अधियाँ खेतबारी लिने र बाली लगाउने गरेको त हामीलाई सबैजसोलाई अवश्य थाहा छ।
अधियाँका बाख्रा पाल्ने चलन नि?
कतिले सुन्नुभएको होला! थाहा नभएको भए, अधियाँमा दुई वटा पाठा पालेर व्यवसायी नै बनेकी कमला परियारको कथा सुनौं है।
३४ वर्षीया कमला दाङको राजपुर गाउँपालिका–४ दुलैयाकी हुन्।
उनीसँग सम्पत्ति थिएन। कमाइ गर्न कुनै खास सीप पनि भएन। व्यवहार जसरी पनि चलाउनै पर्थ्यो। भौंतारिएर केही पनि हुँदैन, संघर्ष गर्दै अघि बढ्नुपर्छ भन्ने सोचिन्। केही न केही गरेर आम्दानी गर्छु भन्ने आँट गरिन्।
उनको पुर्ख्यौली पेसा कपडा सिलाउनु थियो। उनले पनि यही काम अघि बढाउने निधो गरिन्। एउटा गैरसरकारी संस्थाको सहयोगमा केही दिन सिलाइ तालिम लिइन्। अनि कपडा सिलाउने काम थालिन्।
आम्दानी नभएको होइन, सोचेअनुसार चाहिँ भएन। गाउँघरमा कपडा सिलाएर राम्रो आर्थिक लाभ हुने रहेनछ भन्ने थाहा पाइन्। अर्को कुनै काम गर्ने सोच बनाइन्। यही मेसोमा बाख्रा पाल्ने निष्कर्षमा पुगिन्।
'पाल्न त पाल्ने तर आफूसँग एउटा पनि बाख्रो थिएन,' उनले भनिन्।
जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तो भयो। गाउँकै एक जना साहुसँग आग्रह गरेर दुई वटा पाठापाठी ल्याइन्।
उनले झन्डै दुई वर्षअघि बाख्राका ती दुई वटा पाठा अधियाँमा ल्याएकी थिइन्। अधियाँ भनेको साहुसँग आम्दानी बराबर भाग लगाउनु भइहाल्यो।
'तिनलाई हुर्काउँछु, सन्तान दिन्छन्। आफ्नो भागमा परेकाबाट ब्राखा बढाउँछु भन्ने अठोट गरेँ,' उनले भनिन्।
खासमा यसरी बख्रा पाल्न थाल्नुमा कुनै व्यावसायिक सोच थिएन। सिलाइसँगै थप आम्दानीको स्रोत हुन्छ भन्नेसम्म थियो।
फेरि कमलालाई तँ आँट, म पुर्याउँछु भनेजस्तो भयो। एक दिन 'मानव कल्याण तथा संरक्षण केन्द्र' नामको गैरसरकारी संस्थाका मानिस कमलाको घरमै आए। उनी संस्थाको छनोटमा परिन्।
संस्थाले सिड अर्थात बिउ कार्यक्रमअन्तर्गत कमलालाई बाख्रा पालनका लागि अनुदानमा ५० हजार रूपैयाँ दिने भयो। यो आफैंमा ठूलो रकम नभए पनि कमलाका लागि चानचुने थिएन। यो आर्थिक सहयोग राम्रो अवसर भएर आइदियो।
उनले एकै पटक एउटा बोयरसहित छ वटा बाख्रा किनिन्। बाख्रापालनमै ध्यान केन्द्रित गरिन्। बाख्रा हुर्किँदै गए। लक्षण राम्रो देखियो। बाख्राले सन्तान जन्माउन थाले। कमलाको खुसी पनि बढ्न थाल्यो।
दुई वर्षमै ३० वटा खसीबाख्रा भए। अधियाँका दुइटा पाठाबाट सुरू गरेको बाख्रापालन आज उनको व्यवसाय भएको छ।
'गएको दसैंमा ६ वटा खसी बेचेँ,' एनले खुसी हुँदै भनिन्, 'साढे एक लाख रूपैयाँ आयो।'
राजपुर वनजंगल भएको क्षेत्र हो। कमलाको घरबाट दस मिनेट हिँड्दा बाख्रालाई खुवाउने घाँस भएको वनक्षेत्र पुगिन्छ। फुर्सद मिलाएर उनी बाख्रा चराउन लैजान्छिन्। हाल खोरमा ७ वटा खसी, १४ माउ र पाठापाठी गरी ३० वटा बाख्रा छन्। खसी बेच्नका निम्ति तयार छन्। यी बेच्दा कम्तीमा साढे एक लाख रूपैयाँ आउनेमा उनी ढुक्क छिन्।
सम्पत्तिको नाममा घरबास रहेको एक कट्ठा ऐलानी जमिनबाहेक उनको केही थिएन। कमलाका ६५ वर्षीय बुबा दलबहादुर र ६२ वर्षीया आमा अमृता कडा श्रमको काम गर्न नसक्ने अवस्थामा छन्। कमलाका दुई दाजुहरू परिवारसहित भारतमा बस्छन्।
कमला भन्छिन्, 'आठ वर्ष भयो दाजुहरू जानुभएको, सम्पर्क छैन। आमाबुबा सम्झेर एक दिन त आउनुहोला भन्ने आशा छ।'
कमलाकै परिश्रमले अहिले घर धानिएको छ। उनका आमाबुबा उनको मेहनत देखेर खुसी छन्।
'छोराछोरी छुट्याएर छोरीलाई अलग व्यवहार (विभेद) गर्नु गलत रहेछ,' कमलाकी आमा अमृताले भनिन्, 'छोराहरू कता छन्, अत्तोपत्तो छैन। यही छोरी हाम्रो सहारा भएकी छे।'
कमलाले आफैं गरेर खाने र आमाबुवाको हेरविचार गर्ने सोचेकी छन्।
'मलाई अब बाआमालाई छोडेर कतै जान्छु जस्तो लाग्दैन। तर हेरौं, भविष्यमा के हुन्छ,' उनले भनिन्।
बिहे नगरेको भन्दै गाउँले र आफन्तको अनेक घोचपेच भने उनले सहनुपरेको छ। तर सबै पीडा एक छेउमा थन्क्याएर व्यावसायी बन्ने संघर्षमा छिन्।
'अर्काको थोरै प्रगतिमा पनि डाहा गर्ने धेरै हुँदा रहेछन्। कतिपय आफन्तले नराम्रो बोलेका थिए,' उनले भनिन्, 'तर दुःख पर्यो भन्दैमा रोएर बस्नु नहुने रहेछ। बरू संघर्ष र मेहनत गर्नुपर्ने रहेछ। कुनै दिन काँडाजस्तो बचन लाउनेहरूको बोली र व्यवहारमा आजकाल सम्मान पाउन थालेकी छु।'
छोटो समयमै कमला बाख्रापालनबाट राम्रो आम्दानी गर्न सकिने रहेछ भन्नेमा पक्का भएकी छन्। व्यवस्थित खोर बनाउँदै बाख्राको संख्या बढाउने योजना उनको छ।
उनका अनुसार गाउँघरमा बाख्रापालन सजिलो छ तर कुनै दिन रोगका कारणले ठूलो क्षति हुन्छ कि भन्ने पिर पनि लाग्छ। कमलाले बाख्राको बीमा हुने कुरा सुनेकी छन्। बीमा गर्न सके सम्भावित क्षतिबाट जोगिन सकिने थियो भन्ने उनलाई लागेको छ। यसबारे जानकारी लिने तयारी पनि गरिरहेकी छन्।