साझा प्रकाशनले बिक्रीका लागि पुस्तक प्रदर्शनी आयोजना गरेको छ। प्रर्दशनी यही पुस १७ गते सुरू भएको हो।
प्रदर्शनीमा साझा प्रकाशनका धेरै पुरानादेखि सबैभन्दा नयाँसम्मका पुस्तकहरू उपलब्ध छन्।
सबैभन्दा नयाँ पुस्तक राष्ट्रकवि माधव घिमिरेको ‘ऋतंभरा’ महाकाव्य छ।
प्राध्यापक नीलमणि ढुंगानाले तयार पारेको ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’ पनि उपलब्ध छ।
पुरानामा योगेन्द्र तिम्सिनाको कथा संग्रह ‘बैँसको निर्वासित सहर’, लीलबहादुर क्षेत्रीको उपन्यास ‘ब्रह्मपुत्रका छेउछाउ’ लगायतका पुस्तकहरू छन्।
‘बैँसको निर्वासित सहर’ को अंकित मूल्य तीन रूपैयाँ छ।
प्रदर्शनीमा इन्द्रबहादुर राईद्वारा लिखित ‘नेपाली उपन्यासका आधारहरू’ पनि उपलब्ध छ। यो पुस्तक सन् १९७६ मा ‘भारतीय साहित्य एकेडमी पुरस्कार’ द्वारा पुरस्कृत भएको थियो। यो पुस्तक भारतमा उक्त पुरस्कार पाउने नेपाली भाषाको पहिलो किताब हो।
प्रदर्शनी काठमाडौं उपत्यका र उपत्यकाबाहिर विभिन्न ठाउँमा आयोजना गरिएको छ।
उपत्यकामा पुल्चोकस्थित मुख्य कार्यालय र प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसमा भइरहेको छ।
उपत्यकाबाहिर विर्तामोड, विराटनगर, धरान, राजविराज, जनकपुरधाम, भरतपुर, बुटवल, पोखरा, त्रिशूलीको बट्टार, पोखरा र धनगढीमा प्रदर्शनी भइरहेको छ।
साझा प्रकाशनले गत भदौमा पनि काठमाडौं उपत्यका र उपत्यकाबाहिर प्रदर्शनी आयोजना गरेको थियो।
उक्त अवसरमा ३० लाख रूपैयाँको व्यापार भएको साझा प्रकाशनका सूचना अधिकारी भेषराज घिमिरेले बताए।
उनका अनुसार यसअघि गत वैशाखमा भएको प्रदर्शनीमा ४५ लाख रूपैयाँको बिक्री भएको थियो। यस पटक पनि यसै हाराहारी बिक्री हुने अपेक्षा गरेको उनले बताए।
प्रदर्शनीमा आएका शरद प्रधानले धेरै विधाका निकै महत्वपूर्ण पुस्तकहरू फेला पारेको बताए। उनका अनुसार गैरआख्यान पुस्तक पढ्ने पाठकका लागि यो प्रर्दशन निकै उपयोगी हुने छ। धेरै पुराना र बाहिर कतै नपाइने पुस्तकहरू पनि आफूले धेरै फेला पारेको उनले बताए।
साझा प्रकाशनले पहिलो पटक २०२९ सालमा प्रदर्शनी आयोजना गरेको थियो।
यसपालिको प्रदर्शनी पुस ३० गतेसम्म चल्ने छ।