पूर्वको भेडेटार हुँदै धनकुटातिर जानेहरूलाई परिवारका सदस्यले पहिल्यै भनेका हुन सक्छन्, वा फोनमै सम्झाएका पनि हुन सक्छन्— आउँदा नरिवल बिस्कुट ल्याउन नबिर्सिनु है!
त्यसैले पनि होला, धनकुटा पुगेर फर्किने बहुसंख्यक घुमन्तेले झोलामा राख्न नबिर्सिने चिज हो नरिवल बिस्कुट।
धेरैका लागि मनपर्ने कोसेली बनेको धनकुटाको नरिवल बिस्कुट चाखिसकेकाले यसको 'लोकल' अनि 'टिपिकल' स्वाद हम्मेसी भुल्दैनन्।
धनकुटा आउने र जानेहरूको झोलामा नरिवल बिस्कुटले ठाउँ पाउन थालेको आधा शताब्दीभन्दा धेरै भइसक्यो।
सेतो र पातलो कागजले बेरिएको र खोलैभरि रातो रङको मसीले लेखिएको 'धनकुटाको नरिवल बिस्कुट' देख्नेबित्तिकै आफ्नो बाल्यकाल सम्झनेहरू पूर्वमा प्रशस्त भेटिन्छन्।
कुनै बेला बिस्कुटमा सीमित भारतीय उत्पादनको जगजगी थियो। पूर्वका बजारमा दरिलो रूपमा उपस्थित हुने तुलनात्मक रूपमा मिठो र सस्तो नेपाली बिस्कुट थियो नरिवल।
आगोको भट्टीमा पोलिएको नरिवल बिस्कुटको स्वादले धेरैको जिब्रोमा मीठो सम्झना छाडेको छ।
'खै किन हो नरिवल बिस्कुटले अचम्मैसँग मोहनी लगाएको थियो,' ५०–५२ सालताकाको कुरा सम्झँदै झापा, धूलाबारीका उमेश पोखरेलले भने, 'त्यस बेला मकै र धान सिला खोजेर बेच्नुको उद्देश्य नै नरिवल बिस्कुट खानलाई थियो।'
गर्मी छल्न धरानबाट उकालो चढ्ने बहानामा होस् या अरू कुनै काम विशेषले भेडेटारसम्म पुग्नुपर्दा, नरिवल बिस्कुट अनिवार्य लिएर फर्कन्छन् उनी।
'आफूलाई त मनपर्छ नै, घरमा अरूले पनि मनपराउँछन्,' उनले सुनाए।
लामो समयदेखि पूर्वका धेरै बिस्कुट पारखीको मनमै बसेको धनकुटाको नरिवल बिस्कुट उत्पादन हुन थालेको ६८ वर्षभन्दा धेरै भयो। व्यावसायिक रूपमै उत्पादन सुरू भएकै तीन दशक नाघिसक्यो। व्यावसायिक रूपमा उत्पादन हुन थालेपछि नै हो सेतो पातलो कागजले बेरेर 'प्याकेट' मा बेच्न थालिएको। प्याकेटमा पाइन थालेपछि यो पूर्वका कुना–कुनासम्म पुग्यो।
स्थानीय स्वादमा स्थानीय श्रम र सीपकै उपयोगमार्फत यो बिस्कुट उत्पादन थाल्ने व्यक्ति हुन् धनकुटाका विश्वेश्वरमान श्रेष्ठ। धनकुटाको नरिवल बिस्कुट भन्नेबित्तिकै जोडिने एक मात्र नाम उनकै हो। यो बिस्कुटको कथा श्रेष्ठको जिज्ञासा र उत्साहबाट सुरू भएको थियो।
त्यस बेला पहाडमा बजारको संख्या थोरै थियो। बजार कम भएपछि चिया पसलहरू धेरै हुने कुरै भएन। चोकमा जम्मा हुने, चिया पिउने अनि गफगाफमा रमाउने अभ्यास सबैतिर फिँजिइसकेको थिएन।
२०११ सालको कुरा हो, धनकुटा देव्रेबासका विश्वेश्वर भारत र तराईका केही ठाउँ घुमेर भर्खरै फर्किएका थिए। उनलाई लाग्यो, त्यता जस्तै यहाँ पनि चिया पसल खोल्न पाए!
त्यस बेला भारतबाट विराटनगर धरान हुँदै भारतीय बिस्कुट धनकुटासम्म आइपुग्थे। लामो बाटो हुँदै आइपुग्ने बिस्कुट स्वाभाविक रूपमा महँँगो पर्थ्यो।
नभन्दै उनले चिया पसल सुरू गरे। जसै पसल थाले, मान्छे जम्मा हुने, गफ गर्ने र चिया पिउनेहरू बढ्दै गए। चिया पिउँदै गफिने क्रममा धेरै नयाँ आइडिया फुर्न थाले। त्यही सामूहिक छलफलपछि नै विकास भएको थियो यो बिस्कुट उत्पादनको उपाय।
विश्वेश्वरमानलाई लाग्यो 'यहीँ बिस्कुट बनाए के होला?'
चिया पउन आउनेहरू हौस्याउँथे, 'हो त यहीँ बनाऊ न बिस्कुट।'
बनाउने कसरी?
सबै बेखबर थिए। विश्वेश्वरमान र उनकोमा चिया पिउन भेला हुनेहरूलाई यसबारे केही जानकारी थिएन।
कसरी बनाउने, के–के हाल्ने?
'त्यसपछि बुबाले भारततिर गएर फेरि बुझ्नुभएछ। बिस्कुट बनाउन चाहिने कच्चा पदार्थ, बनाउने विधि सिकेर आएपछि बनाउन सुरू गर्नुभएछ,' विश्वेश्वरमानका छोरा मोहनले भने, 'सुरूमा बनाउँदा धेरै बिग्रिएको थियो अरे। तर बनाउँदै, भुंग्रोमा पोल्दै कुकुरलाई दिँदै गर्नुभएछ। त्यसक्रममा राम्रो बनेको चाहिँ आफूले चाख्नुहुन्थ्यो रे।'
तिनै विश्वेश्वरमानले माइला छोरा मोहनको नाममा २०३० सालमा स्थापना गरेका हुन् 'मोहन बिस्कुट उद्योग'। यो धनकुटाकै सबभन्दा पुरानो र ठूलो उद्योग पनि हो। अहिले बजारमा उपलब्ध नरिवल बिस्कुटको बहुसंख्यक हिस्सा यही उद्योगको उत्पादनले धानेको छ।
'त्यसरी बनाउँदै चाख्दै गएपछि आकार पनि राम्रो र स्वाद पनि मिठो हुँदै गएछ,' ५४ वर्षीय मोहनले सुनाए, 'हाम्रो चिया पसलमा आउनेहरूले मन पराउँदै गएछन्। सुरूमा त मैदामा सख्खर र केही केमिकल प्रयोग गरेर हातैले बेल्ने अनि आगोको भुंग्रोमा सेक्ने गर्नुभएको थियो रे बुबाले। त्यसैलाई पछि उद्योगको रूप लिएको हो।'
भारतीय बजारहरू पुगेर बिस्कुट बनाउने तरिका सिकेर आएका विश्वेश्वरमान प्रयोगवादी पनि रहेछन् भन्ने उनले बिस्कुटमा प्रयोग गरेको नरिवलबाट पनि देखिन्छ।
'हाम्रो बुबा प्रयोग गर्न रमाउनुहुन्थ्यो,' मोहनले भने, 'यहाँ बनाइएको बिस्कुट र भारतीय बजारबाट आउने बिस्कुटको स्वादमा धेरै फरक नभएपछि उहाँ फरक बनाउने ध्यानमा हुनुहुन्थ्यो। त्यही क्रममा कहिले के, कहिले के मिसाउँदै बिस्कुट बनाउनुभएछ।'
अरू चिज मिसाउँदाभन्दा नरिवल मिसाएर बनाएको बिस्कुट स्वादिलो भएछ। त्यसपछि त बिस्कुटको नाम नै नरिवल बिस्कुट भयो।
'अहिलेसम्म पनि हामीलाई बजार अभाव छ भन्ने वा उत्पादन गरेको बिकेन भन्ने चिन्ता छैन,' मोहनले भने।
हुन त अहिले धनुकटामा अरू पनि बिस्कुट उद्योग खुलेका छन्। धनकुटाभरि यति बेला यस्ता बिस्कुट उत्पादन गर्ने उद्योग संख्या २० वटाको हाराहारीमा छ। उद्योगीहरूका अनुसार पछिल्लो समय उद्योग खोल्नेहरूले न्यूनतम ५ लाखदेखि अधिकतम ५० लाखसम्म लगानी गरेका छन्।
'मेरै लगानी ५० लाख नाघिसकेको छ,' श्रेष्ठले भने, 'मेसिनहरू राख्दा लगानी बढ्ने हुन्छ।'
मूलतः घरेलु प्रविधिबाटै तयार हुने नरिवल बिस्कुटको पिठो मुछ्न अचेल मेसिन किन्ने गर्ने क्रम बढेको छ। तर केही ठूलाबाहेक अधिकांश उद्योगमा पिठो मुछ्ने काम पनि मानवीय जनशक्तिबाटै हुने गरेको छ।
ओम बिस्कुट उद्योगका सञ्चालक ओम कटुवालका अनुसार नरिवल बिस्कुट नै उत्पादन गर्नेहरू पनि धेरै छन्। उनकै उद्योगबाट पनि अहिले दैनिक ६ सय पुरिया बिस्कुट उत्पादन हुने गरेको छ। धनकुटाका विस्कुट उद्योगमा पछिल्लो समय लगानी थपिने क्रम बढेको उद्योगीहरू बताउँछन्। उनीहरूका अनुसार बजार ठूलो र देशव्यापी हुन सकेको छैन।
'बजार सानै भए पनि निश्चिच जस्तै छ,' मोहनले भने, 'उत्पादन गर्न भ्याइनभ्याइ नै छ सबैलाई।'
सबैभन्दा ठूलो र पुरानो मोहन बिस्कुट उद्योगबाट त झन् धेरै उत्पादन हुने गरेको छ।
मोहनका अनुसार उनको उद्योगबाट दैनिक ३ देखि ४ बोरा बिस्कुट उत्पादन भएर बजार पुग्छ। मुख्य बजार धनकुटा नै हो। तर यहाँ मात्रै सीमित होइन। जिल्लामा जति खपत हुन्छ, त्यत्ति नै कोसेलीका रूपमा बाहिर पुगिरहेको हुन्छ।
मोहन बिस्कुट उद्योगमा आफूले तीन वटा मेसिन राखेको उनले बताउँछन्।
'एउटै मेसिनलाई ८ देखि १० लाखसम्म पर्छ,' उनले भने, 'अहिले धेरैले मेसिन राख्न थालेका छन्।'
आफ्नो उद्योगले वार्षिक एक करोडभन्दा माथिको कारोबार गर्ने बताउने श्रेष्ठले २० जनाभन्दा बढीलाई पूर्णकालीन रोजगारी उपलब्ध भएको सुनाए। उनका अनुसार धनकुटाको नरिवल बिस्कुटले अन्तर्राष्ट्रिय बजारमा पनि उपस्थिति दर्शाएको छ।
'विदेशमा रहेका नेपालीले नरिवल अलि धेरै राखेर बिस्कुट बनाइदिनु भनेर अर्डर नै पठाउँछन्,' उनले भने, 'मेरै उद्योगबाट त्यसरी बेलायत, हङकङ लगायतका देशमा बिस्कुट जाने गरेको छ।'
बाल्यकालमा धनकुटाको नरिवल बिस्कुट खाँदै हुर्केकाहरू यति बेला संसारभर छरिएका छन्। यो बिस्कुटको स्वादसँग परिचितले अरू थुप्रैलाई पनि चखाए। त्यसले यो बिस्कुटको बजार र उपभोक्ताको दायरा फराकिलो पार्दै लग्यो। तिनै स्वादका पारखीहरूले नै विदेशमा पनि मगाउने मोहन बताउँछन्।
'सानैदेखि जिब्रो हुँदै मनसम्मै बसेको हाम्रो बिस्कुटको स्वाद कसैले बिर्सेका छैनन् भन्ने देखिन्छ,' उनले भने, 'त्यही भएर विदेशमा रहेकाहरूले बिस्कुट मगाउने गरेका हुन्। सानो हुँदाको स्वाद बिर्सन सकिएन दाइ भन्दै फोन गर्छन्।'
मोहनलाई आफ्ना सन्तान पनि यो काममा लागरे उद्योग चलाइदिए हुन्थ्यो भन्ने लाग्छ। उनका दुई सन्तानमध्ये छोरी डाक्टर बनिसकेकी छन्, छोरा इञ्जिनियरिङ पढ्दैछन्।
२०५०–५२ सालताका मोहन एउटा गरसरकारी संस्थामा जागिरे थिए। त्यो आकर्षक जागिर छाडेर घर फर्के। उद्योग आफैं चलाउन कस्सिए।
'डाक्टर र इञ्जिनियर भएकाले म जसरी नै खटेर उनीहरूले उद्योग चलाउन त सम्भव नहोला,' उनी भन्छन्, 'तर संरक्षकत्व दिएर भए पनि जोगाइदिनु भनेको छु। हजुरबुबाको नासो हो भनेर उनीहरू पनि विश्वस्त छन्।'
अहिले प्रविधिले फड्को मारिसकेको बेलामा पनि धनुकटाको नरिवल बिस्कुट पूरापूर घरेलु विधिबाट उत्पादन हुन्छ। उत्पादकहरूका अनुसार यो बिस्कुटले यति लामो यात्रा तय गर्नुको एउटा मुख्य कारण यो प्रविधि पनि हो।
'हाम्रो बिस्कुटको मुख्य स्वाद नै आगोको भट्टीमा पोलेपछि आउने हो,' ओम कटुवालले भने 'यसलाई मेसिनमा हालियो भने त्यो टिपिकल स्वाद त गइहाल्छ नि।'
कटुवालका अनुसार यो बिस्कुट उत्पादनको मुख्य विधि अनुसार काँचो इँटा, माटो र चिमबाट निर्मित भट्टीमा पोलेर बिस्कुट तयार पारिन्छ।
बिस्कुटका लागि सबैभन्दा पहिला चिनी, नरिवल, घिऊ, वनस्पति तेल, केमिकल र मैदा मोलेर हातले मुछिन्छ। त्यसरी मुछिएको पिठो बेलेर फराकिलो पारेपछि स्टिलको गिलासको मुखले काटिन्छ। त्यसैले यसको आकार स्टिलको गिलासको मुख जत्रो मात्रै हुन्छ। त्यसपछि माटोको भट्टीभित्र दाउरा बालिन्छ। सो दाउरा बलेर बनेको कोइलामा बिस्कुट तताइन्छ अनि पाक्छ।
घरेलु प्रविधिबाट नै बिस्कुट उत्पादन हुने भएकाले उद्योगहरूमा श्रम गर्न जनशक्ति परिचालन गरिन्छ। धनुकटाका प्रत्येकजसो बिस्कुट उद्योगमा आठदेखि २० जनासम्मले रोजगारी पाउने गरेका छन्।
'बिस्कुट उत्पादनमा मेसिन प्रयोग गरिँदैन', उनले भने, 'मैदा मुछ्नेदेखि भट्टीमा बिस्कुट पोल्ने र प्याकेजिङसम्मको सबै काम हातबाटै हुन्छ।'
अचेल भने यो बिस्कुटको गुणस्तर खस्किँदै गएको गुनासो पनि आउन थालेको छ।
गुनासो गर्नेमध्येकी एक हुन् विराटनगरकी निलम ढुंगेल गेलाल।
'म मात्रै होइन मेरो परिवार नै यो बिस्कुटका प्रेमी हौं,' उनले भनिन् 'तर अचेले धेरैपटक किनेर ल्याएको बिस्कुटमा नरिवल नहुने, स्वाद नै नहुने समस्या देखिएको छ।'
धनुकटा बिस्कुटले बजारमा राम्रो प्रभाव जमाइरहँदा यसको 'डुप्लिकेसन' पनि हुने गरेको छ।
'हाम्रो नक्कल गरेर जथाभावी गर्नेहरू पनि छन्,' मोहन भन्छन् 'त्यसैले यस्तो समस्या आउने गरेको छ।'