जागिर गरे। विभिन्न कार्यालयमा गरी करिब १२ वर्ष काम गरे। अन्त्यमा जागिरभन्दा खर्पन ट्रेडमै बढी सन्तुष्टि मिलेको बताए।
'प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिसँग जोडिएको छु। त्यसमा खुसी छु। परिवारबाट पनि सकारात्मक प्रतिक्रिया पाएको छु,' उनले भने।
उपभोक्ताहरू तरकारी र फलफूलको गुणस्तरमा सचेत हुनुपर्ने लोकेशको भनाइ छ।
'हामीले खाने तरकारी र फलफूल विषादीरहित हुनपर्छ,' उनले भने।